१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ १ आइतबार १४:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भेरी करिडोर अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

Read Time : > 1 मिनेट
२०७९ माघ १ आइतबार १४:२१:००

कर्णालीवासीको भविष्यसँग जोडिएको रणनीतिक सडक भेरी करिडोरको विस्तृत अध्ययनका लागि सडक डिभिजन कार्यालय चौरजहारीको टोली उपल्लो डोल्पा पुगेको छ । उक्त टोलीले यस सडकखण्डअन्तर्गत पर्ने जाजरकोट, दुनै, मरिम तिन्जे धो, लासीक्याप सडकखण्डमा निर्माणाधीन सडकको गुणस्तर तथा बाँकी सडकको अध्ययन गरेको छ ।

निर्माणाधीन सडकमा हुन सक्ने कमीकमजोरी तथा गुनासो सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा उपल्लो डोल्पा पुगेको हो ।

कुल एक सय १८ किलोमिटर जाजरकोटबाट दुनैसम्म सडक भेरी करिडोरभित्र पर्छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक रहेको छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्रयाक खुलाउने काम भइसकेको छ ।

दुनै–ल्यासिक्याप २० किलोमिटर सडकको  सडक डिभिजन चौरजहारीमार्फत निर्माण कार्य भइरहेको छ । सडक डिभिजनको टोलीले एक सय ४८ किलोमिटर सडकको अध्ययन गरेकोे प्रमुख कर्णले जानकारी दिए ।

दुनै लासीक्याप  सडकखण्डमा कामको सम्झौता गरे पनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको हो । अहिले जाजरकोटको भेरी नगरपालिका– ४ पासागाडबाट नलगाड नगरपालिका– १२ को तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का भएर यति बिल्डर्सले काम गरिरहेको छ ।

भेरी करिडोर त्रिदेशीय सडकसमेत हो । यसले कर्णाली प्रदेश हुँदै लुम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाका जोड्छ । यो करिडोर निर्माण सम्पन्न भएपछि भारतको रुपैडियाबाट चीनको तिब्बतसँग सीधा सम्पर्क हुनेछ ।

२५ पुल निर्माण गर्न बाँकी
भेरी करिडोर पूर्ण रूपमा निर्माण गर्नका लागि राज्यले अझै करोडौँ लगानी गर्नुपर्ने डिभिजन प्रमुख आशुतोष कर्णको भनाइ छ । जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धोसम्म मात्र २५ नयाँ पुल निर्माण गर्नुपर्ने उनले बताए । अहिलेसम्म सडकको मात्र लागत आएको, तर पुलको लागत नआएका कारण खर्च धेरै बढ्न सक्ने उनले प्रस्ट्याए ।

जाजरकोट सदरमुकाम, दुनै लासीक्याम सिस्यौल र धोसम्मको सडकको विस्तृत योजनासमेत बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । जाजरकोट रिम्ना र नलगाड नगरपालिका– १२ तल्लुसम्म कालोपत्रेको ठेक्का भइसकेको छ । तल्लुबाट दुनैसम्म पिच गर्नका लागि पत्र आएको र अर्थको सहमति आउनेबित्तिकै ठेक्का लाग्ने उनको भनाइ छ ।