Skip This
बाह्य क्षेत्रमा उल्लेख्य सुधार, मासिक रेमिट्यान्स हालसम्मकै उच्च
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o८:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाह्य क्षेत्रमा उल्लेख्य सुधार, मासिक रेमिट्यान्स हालसम्मकै उच्च

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२६:oo

गत आव ०७८/७९ को सुरुदेखि नै निकै दबाबमा रहेको अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । विशेषतः गत साउन–भदौदेखि सुधार आउन थालेको बाह्य क्षेत्रमा मंसिर मसान्तसम्म आउँदा उल्लेख्य सुधार भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनमा उल्लेख छ । 

उच्च मात्रामा आयात बढ्ने, शोधनान्तर घाटा हुने, विदेशी मुद्रा सञ्चिति घट्नेलगायतका कारण गत आवदेखि नै अर्थतन्त्र तथा बाह्य क्षेत्र दबाबमा थियो । तर, चालू आवको मंसिरसम्ममा विप्रेषण (रेमिट्यान्स) २३ प्रतिशतले बढेको छ । आयात २० प्रतिशत र व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । गत भदौसम्म २३ अर्ब ६८ करोडले घाटामा रहेको शोधनान्तर स्थिति मंसिर मसान्तसम्म आउँदा ४५ अर्ब ८७ करोडले नाफामा गएको छ ।  

गत भदौसम्म घटेर नौ अर्ब ३५ करोड डलरमा पुगेको विदेशी मुद्रा सञ्चिति मंसिर मसान्तसम्म अउँदा नौ अर्ब ८२ करोड डलर (१२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ) पुगेको छ, यसले १० महिनाको आयात धान्ने राष्ट्र बैंकको अनुमान छ । यसैगरी, विदेशी पर्यटकमार्फत हुने आम्दानी १३२.९ प्रतिशतले वृद्धि भई २३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

यसरी विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति, भ्रमणलगायतका आधारमा बाह्य क्षेत्र सहज अवस्थामा पुगेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए । राष्ट्र बैंकले आयात नियन्त्रण गर्ने र विदेशी मुद्रा आर्जनलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि बाह्य क्षेत्र सहज ल्याउन सकिएको उनको भनाइ छ । 

यद्यपि, बाह्य क्षेत्रमा जोखिम पनि उत्तिकै रहेको उनले बताए । नेपालको विदेशी मुद्रा आर्जन गर्ने स्रोत बलियो नभएको र निजी सवारीसाधनलगायतका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध १ पुसबाट खुलाइएको छ । ‘आयात खुला गरिए पनि आन्तरिक माग नभएर व्यवसायीहरूले खासै एलसी खोल्नमा चासो देखाएका छैनन् । तर, अब आयात बढ्ने सम्भावना भने छ,’ श्रेष्ठले भने, ‘त्यो अवस्थामा हामी संयमित भएर अगाडि बढ्नुपर्छ । किनकि, हाम्रो विदेशी मुद्रा आर्जन गर्ने स्रोत बलियो छैन ।’ 

मासिक रेमिट्यान्स हालसम्मकै उच्च 
मंसिर महिनामा मात्रै एक खर्ब दुई अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन मासिक रूपमा हालसम्मकै उच्च हो । यसअघि असार ०७७ मा एक खर्ब १६ करोड रुपैयाँ विप्रेषण आएको थियोे । अहिले भने रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको हो । मंसिर मसान्तसम्म भने कुल चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपछि रेमिट्यान्स आप्रवाह बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

चालू आवको पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २ दशमलव २ प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव ६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर नौ दशमलव ५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव १ प्रतिशत रहेको जनाइएको छ ।