
सबनम राईले उत्कृष्ट बलिङ गरेपछि इटहरीमा शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले मधेस प्रदेशमाथि नौ विकेटको जित निकालेको छ । सबनमले चार ओभरमा तीन मेडनसहित एक रन मात्रै दिएर सर्वाधिक चार विकेट लिएकी थिइन् । इटहरी जनता क्रिकेट पार्कमा उद्घाटन खेलमा सानदार जित निकाली प्रदेश १ ले समूह ‘बी’मा दुई अंक जोडेको छ ।
पहिलो ब्याटिङ गरेको मधेस प्रदेशले १९.२ ओभरमा सबै विकेट गुमाएर ४९ रनको झिनो योगफल खडा ग¥यो । प्रत्युत्तरमा प्रदेश १ ले ११.४ ओभरमा एक विकेट गुमाएर ५० रन जोड्यो । प्रदेश १ को ओपनिङ उत्कृष्ट रह्यो । काजल श्रेष्ठ र रुबिना क्षेत्रीले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । काजलले ४२ बलमा चार चौकाको सहयोगमा २४ रन बनाइन् । कप्तान रुबिनाले २७ बलमा दुई चौकाको सहयोगमा २० रनको योगदान गरिन् ।
तल्लो क्रममा ब्याटिङ गर्न आएकी सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाएकी थिइन् । ओपनर सीमा कुँवर, साना प्रवीण, एलिसा यादव र प्रतिमा शाह शून्यमा पेभिलियन फर्किएका थिए । इनिङ्सको एक समयमा मधेस प्रदेशले ४.१ ओभरमा पाँच विकेट गुमाएर पाँच रन मात्रै जोडेको थियो ।
यसैगरी, कविता कुँवरले अर्धशतक बनाएपछि सुदूरपश्चिमले बागमतीलाई ३३ रनले हरायो । जितसँगै समूह ‘ए’को सुदूरपश्चिमले दुई अंक जोडेको छ । सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा सात विकेट गुमाउँदा मात्र ९४ रन बनाउन सक्यो । बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १६ रन बनाइन् ।