Skip This
फिक्सिङ प्रकरण : क्रिकेट कप्तानदेखि पूर्वमुख्य प्रशिक्षकसँग राखेपले लियो बयान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडौं
२o७९ पौष २९ शुक्रबार o८:१o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिक्सिङ प्रकरण : क्रिकेट कप्तानदेखि पूर्वमुख्य प्रशिक्षकसँग राखेपले लियो बयान

राखेप छानबिन कार्यदलले बिहीबार कप्तान रोहितकुमार पौडेल, पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लसहित शरद भेषवाकर, पूर्वमुख्य प्रशिक्षक जगत टमाटा र कमेन्टेटर सचिन तिमिल्सिनासँग लियो बयान

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार o८:१o:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता सकिएको भोलिपल्ट (बिहीबार) नै राष्ट्रिय टोलीका कप्तान, पूर्वकप्तान र पूर्वप्रमुख प्रशिक्षकलाई स्पट फिक्सिङ र म्याच फिक्सिङबारे बयान लिएको छ । राखेपले गठन गरेको छानबिन कार्यदलले छानबिनका क्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र पूर्वप्रमुख प्रशिक्षक जगत टमाटालाई बोलाएको हो । 

एकेन्द्र कुँवरको संयोजकत्वमा रहेको राखेप छानबिन कार्यदलले खेलाडी शरद भेषवाकर र कमेन्टेटर सचिन तिमिल्सिनासँग पनि बयान लिएको छ । ‘हामीले बिहीबार कप्तान रोहितसँगै पूर्व कप्तानद्वय, पूर्वप्रशिक्षक टमाटा, खेलाडी शरद र कमेन्टेटर सचिनसँग बयान लियौँ,’ संयोजक कुँवरले नयाँ पत्रिकासँग भने, ‘लिगमा भएको स्पट फिक्सिङ र म्याच फिक्सिङबारे अनुसन्धान चलिरहेको छ, उहाँहरूसँग यसै अनुसन्धानका क्रममै प्रारम्भिक बयान लिएका हौँ, आवश्यक परे हामी फेरि बोलाउँछौँ ।’ 

राखेप कार्यदलमा बयान दिन पुगेका पोखरा एभेन्जर्सका शरदले प्रतियोगिताको सुरुका पाँच खेल खेलका थिए । क्यानको एन्टिकरप्सन युनिट (एसियू)मा आइसिसी प्रतिनिधि वीर सिंहले शरदलाई बाँकी खेलमा प्रतिस्पर्धा गर्न रोक लगाए । सिंहको निर्णयपछि शरद अन्य खेलमा बेन्चमै सीमित भए । 

 शुक्रबार क्यान पदाधिकारीसँग बयान
छानबिन कार्यदलले विभिन्न चरणमा बयान लिइरहेको छ । गत साता कार्यदलले नेपाल क्रिकेट संघ (क्यान)लाई लिगसँग जोडिएको सबै काजगपत्र २४ घन्टाभित्र बुझाउन निर्देशन दिएको थियो । क्यानले गत आइतबार राखेपको निर्देशनअनुसार आवश्यक पत्र बुझायो । 

क्यानले खेलाडी श्रमस्वीकृति, प्रतियोगिता आयोजनाको स्वीकृति र कमर्सियल भारतीय पार्टनर सेभेन थ्री स्पोर्टस्सँगको सम्झौता माग गरेको थियो । राखेपले शुक्रबार क्यानका पदाधिकारीलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको कायदलका संयोजक कुँवरले जानकारी दिएका छन् । ‘हामीले एक चरणमा बिहीबार खेलाडी, प्रशिक्षक र कमेन्टेटरसँग बयान लियौँ, अब शुक्रबारबाट क्यान पदाधिकारीसँग बयान लिन्छौँ ।’ 

उनका अनुसार क्यान पदाधिकारीसँगको बयानपछि नै कार्यदल प्रतिवेदन तयार गर्नतर्फ लाग्नेछ । ‘अनुसन्धानलाई सहज बनाउन क्यान पदाधिकारीको मुख्य भूमिका रहनेछ,’ उनले भने, ‘त्यसपछि हामी प्रतिवेदनतर्फ लाग्छौँ ।’ राखेपले नेपाल टी–२० लिग निकै विवादास्पद बनेपछि कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ । यो कार्यदलको समयावधि एक साता नाघेको छ । 

 तीन पक्षबाट छानबिन
लिगमा भएका फिक्सिङबसम्बन्धमा तीन कमिटीले छानबिन गरिरहेका छन् । राखेपसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र आइसिसीको एन्टिकरप्सन युनिटले छानबिन गरिरहेका हुन् । गत साता आइसिसीका दुई पदाधिकारी काठमाडौं आएका थिए । उनीहरूले खेलाडीदेखि पदाधिकारीसँग फिक्सिङबारे छानबिन गरे । यसैगरी, सिबिआईले फिक्सिङमा शंकास्पद व्यक्ति तथा खेलाडीहरूमाथि अनुसन्धान गरिरहेको छ । 

 अभिव्यक्ति दिएकै कारण पारससँग बयान 
लिग चलिरहँदा पूर्वकप्तान पारसले स्पट र म्याच फिक्सिङ घटनाले स्तब्ध बनाएको जनाए । ‘नेपाल टी–२० लिगमा स्पट फिक्सिङजस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ,’ पारसले सोसल मिडियामा लेखेका थिए, ‘खेलाडीहरूको वर्षाैंको लगाव, खेलप्रेमीको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाको विश्वासलाई फिक्सिङले सबैलाई चोट पुर्‍याएको छ ।’

पारसले निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए । सोसल मिडियामा राखेको अभिव्यक्तिकै कारण पारसलाई राखेप कार्यदलले बयानका लागि बोलाएको हो । ‘लिगलाई प्रभावित बनाउन सोसल मिडियामा अभिव्यक्ति दिएका कारण हामीले पूर्वकप्तान पारसलाई बयान लियौँँ,’ कार्यदलका एक सदस्यले नयाँ पत्रिकालाई भने, ‘क्रिकेटसँगै जोडिएका खेलाडी र पूर्वखेलाडीसँगै केहीलाई हामीले बयानमा बोलाएका थियौँ । उहाँहरूको बयान सकिएको छ ।’

 पूर्वकप्तान र कमेन्टेटरको खुलासा
नेपाली टी–२० लिग सुरुदेखि नै विवादित बनेको थियो । प्रायोजक सम्झौतादेखि नै लिग विवादको घेरामा आएको थियो । टी–२० लिग हुन्छ वा हुन्न भन्ने द्विविधाबीच नै क्यानले प्रतियोगिता आयोजना गर्‍यो । तर, प्रतियोगिताको पहिलो दिनदेखि राउन्ड रोबिन लिगको अन्तिम खेलसम्म नै विवाद निस्किए ।

लिग चलिरहँदा नै आधिकारिक नेपाली कमेन्टेटर सचिनले स्पट फिक्सिङ भइरहेको जानकारी दिँदा पनि सम्बन्धित निकायले केही सुनवाइ नगरेको सामाजिक सञ्जालमा बोले । यसलगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्रले पत्रकार सम्मेलनमै खेलाडीलाई खेल मिलेमतो प्रस्ताव आएको खुलासा गरे ।