१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गत २२ पुसमा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका १२ नेपाली महिला । उनीहरूलाई दुबई लैजान लागिएको थियो ।
टेकराज थामी काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०८:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रोकिएन भिजिट भिसामा हुने मानव तस्करी

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०८:१५:००

वैशाखयता मात्रै विमानस्थलबाट हजारभन्दा धेरै पक्राउ, ‘स्यानिटरी प्याड’मा तेस्रो मुलुकको भिसा लुकाएर हुन्छ तस्करी

भिजिट भिसामा अनधिकृत तवरले केही महिला दुबई जान लागेको सूचनापछि गत साता मानव बेचबिखन नियन्त्रण ब्युरोको प्रहरी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । दुबई जान लागेका शंकास्पद महिलामाथि निगरानी राखियो । केही महिला पक्राउ पनि परे । प्रहरीले एक–एक गर्दै खनतलासी लियो ।

अनधिकृत तवरले भिजिट भिसामा दुबई जान लागेका महिला पक्राउपछि खानतलासीमा जुटेको प्रहरी टोली त्यतिवेला चकित पर्‍यो, जब ‘स्यानिटरी प्याड’भित्र लुकाई राखिएको तेस्रो मुलुकको अर्को भिसा भेटियो । एक महिलाको ‘ह्यान्ड ब्याग’भित्र ‘स्यानिटरी प्याड’ देखियो । शंकास्पद देखिएपछि प्रहरीले प्याड खोल्न लगायो । अनकनाउँदै महिलाले जब प्याड खोलिन्, भित्र कुवेत लेखिएको भिसाको प्रिन्ट कपी भेटियो । 

एसएसपी अनुराग द्विवेदी, मानव बेचबिखन नियन्त्रण ब्युरो प्रमुख
भिजिट भिसामा दुबई हिँडेका महिला प्रत्येकपटकको अप्रेसनमा पक्राउ पर्छन् । खानतलासी गर्दा ‘स्यानिटरी प्याड’भित्र भिसाको प्रिन्ट कपी भेटिन्छ । एकपटक मात्रै होइन, प्रत्येकपटकको अप्रेसनमा यस्ता घटना दोहोरिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्कर गर्ने यो पछिल्लो ‘ट्रेन्ड’ हो ।

मानव बेचबिखन नियन्त्रण ब्युरो प्रमुख एसएसपी अनुराग द्विवेदीका अनुसार भिजिट भिसामा दुबई हिँडेकी महिला उतैबाट कुवेत जाने योजनामा थिइन् । भिजिट भिसामा दुबई हिँडेका महिला पक्राउ पर्ने दर अस्वाभाविक तवरले बढेको एसएसपी द्विवेदीले बताए । ‘भिजिट भिसामा दुबई हिँडेका महिला प्रत्येकपटकको अप्रेसनमा पक्राउ पर्छन् । खानतलासी गर्दा ‘स्यानिटरी प्याड’भित्र भिसाको प्रिन्ट कपी भेटिन्छ । एकपटक मात्रै होइन, प्रत्येकपटकको अप्रेसनमा यस्ता घटना दोहोरिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्कर गर्ने यो पछिल्लो ‘ट्रेन्ड’ हो,’ उनले भने ।

ब्युरोले वैशाखयता मात्रै विमानस्थलबाट भिजिट भिसामा दुबई जान हिँडेका हजारभन्दा धेरैलाई पक्राउ गरेको छ । आइतबार मात्रै प्रहरी टोलीले २५ जनलाई विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांशको बैंक स्टेटमेन्ट नक्कली छन् । कोभिड– १९ रिपोर्ट मात्र नभई कतिको त भिसासमेत नक्कली भेटिएको ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले जानकारी दिए । ‘वैशाखयता मात्रै हामीले हजारभन्दा धेरैलाई पक्राउ गरेका छौँ । उनीहरू भिजिट भिसामा दुबई जान लागेका थिए । अनुसन्धान गर्दा अधिकांशको बैंक स्टेटमेन्ट, कोभिड– १९ रिपोर्ट मात्र नभई भिसासमेत नक्कली रहेको भेटियो । आइतबार पक्राउ परेका २५ जनाको स्थिति पनि उस्तै देखिन्छ,’ उनले भने ।

विमानस्थलस्थित अध्यागमन र प्रहरीकै मिलेमतोमा मानव तस्करी 
दुबई घुम्न जानेका लागि भिसा लगाई अनुमति दिने काम अध्यागमन विभागको हो । जसको एउट युनिट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै छ । नियमअनुसार भिजिट भिसामा जान चाहने नेपाली नागरिकको बैंक खातामा न्यूनतम पनि दुई सय ५० अमेरिकी डलर हुनैपर्छ । यसको परीक्षण गरी भ्रमण अनुमति दिने काम अध्यागमनको हो, तर अध्यागमनले विनापरीक्षण आँखा चिम्लेर भ्रमण अनुमति दिन्छ । अध्यागमनको काममा विमानस्थलस्थित प्रहरीले पनि आँखा चिम्लिदिन्छन् । यसैको फाइदा उठाउँदै मानव तस्कर समूहले युवाहरूलाई सजिलै दुबई पुर्‍याउने गरेका छन् । मोटो रकम असुलेर तस्कर समूहले युवाहरूलाई दुबई लगेर अलपत्र छाडिदिन्छ । 

‘विदेश घुम्न नेपालीको बैंक खातामा न्यूनतम पनि दुई सय ५० डलर डिपोजिट भएको हुनुपर्छ । त्योभन्दा कम रकम भएका नेपालीलाई विदेश भ्रमणमा जान अनुमति हुँदैन । तर, यहाँ यस्ता मानिसलाई भिजिट भिसा लगाइएको छ, जसको बैंक खातासमेत छैन । कतिलाई औपचारिकता पूरा गर्न दलालले नै बैंक खातामा रकम हालिदिन्छन् । जब परीक्षण सकिन्छ, त्यसलगत्तै उसले रकम फिर्ता लिन्छ । यसमा पक्कै पनि कहीँ न कतै लुपहोल छ,’ द्विवेदीले भने ।

दुबई जान इथियोपियाको ‘रुट’
मानव तस्कर समूहले पछिल्ला दिन नेपाली युवतीलाई दुबई लैजान इथियोपियाको ‘रुट’ प्रयोग गर्ने गरेको खुलेको छ । यसका लागि उनीहरूले भारतको विमानस्थल प्रयोग गर्छन् । गत २२ पुसमा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ नेपाली युवती पक्राउ परेपछि यो तथ्य खुलेको हो । जयपुर विमानस्थलस्थित भारतीय प्रहरीले इथियोपिया हुँदै दुबई जान लागेका १२ नेपाली युवतीलाई पक्राउ गरेको थियो । पक्राउ गरेपछि भारतीय प्रहरीले उनीहरूलाई महिला सेल्टरमा राखेको थियो । त्यसपछि भारतस्थित नेपाली दूतावासमा पक्राउ परेका महिला जिम्मा लगाइएको जयपुर विमानस्थल प्रहरी कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

कार्यालयले निकालेको विज्ञप्तिअनुसार उनीहरू इथियोपिया जान लागेका थिए । भारतस्थित नेपाली दूतावासको सूचनापछि जयपुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । जयपुर विमानस्थलमा इथोपिया हुँदै दुबई जाने क्रममा पक्राउ परेको यो दोस्रो घटना हो । यसअघि जयपुर प्रहरीले दुबई जान लागेको दुई महिलालाई विमानस्थलबाट पक्राउ गरेको थियो । घटना सम्बन्धमा ब्युरो प्रमुख द्विवेदीले भने, ‘भारतको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ दिनअघि १२ महिला पक्राउ परेको सूचना हामीले पाएका छौँ । उनीहरूले जयपुरबाट इथियोपिया हुँदै दुबई जान लागेको खुलेको छ । यसअघि पनि सोही विमानस्थलबाट दुई महिला पक्राउ परेका थिए ।