मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०६:१४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारलाई कांग्रेसको समर्थनपछि के भन्छन् सत्तारूढ दलहरू ? 

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०६:१४:००

कांग्रेसले समेत विश्वासको मत दिएकोमा उत्साहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय सहमतिको रूप लिएको अभिव्यक्ति दिइरहँदा अन्य साझेदार दलले भने मिश्रित प्रतिक्रिया दिएका छन् । सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनलाई एमालेले दाउपेचका रूपमा बुझेको छ भने अन्य दलले सकारात्मक रूपमा लिएका छन् । 

सिंगो संसद्को विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको प्रचण्डको भनाइ छ । ‘संसद्मा कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ । सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ,’ प्रचण्डले गोरखामा बुधबार आयोजित कार्यक्रममा भने । संसद्मा प्राप्त विश्वासले नेपाल राष्ट्रको, नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको प्रधानमन्त्रीको दाबी छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसको समर्थनभित्र रणनीतिक दाउपेच लुकेको आशंका गरे । ‘समर्थनको दायरा फराकिलो हुनु सकारात्मक नै हो । तर, कांग्रेसको समर्थनभित्र रणनीतिक दाउपेच लुकेको देखिन्छ । तर, सत्तागठबन्धनमा थोरै अविश्वास पैदा भए खेल्न सकिन्छ भन्ने हो कि ?’ ज्ञवालीले भने । 

उनले कांग्रेसका सामु राजनीतिक रूपमा गम्भीर प्रश्न खडा भएको बताए । उनले भने, ‘कानुनी रूपमा विपक्ष होला । तर, राजनीतिक रूपमा कांग्रेससामु गम्भीर प्रश्न खडा भएको छ । सायद, अन्तर्विरोधमा खेल्न सकिन्छ भन्ने कांग्रेसको निष्कर्ष होला ।’ उनले राष्ट्रपति, सभामुखलगायतका विषयमा भने सहमति भइसकेकाले कांग्रेसले खेल्न नसक्ने दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले सरकारलाई समर्थन गरेकै आधारमा शंकाको नजरले हेर्न नहुने बताए । गुण र दोषका आधारमा समर्थन र विरोधको नीति सकारात्मक मान्नुपर्ने, तर चलखेलको स्थितिमा आए तुच्छ राजनीति हुने उनले बताए । ‘सबैभन्दा पहिला संसद्मा सत्तापक्ष वा प्रतिपक्षमा कहाँ बस्छ कांग्रेसको पोजिसन हेर्नुपर्छ । प्रतिपक्षमा बसे पनि स्थिरताको पक्षमा विश्वासको मत हो भन्ने ढंगले अगाडि बढ्यो भने त्यो सकारात्मक हो । यदि, चलखेलमा लाग्यो भने तुच्छ राजनीति हुन्छ, घृणायोग्य कदम हुन्छ । गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुचाहिँ स्वाभाविक हो,’ उनले भने । 

राप्रपा महामन्त्री धवलशमशेर राणाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘राम्रो हिसाबले नै विश्वासको मत दिएको होला भन्ने लागेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । कांग्रेसले राम्रैका लागि गरेको होला भन्ने लाग्छ, भित्री पक्ष समयसँगै खुल्दै जाला,’ उनले भने । 

जसपाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताएको छ । संघीय परिषद् अध्यक्ष एवं सांसद अशोक राईले भने, ‘कांग्रेसले विश्वासको मत दिनुलाई सकारात्मक रूपमा हेर्नुपर्छ । प्रधानमन्त्रीले नै ‘मैले न्याय पाएँ’ भन्नुभएको छ । अब अरूले कसरी लिन्छन्, के भन्छन् भन्नेको खास अर्थ हुँदैन । यो असाधारण समर्थनलाई नेपाली राजनीतिमा उहाँ (प्रचण्ड)ले गरेको योगदान र खेलेको भूमिकाका रूपमा हेर्नुपर्छ ।’

चलखेलको सम्भवना छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘अब कति चल्नु, कति खेल्नु, हजार ठक्कर खाइसक्यौँ । अब पनि के चलखेल गर्नु र ?’ उनले वर्तमान सत्तागठबन्धन नै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले कांग्रेसको समर्थनले सत्ता राजनीति प्रभावित हुन सक्ने आंशका गरे । ‘पहिला सबै कुरा कांग्रेसकै हातमा थियो । त्यतिवेला समर्थन गरेको भए पनि हुन्थ्यो । लोकतन्त्रमा सत्तापक्ष र विपक्ष हुन्छ । कांग्रेसको समर्थन रणनीतिक छ भन्ने लाग्छ, यस्तोमा सत्ता तलमाथि हुन पनि सक्छ,’ सिंहले भने । 

मंगलबार सबै दलले विश्वासको मत दिने बताएपछि प्रधानमन्त्री प्रचण्डले सरकारलाई असाधारण समर्थन प्राप्त भएको र यसलाई चुनौती र जिम्मेवारी थपिएको रूपमा लिएको बताएका थिए । 

‘सबै दलबाट प्राप्त भएको असाधारण समर्थन ऐतिहासिक छ । मैले न्याय पाएँ कि भन्ने पनि महसुस भएको छ,’ उनले भने, ‘मैले आफूलाई राष्ट्रिय सहमतिको केन्द्रबिन्दुमा भएको महसुस गरेको छु । साथै, चुनौती र जिम्मेवारी थपिएको छ । यो अपार विश्वासले जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयनमा निकै ठूलो अवसर प्राप्त भएको छ ।’ मंगलबार संसद्मा सम्बोधन गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र कार्यान्वयनका लागि सरकारलाई समर्थन गरेको बताएका थिए ।