मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २७ बुधबार १६:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १६:३५:oo

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैँलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। 

प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्। 

पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डलाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे। 

उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढ्ने विश्वाससमेत व्यक्त गरे। अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए। 

‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो । तर, यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ– मैले जे गरेँ, ठीक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै हुँ भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ,’ उनले भने, ‘यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभइदिनुहोला है। मेरो आग्रह छ। हामीले धेरै आशा, अपेक्षा गरेर उहाँका अगाडि १५ बुँदाहरू अगाडि सारेर, व्याख्या गरेर ती सुझावहरूसहित, सर्तहरूसहित हामीले यो सरकारलाई समर्थन गरेका हौँ। विश्वासको मत दिएका हौँ।’ 

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठीक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्तिसमेत जनाए। विश्वासको मत लिने वेलामा गरेका प्रतिबद्धताहरू पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्रीलाई सुझाव दिए। 

सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाइ थियो। अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घचघच्याइरहने पनि बताए। नेपालले देशलाई विदेशीहरूको क्रीडाभूमि बन्न नदिने काममा पनि वर्तमान सरकार सचेत रहनुपर्नेसमेत बताए।