१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी पेरिस
२०७९ पौष २७ बुधबार ०७:१८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लोरिस र बेलले लिए सन्न्यास

Read Time : > 1 मिनेट
एजेन्सी, पेरिस
२०७९ पौष २७ बुधबार ०७:१८:००

फ्रान्सका कप्तान ह्युगो लोरिस र वेल्सका कप्तान गेराथ बेलले २४ घन्टाको अन्तरमा अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास घोषणा गरेका छन् । बेलले सोमबार राति विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीबाट बिदा भएको जनाएका थिए । फ्रान्सका विश्व च्याम्पियन गोलरक्षक तथा कप्तान लोरिसले मंगलबार फ्रेन्च पत्रकारसामु सन्न्यासको घोषणा गरेका हुन् । यद्यपि, गत महिना कतारको दोहामा सम्पन्न २२औँ विश्वकप फुटबल प्रतियोगिताको फाइनलपछि लोरिसले सन्न्यास लिने बताएका थिए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा फ्रान्स ४–१ ले निराश भएपछि लोरिसले छिटै सन्न्यास लिने जनाए । 

सन् २०१८ को रसिया विश्वकपमा फ्रान्सलाई विश्व च्याम्पियन बनाएका लोरिसले सन्न्यासको घोषणा जीवनकै कठिन निर्णयमध्ये एक भएको बताएका छन् । ‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गरेको छु, यो जीवनकै एक कठिन निर्णयमध्ये एक हो,’ लोरिसले भनेका छन् । फ्रेन्च फुटबल इतिहासमा लोरिस सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । उनले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

लोरिसले सन् २०१२ देखि फ्रान्सको कप्तानी गर्दै आएका थिए । लोरिसले आफ्नो कप्तानीमा फ्रान्सलाई सन् २०१६ को युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोतिगामा उपविजेता बनाएका थिए । युरोकपको फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि लोरिसले क्लब करिअरलाई निरन्तरता दिनेछन् । उनी इंग्लिस प्रिमियर लिगको टोटनह्यामका कप्तान हुन् । 

‘मैले फ्रान्सलाई सबै थोक दिएको महसुस गरेको छु,’ लोरिसले भने, ‘मलाई लाग्छ, हामीले अब युरोकपको तयारी गर्नुपर्छ ।’ युरोकप २०२४ को छनोटमा फ्रान्स जिब्राल्टर, ग्रिस, नेदरल्यान्ड्स र आयरल्यान्ड रहेको समूहमा छ । २१ वर्षको उमेरमा फ्रेन्च टोलीमा परेका लोरिसले फ्रान्सका लागि एक सय २१ खेलकोे कप्तानी गरेको कीर्तिमान राखेका छन् । विश्वकप फाइनलसँगै उनले फ्रान्सका लागि एक सय ४५औँ क्याप जितेका थिए । 

 बेलले गरे सामाजिकसञ्जालबाट घोषणा
वेल्स फुटबल इतिहासकै सफल खेलाडी बेलले सोसल मिडियाबाट सक्रिय फुटबल खेलजीवनबाट सन्न्यास घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय र क्लब फुटबलबाट सन्न्यास लिएको घोषणा गरे । सन् २००६ मा इंग्लिस प्रिमियर लिग साउथ ह्याम्पटनबाट बेलले व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए । त्यसपछि उनले टोटेनह्याम र रियल म्याड्रिडबाट खेले ।

सन् २००६ देखि २०२३ को फुटबल यात्रामा बेलले सबैभन्दा बढी खेल स्पेनिस क्लब म्याड्रिडबाट खेले । कीर्तिमानी रकममा म्याड्रिडसँग अनुबन्ध गरेका बेलले त्यहाँ सन् २०१३ देखि २०२२ सम्म रहे । यसक्रममा उनले पाँच च्याम्पियन्स लिग उपाधि जिते । पछिल्लो समय उनी अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलिरहेका थिए ।

‘अन्तर्राष्ट्रिय तथा क्लब फुटबलबाट सन्न्यास लिन सबैभन्दा गाह्रो निर्णय हो,’ बेलले भने । ३३ वर्षीय बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि एक सय ११ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले वेल्सका लागि ४१ गोल गरेका छन् । उनकै नेतृत्वमा वेल्सले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ खेलेको थियो । क्लब फुटबलमा तीन सय ९४ खेलमा उनले एक सय ४१ गोल गरेका छन् । कतार विश्वकपमा समूह ‘बी’मा रहेको वेल्स समूह चरणबाटै बाहिरिएको थियो । वेल्सले दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजा निकालेको थियो ।