१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २६ मंगलबार ०८:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेयर बालेनको विदेश भ्रमण निर्देशिकाविपरीत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २६ मंगलबार ०८:१९:००

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साह पहिलोपटक विदेश भ्रमणमा निस्किएका छन् । उनी श्रीमती सबिना काफ्ले र अन्य साथीहरूसहित तीन दिनअघि (बिहीबार) इन्डोनेसियाको जकार्ता पुगेका हुन् ।

मेयर साहको सचिवालय स्रोतका अनुसार उनी जकार्तामा भइरहेको ‘पब्जी मोबाइल विश्व च्याम्पियनसिप’ हेर्न अनौपचारिक रूपमा त्यहाँ पुगेका छन् । उनको भ्रमण प्रक्रिया र खर्च आयोजक टोलीले नै व्यहोरेको मेयर साहको सचिवालयले जनाएको छ । पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनलमा दुईवटा नेपाली टोली पुगेका थिए । उनीहरूलाई हौसला दिन र पारिवारिक घुमघामका लागि उनी त्यहाँ पुगेका हुन् । उनले आफ्नो भ्रमणबारे महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मौखिक जानकारी मात्रै गराएका छन् । नितान्त व्यक्तिगत भ्रमण भन्दै उनले महानगर कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई औपचारिक जानकारी नगराएको मेयर साहको सचिवालयले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुन जानुअघि टोलीलाई मेयर साहले त्रिभुवन विमानस्थलमा बिदाइसमेत गरेका थिए ।   

प्रतियोगितामा नेपाल उपविजेता 

जकार्तामा भएको पब्जी मोबाइल विश्व च्याम्पियनसिप’मा नेपाल उपविजेता बनेको छ । प्रतियोगितामा विभिन्न देशका १६ टिमबीच प्रतिस्पर्धी थिए । नेपालले उक्त प्रतियोगितामा उपविजेता भएर तीन करोड नेपाली रुपैयाँ जितेको छ । प्रतियोगितामा टर्कीको एसटुजी इस्पोर्टस् विश्व विजेता बन्न सफल भएको छ । च्याम्पियनसिपमा चीन, टर्की, नेपाल, मंगोलिया, थाइल्यान्ड, इन्डोनेसिया, मेसिया, ब्राजिललगायत देशका टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

के छ निर्देशिकामा ?
स्थानीय तहका पदाधिकारी विदेश भ्रमणसम्बन्धी निर्देशिका–०७५ ले कुनै पनि जनप्रतिनिधि विदेश भ्रमण वा अवलोकनका लागि जानुपूर्व अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । तर, मेयर साह उक्त निर्देशिकालाई अटेर गर्दै विनाअनुमति विदेश भ्रमणमा निस्किएका छन् । निर्देशिकाअनुसार कुनै पनि स्थानीय तहका जनप्रतिनिधि (प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत)ले विदेश भ्रमण गर्दा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग अनुमति लिनुपर्छ ।

मन्त्री नियुक्त नभएको अवस्थामा सचिवसँग अनुमति लिनुपर्ने वा विकास सहायता समन्वय शाखाको अनुमति लिनुपर्ने व्यवस्था छ । ‘विदेश भ्रमण भन्नाले नेपालबाहिर विदेशी मुलुक वा सरकार र त्यसको कुनै निकाय, अन्तर्राष्ट्रिय संगठन, दातृ निकाय, विकास साझेदार, स्थानीय तहले सम्बन्ध स्थापना गरेको भगिनी सहर वा विदेशस्थित गैरआवासीय नेपालीको संस्थाले अध्ययन, तालिम, गोष्ठी, सेमिनार, छलफल वा अवलोकनका लागि आमन्त्रण गरेकोमा त्यस्ता कार्यक्रममा भाग लिन जाने कार्य सम्झनुपर्छ,’ निर्देशिकामा भनिएको छ, ‘विदेश भ्रमण गर्ने पदाधिकारीले विदेशमा हुने सभा, समारोह तथा बैठकमा गरिने सम्बोधन, भाषण वा छलफलको विषयवस्तु र नेपालको धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालय, नेपाली नियोग र अन्य सम्बन्धित निकायसँग परामर्श गर्नुपर्नेछ । मेयर साहले अनुमति नलिई विदेश भ्रमणमा गएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार मेयर तथा मेयरको सचिवालयले मेयर साहको भ्रमणबारे कुनै पनि विवरण मन्त्रालयलाई पठाएको छैन । ‘उहाँ विदेश भ्रमणमा गएको सुनेका छौँ, तर अनुमति लिनुभएको छैन,’ उनले भने ।