
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भारतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा आफ्ना अभिकर्तालाई प्रशिक्षण प्रदान गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा भारतको मुम्बईका जीवन बिमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक राजेश सतोस्कारले देशभरबाट आठ सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई तालिम दिएका हुन् ।
नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले उद्घाटन गरेको कार्यक्रममा देशबाहिर रहेका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल माध्यमबाट अभिकर्तालाई स्वागत तथा सम्बोधन गरेको जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत पराजुलीले अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षणले अभिकर्ताको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
यसले उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथसाथै व्यवसाय विस्तारका लागिसमेत उपयोगी सीपहरू विकास गर्न सहज हुने उनको भनाइ थियो । नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिबारे उल्लेख गरेका थिए ।