१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ पौष २५ सोमबार ०७:२३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोमाञ्चक जितसहित लुम्बिनी फाइनलमा

Read Time : > 1 मिनेट
२०७९ पौष २५ सोमबार ०७:२३:००

लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जनकपुर रोयल्समाथि ६ रनको रोमाञ्चक जित निकाल्दै लुम्बिनी पहिलो संस्करणको उपाधिनजिक पुगेको हो । जनकपुरले दोस्रोपटक फाइनल प्रवेशको अवसर पाउनेछ । मंगलबार इलिमिनेटर विजेतासँग जनकपुरले दोस्रो क्वालिफायर खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुनेछ । 

अन्तिम ओभरमा नौ रन आवश्यक
लुम्बिनीले प्रस्तुत गरेको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रन मात्र बनायो । जनकपुरलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो । लुम्बिनीका लागि अन्तिम ओभरमा किशोर महतोले बलिङ गरेका थिए । उनले केवल तीन रन खर्चिए । त्यसपछि लुम्बिनी फाइनल प्रवेश गर्‍यो ।

क्रिजमा रहेका पवन सर्राफ र सोमपाल कामीको जोडीले ६ बलमा तीन रन जोडेका थिए । जनकपुरको ब्याटिङमा जनकपुरका समिउल्लाह सिन्वारीले सर्वाधिक ४५ रन बनाएका थिए । अफगानी अलराउन्डर समिउल्लाहले ३१ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । पवनले १९ बलमा दुई चौका र दुई छक्का मद्दतमा अविजित ३० रन जोडेका थिए । ओपनर सराफुद्दिन असराफले १९ बलमा २४ रन बनाए । 

कप्तान ट्रेभोन ग्रिफिथले १० रन र राजेश पुलानीले १३ रनको योगदान गरेका थिए । दिलीप नाथ, सन्दीप जोरा, आयन प्रियन्जन, सोमपाल कामी सस्तैमा आउट भए । समिउल्लाह र पवनबीच सातौँ विकेटका लागि ४८ रनको साझेदारी भए पनि हार टार्न सकेनन् । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरी, किशोर र विपुलले समान दुई विकेट लिएका थिए । राष्ट्रिय टोलीका खेलाडी दीपेन्द्रले तीन ओभरमा एक मेडनसहित मात्र ९ रन खर्चिएका थिए । 

लुम्बिनीको मध्यम अग्रता 
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रन बनायो । लुम्बिनीको मध्यक्रमका ब्याट्सम्यान ईशान पाण्डेले सर्वाधिक ३८ रन बनाएका थिए । ईशानले ३९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यसैगरी, अनिल शाहले २६ बलमा दुई चौकाको सहयोगमा २४ रन जोडे । विपुल शर्माले १३ बलमा २० रन बनाएका थिए ।

श्रीलंकन खेलाडी लाहिरू मिलन्थाले १६ रन, दक्षिण अफ्रिकन खेलाडी 
स्याड्ली भानले १७ रन तथा कप्तान दीपेन्द्रले १० रन बनाएका हुन् । लुम्बिनीले सुरुवाती तीन ओभरमा दुई विकेट गुमाएको थियो । २.४ ओभरमै ओपनर हर्मित सिंह शून्य र कुशल भुर्तेल तीन रनमा पेभिलियन फर्किएपछि लुम्बिनी दबाबमा आएको थियो । जनकपुरका बलर आयन प्रियन्जन, जितेन्द्र मुखिया र सोमपाल कामीले समान दुई विकेट लिएका थिए । सोमपालले चार ओभरमा एक मेडनसहित १९ रन खर्चिए ।