मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडाैं
२०७९ पौष २५ सोमबार ०६:२५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लाल मोहम्मद हत्या प्रकरण : सूचना संकलन गर्न दोस्रो व्यक्तिको नाममा झिकिएको ‘सिमकार्ड’ प्रयोग

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ पौष २५ सोमबार ०६:२५:००

३ असोजमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटारमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्या गर्न अभियुक्तले दोस्रो व्यक्तिको नाममा जारी ‘सिमकार्ड’ प्रयोग गरेको तथ्य फेला परेको छ । प्रहरीले ५७ दिनको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार मोहम्मद हत्याका सबै अभियुक्तले अन्य व्यक्तिको नामको सिमकार्ड लिएको खुलेको हो । 

मुख्य मतियार भारतीय नागरिक नितिन खान भनिने नितिन मदानले समीक्षा गुरुङको नाममा जारी ‘सिमकार्ड’ प्रयोग गरेको खुलेको छ । अर्की भारतीय नागरिक ममता भनिने मेरिना तिवारीले पर्वतको पैँयु हटियाकी पुनम काफ्लेको नाममा जारी ‘सिमकार्ड’ प्रयोग गरेको खुलेको छ ।

त्यस्तै, मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानले भने वसन्तकुमार चौधरीको नाममा जारी भएको सिमकार्ड प्रयोग गरेको प्रहरीले जनाएको छ । मेरिना र सुम्मिताले मोहम्मदका सबै सूचना संकलन गरी हत्याका मुख्य योजनाकार भारतीय नागरिक बब्लु पासवान भनिने गणेश कुमारलाई पठाउने गरेका थिए । जसका लागि उनीहरूले सोही ‘सिमकार्ड’ प्रयोग गरेका थिए । 

अनुसन्धान प्रतिवेदनअनुसार ‘सिमकार्ड’ झिक्न नितिनले समीक्षाको नाममा जारी राहदानीको फोटोकपी प्रयोग गरेका थिए । फारम भर्दा फोटो पनि समीक्षाकै प्रयोग गरेका थिए । उक्त फोटो उनले सामाजिक सञ्जालबाट डाउनलोड गरेका थिए । फारममा हस्ताक्षर, लिखत र औँठा छाप भने नक्कली प्रयोग गरेका थिए । यसरी झिकिएको सिमकार्ड प्रयोग गरी नितिनले मोहम्मद हत्याका लागि आवश्यक सूचना संकलन र व्यवस्थापनका सम्पूर्ण काम फत्ते गरेका थिए । 

साइप्रसबाट फर्केपछि दुई वर्षअघि समीक्षाले आफ्नो नाममा जारी भएको राहदानी प्रयोग गरी काठमाडौंको म्हेपीस्थित पसलबाट ‘सिमकार्ड’ झिकेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यसवेला उनले फोटोसहितका आवश्यक सबै कागजात पसलेलाई बुझाएकी थिइन् । उनका अनुसार सोही क्रममा उक्त कागजात दुरुपयोग भएको हुन सक्ने बयान प्रहरीलाई दिएकी छिन् । 

बयानमा उनले भनेकी छिन्, ‘मैले मेरो नाममा जारी भएको नेपाली राहदानीको छायाकपीबाट सिमकार्ड निकाल्ने क्रममा म्हेपीस्थित मोबाइल पसलमा दिएको हुँदा सोही मोबाइल पसलबाट मेरो राहदानीको छायाकपी र फोटो दुरुपयोग गरी नयाँ सिमकार्ड जारी भएको हुनुपर्छ । मेरो नाममा जारी ९८६१२२५... नंं. को सिमकार्ड प्रयोग गर्ने नितिन मदान भनिने व्यक्तिलाई चिन्दिनँ ।’

त्यस्तै, भारतीय नागरिक ममता भनिने मेरिनाले ‘सिमकार्ड’ झिक्न पुनमको नागरिकताको फोटोकपी नै प्रयोग गरेकी थिइन् । फारममा फोटो पुनमकै टाँसेकी थिइन् । तर, हस्ताक्षर, लिखत र औँठा छाप भने नक्कली गरेकी थिइन् । यसरी झिकिएको ‘सिमकार्ड’मार्फत उनले मोहम्मद हत्याका लागि आवश्यक सूचना संकलन गरेकी थिइन् । अनुसन्धान प्रतिवेदनअनुसार ०७१ मा डाइभर्सिटी भिसा (डिभी)को फाराम भर्न पुनमले सामाखुसीस्थित पर्दाले बेरेको स्टलमा नागरिकता र फोटो दिएकी थिइन् । तर, डिभी नपरेपछि उनी न्युजिल्यान्ड गएकी थिइन् । डिभीको फारम लिनेबाट नागरिकताको फोटोकपी दुरुपयोग भएको हुन सक्ने बयान उनले प्रहरीलाई दिएकी छिन् । 

पुनमले बयानमा भनेकी छिन्, ‘मेरिना भनिने ममता तिवारीले ९८६८१३२... नम्बरको सिमकार्ड प्रयोग गरेकी रहिछिन् । उक्त सिमकार्ड मेरो नाममा जारी भएको सम्बन्धमा मलाई जानकारी छैन । सिमकार्ड जारी गर्ने क्रममा नेपाल टेलिकममा भएको लिखत, ग्राहकको दस्तखतको मोबाइलमा भएको दस्तखत, औँठा छाप मेरो होइन । फारममा भएको फोटो मेरो हो । सिमकार्ड निकाल्न प्रयोग भएको नागरिकताको फोटोकपी मेरै हो । म मेरिना भनिने ममता तिवारीलाई चिन्दिनँ ।’
मोहम्मद हत्याका लागि सूचना संकलन गर्ने अर्की युवती मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिताले पनि वसन्तकुमारको नागरिकताको फोटोकपी प्रयोग गरी सिमकार्ड झिकेकी थिइन् । कार्ड झिक्दा प्रयोग भएका लिखत, हस्ताक्षर र औँठा छाप नक्कली थियो । तर, फारममा फोटो भने उनकै टाँसिएको थियो । 

अनुसन्धान प्रतिवेदनमा उल्लेखित वसन्तकुमारको बयानअनुसार उनले आफ्नो नाममा सिमकार्ड झिक्न पाँच वर्षअघि गोंगबुस्थित मोबाइल पसलमा नागरिकताको फोटोकपी, फोटो र आवश्यक कागजात दिएका थिए । तर, पछि उक्त कार्ड हरायो । त्यसपछि उनले उक्त कार्ड प्रयोग गरेका छैनन् । तर, मोहम्मदको हत्यामा प्रयोग भएको ९८१२५४०...नम्बर कार्ड उनको नाममा जारी छ । यो कागजातको दुरुपयोग गरी झिकिएको वसन्तकुमारको भनाइ छ । 

उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘मैले मेरो नाममा जारी भएको नेपाली नागरिकताको छायाकपीको सिमकार्ड निकाल्ने क्रममा गोंगबु बसपार्कस्थित रहेको मोबाइल पसलमा दिएको हुँदा सोही मोबाइल पसलबाट मेरो नागरिकताको छायाकपी र फोटो दुरुपयोग गरी सिमकार्ड जारी भएको हुनुपर्छ । ९८१२५४०... सिमकार्ड निकाल्ने क्रममा दर्ता फारममा औँठा छापको महलमा भएको औँठा छाप मलाई देखाउँदा बल्ल थाहा पाएँ । उक्त औँठा छाप मेरो होइन । दर्ता फारममा भएको लिखत अक्षरसमेत मेरो होइन । दर्ता फारममा भएको फोटो मेरो हो ।’

मोहम्मद हत्याको व्यवस्थापनमा भाडाको मोटरसाइकल, हत्यामा प्रयोग स्कुटर अझै फेला परेन
काठमाडौंको कलंकीमा बालकृष्ण महर्जनले सञ्चालन गरेको माँ अन्नपूर्ण रिकन्डिसन मोटरसाइकल वर्कसप छ । लाल मोहम्मद हत्याका लागि आवश्यक व्यवस्थापन गर्न सोही वर्कसपबाट भाडामा लिइएको बा.६९ प २७८४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल प्रयोग भएको थियो । हत्याका व्यवस्थापक नितिनले प्रतिदिन एक हजार दुई सय रुपैयाँ भाडा बुझाउने गरी १७ भदौमा उक्त मोटरसाइकल लिएका थिए । तर, वर्कसपधनीलाई व्यक्तिगत कागजात भने केही पनि दिएका थिएनन् । धरौटीबापत पाँच हजार रुपैयाँ वर्कसपधनी महर्जनलाई दिएका थिए । 

तीन दिनका लागि भनेर लगेको मोटरसाइकल वर्कसपनजिकैको मोटरसाइकल वासिङ सेन्टरमा छाडेर हिँडेका थिए । महर्जनले २६ भदौमा उक्त मोटरसाइकल फेला पारेर लगेका थिए । अनुसन्धान प्रतिवेदनअनुसार मोहम्मद हत्याका लागि सूचना संकलन गर्न र आवश्यक व्यवस्थापन गर्न सोही मोटरसाइकल प्रयोग भएको थियो । 

घटनास्थलबाट प्राप्त सिसीक्यामेरा फुटेजअनुसार मोहम्मद हत्यामा प्रयोग भएका सुटर स्कुटरमा सवार थिए । अनुसन्धान प्रतिवेदनअनुसार मोहम्मद हत्याका मुख्य योजनाकार भारत रक्सौलका बब्लु पासवान भनिने गणेश कुमारले सुटरका रूपमा भने भारतीय नागरिक राजु भनिने दिनेश र गुड्डु पटेललाई प्रयोग गरेका थिए । घटनामा अर्का भारतीय नागरिक मोहम्मद नेजामुद्दिन पनि प्रयोग भएका थिए । हत्यापछि पनि उनीहरू स्कुटरबाटै फरार भएका थिए । तर, हत्याको चार महिना बितिसक्दा पनि उनीहरूले प्रयोग गरेको स्कुटर फेला पर्न सकेको छैन । 

यसबीचमा वीरगन्ज– १६ का २१ वर्षीय महोरम मियाँ र १७ वर्षीय रेहान मियाँ तथा मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई प्रहरीले पक्राउ गरिसकेको छ । हत्यामा प्रयोग भएको पेस्तोल पनि घटनास्थलबाटै बरामद गरेका थियो । 

२२ वर्षदेखि नेपाल बस्दै आएका थिए नितिन 
४३ वर्षीय नितिन २२ वर्षअघि सहोदर दाइ कमलसँगै भारत दिल्ली डी १÷१ राना प्रताप बागबाट नेपाल आएका थिए । प्याफलमा बस्दै आएका उनीहरूले सुरुमा मोटरसाइलको पार्टपुर्जा बेच्ने काम गरे । पछि उनीहरू झोल साबुन, डिटर्जेन्ट, स्याम्पु, वाक्स पोलिस व्यापारमा लागे । दाइ कमल अहिले पनि प्याफलमै उही व्यवसाय गर्छन् । नितिन भने ०७२ देखि कमलसँग छुट्टिएर बस्दै आएका थिए । यसक्रममा उनले सुचितकुमार डालिमियाँसँगको साझेदारीमा दरबारमार्गस्थित क्यासिनो प्यालेसमा कस्मेटिक व्यापार पनि गरे । कारोबार बिग्रिएपछि उनले व्यवसाय छाडेका थिए । त्यसयता नितिन कहिले नेपाल त कहिले दिल्ली बस्दै आएका थिए । 

मोहम्मद हत्याको व्यवस्थापनमा भाडाको  मोटरसाइकल, हत्यामा प्रयोग स्कुटर अझै फेला परेन
काठमाडौंको कलंकीमा बालकृष्ण महर्जनले सञ्चालन गरेको माँ अन्नपूर्ण रिकन्डिसन मोटरसाइकल वर्कसप छ । लाल मोहम्मद हत्याका लागि आवश्यक व्यवस्थापन गर्न सोही वर्कसपबाट भाडामा लिइएको बा.६९ प २७८४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल प्रयोग भएको थियो । हत्याका व्यवस्थापक नितिनले प्रतिदिन एक हजार दुई सय रुपैयाँ भाडा बुझाउने गरी १७ भदौमा उक्त मोटरसाइकल लिएका थिए । तर, वर्कसपधनीलाई व्यक्तिगत कागजात भने केही पनि दिएका थिएनन् ।

धरौटीबापत पाँच हजार रुपैयाँ वर्कसपधनी महर्जनलाई दिएका थिए । तीन दिनका लागि भनेर लगेको मोटरसाइकल वर्कसपनजिकैको मोटरसाइकल वासिङ सेन्टरमा छाडेर हिँडेका थिए । महर्जनले २६ भदौमा उक्त मोटरसाइकल फेला पारेर लगेका थिए । अनुसन्धान प्रतिवेदनअनुसार मोहम्मद हत्याका लागि सूचना संकलन गर्न र आवश्यक व्यवस्थापन गर्न सोही मोटरसाइकल प्रयोग भएको थियो । 

घटनास्थलबाट प्राप्त सिसीक्यामेरा फुटेजअनुसार मोहम्मद हत्यामा प्रयोग भएका सुटर स्कुटरमा सवार थिए । अनुसन्धान प्रतिवेदनअनुसार मोहम्मद हत्याका मुख्य योजनाकार भारत रक्सौलका बब्लु पासवान भनिने गणेश कुमारले सुटरका रूपमा भने भारतीय नागरिक राजु भनिने दिनेश र गुड्डु पटेललाई प्रयोग गरेका थिए ।

घटनामा अर्का भारतीय नागरिक मोहम्मद नेजामुद्दिन पनि प्रयोग भएका थिए । हत्यापछि पनि उनीहरू स्कुटरबाटै फरार भएका थिए । तर, हत्याको चार महिना बितिसक्दा पनि उनीहरूले प्रयोग गरेको स्कुटर फेला पर्न सकेको छैन । यसबीचमा वीरगन्ज– १६ का २१ वर्षीय महोरम मियाँ र १७ वर्षीय रेहान मियाँ तथा मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई प्रहरीले पक्राउ गरिसकेको छ । हत्यामा प्रयोग भएको पेस्तोल पनि घटनास्थलबाटै बरामद गरेको थियो ।