१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
कान्चा इलैया सेफर्ड
२o८१ बैशाख ३१ सोमबार o९:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

धार्मिक आस्थाले भारतमा वैज्ञानिक चिन्तनलाई पछार्दै

Read Time : > 2 मिनेट
कान्चा इलैया सेफर्ड
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४६:oo

देश/विदेश

धार्मिक आस्थाले शिक्षामा मुख्य भूमिका खेल्न थालेपछि विवेकले वैज्ञानिक प्रयोगशालामा काम गर्न सक्दैन, किनभने यसले प्रयोग एवं परीक्षण निषेध गर्छ

सन् २०१४ मा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) समर्थित भारतीय जनता पार्टी (भाजपा) केन्द्र सरकारमा आएपछि र तत्पश्चात् राज्यहरूमा फैलिँदा विज्ञान र धार्मिक आस्थाबीचको द्वन्द्व राष्ट्रिय बहसको केन्द्र बनेको छ । आफूलाई धार्मिक भनेर चिनाउने हिन्दू होस् वा मुसलमान, जोसुकैले पनि धार्मिक आस्थामाथि हुने आलोचनालाई तुरुन्तै राजनीतिक रंग दिने गर्छन् । मुलुकमा धार्मिक भावना आहत भयो भनेर हुने कानुनी मुद्दा कैयौँ गुणाले बढेका छन् । धार्मिक आस्थालाई राष्ट्रको मार्गदर्शक सिद्धान्तका रूपमा चित्रण गरिँदा विज्ञानलाई मानवीय विचारका रूपमा गम्भीरतापूर्वक लिइँदैन र वैज्ञानिक सोचलाई राष्ट्रवाद प्रतिकूल मानिन्छ । 

यो विचार मुलुकको आमधारणा हो भन्ने तथ्य स्थापित हुँदै जाँदा यही ३ जनवरीका दिन विज्ञान सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले थप नवप्रवर्तनको अनुसन्धान उत्पादन गर्नुपर्छ भनेर बताएका छन् । यदि उनले आफ्ना समर्थकलाई धार्मिक आस्थाको प्रतिनिधि भएर हरेक विज्ञान र धार्मिक आस्थाका विवादमा सामेल नहुन सचेत नगराउने हो भने नवप्रवर्तन कसरी सम्भव हुन्छ ? जब विज्ञान र धार्मिक आस्था बाझिन्छन्, हामीले आरएसएस–भाजपा नेता वा कार्यकर्तालाई विज्ञानको पक्षमा उभिएको देखेका छैनौँ । र, आरएसएस–भाजपाको श्रेणीगत संरचनामा व्यक्तिगत विचारको कुनै महत्व छैन । पाकिस्तान, अफगानिस्तान वा अरब संसारका नेता विज्ञानमा आधारित कुनै विचारधारालाई मान्दैनन् । वर्तमान प्रवृत्ति जारी रह्यो भने भारत केवल धार्मिक आस्थामा निहित रहेको र विज्ञान अस्वीकार गर्ने मुलुक बन्न बेर छैन ।  

धर्मलाई राष्ट्रवादी र वैज्ञानिक विचारलाई राष्ट्रविरोधी भनेर चित्रण गर्ने प्रवृत्ति पछिल्ला वर्षमा बढेको छ । विडम्बना, सत्तारुढ भाजपाले भारत चाँडै चीन र पश्चिमा मुलुकसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेतर्फ प्रगति गरिरहेको दाबी गरेका छन् । तर, सत्तारुढ भाजपासँग जोडिएकाहरू नै वैज्ञानिक अनुसन्धान र बालबालिका एवं युवामाझ आलोचनात्मक चेतनाको अन्त्य गर्नु भारतीय सभ्यताको एक आवश्यक अवयव हो र भारतलाई अगाडि बढाउन आवश्यक हो भन्ने विश्वास गर्छन् । अर्थात् सत्तारुढ भाजपाले भारतलाई वैज्ञानिक चिन्तनलाई धर्मनिन्दा हो भन्ने उग्र–दक्षिणपन्थी राष्ट्रसँग प्रतिस्पर्धा गराइरहेको भान हुन्छ । 

यस क्रममा मानव जीवन वैज्ञानिक प्रक्रियाबाट सिर्जना हुन्छ र बाल्यकालमा वैज्ञानिक हेरचाहको सहायताले विकास र विस्तार हुन्छ भन्ने तथ्यलाई बिर्सिने प्रवृत्ति बढ्दो छ । उदाहरण, नवजात शिशुलाई दूध वा अन्य खानेकुरा खुवाउन विज्ञानको आवश्यकता पर्छ । बच्चाले स्तनपान गरेदेखि ठोस खाना नखाएसम्म धार्मिक आस्था बच्चाको जीवनमा प्रवेश गर्दैन । आमाबाबुको धार्मिक व्यवहार देखेर वा गुरुकुल अथवा मदरसाबाट दिइने परम्परागत शिक्षाजस्ता विशेष शिक्षा हासिल गरेर बच्चामा धार्मिक आस्था निर्माण हुन थाल्छ । यी शैक्षिक संस्थालाई वैज्ञानिक शिक्षा के हो भन्ने थाहा हुँदैन । तर, आधुनिक विद्यालय प्रणाली भिन्न छ ।

विज्ञान र धार्मिक शिक्षाको सानो हिस्सा दुवै आधुनिक विद्यालय प्रणालीमा समाहित छन् । यदि धार्मिक आस्थाले शिक्षामा मुख्य भूमिका खेल्छ भने मानव विवेकले वैज्ञानिक प्रयोगशालामा काम गर्न सक्दैन, किनभने धार्मिक आस्थाले प्रयोग एवं परीक्षण गर्न निषेध गर्छ । बलियो धार्मिक झुकाव भएको वर्तमान राजनीतिक प्रवृत्ति वैज्ञानिक प्रयोग एवं परीक्षणका लागि खुला छैन । लामो समयसम्म राष्ट्रवादमा धर्म प्रमुख शक्तिका रूपमा रहन्छ भने भारत अवश्यम्भावी रूपमा मध्ययुगमा पुग्नेछ । वैज्ञानिक चिन्तन गैरभारतीय वा राष्ट्रविरोधी हो भन्ने दलिलका साथ दक्षिणपन्थी समूहले भारतीयलाई वैज्ञानिक रूपमा सोच्न निषेध गर्ने कानुन ल्याउने सम्भावना देखिन सक्छ । दिनानुदिन विवेक आदिम नियन्त्रणतर्फ अग्रसर छ । 

औसत भारतीय मतदाताका लागि धार्मिक आस्थामा आधारित गैरवैज्ञानिक जीवनशैली नै एक मात्र जीवनशैली बन्नेछ । हामी रुस वा पश्चिम एसियाबाट तेलको पाइपलाइनमा आश्रित भएझैँ पश्चिमी आपूर्ति शृंखला चलिरहँदासम्म पश्चिमको वैज्ञानिक सोचबाट उत्पन्न विज्ञान, इन्जिनियरिङ, चिकित्सा वा प्रविधि प्रयोग गर्न सक्नेछौँ । जब पश्चिमा वैज्ञानिक सोच हाम्रो पहुँचमा पुग्न बन्द हुन्छ, हामी अदिमतातर्फ फर्किन थाल्छौँ र यसलाई महान् भारतीय सभ्यताका रूपमा पुष्टि गर्न थाल्छौँ । यो अवस्था आउनु अवश्यम्भावी छ, किनभने हाम्रा बालबालिकालाई आलोचनात्मक चिन्तन राख्न अनुमति छैन । कलिलो दिमागले आफ्नो र अरूको जीवन अभ्यासलाई प्रश्न गर्न अनुमति दिँदैन भने हामी कहाँ पुग्छाैँ र ? 

हाम्रा छोराछोरीले टिभी र पत्रपत्रिकामा आलोचनात्मक विचारमाथि आक्रमण भइरहेको उनीहरू आफ्ना बुबा वा आमा पुस्ताले घृणा गर्ने मानिसजस्तै सोच्न हुँदैन भनेर सिक्न थाल्छन् । यी बालबालिका विज्ञानलाई घृणा गर्दै धार्मिक आस्थामा समर्पित हुनेछन् । सामान्य प्रशिक्षणमार्फत आममानिसका घरबाट एक इन्जिनियर, डाक्टर वा तथाकथित वैज्ञानिक उत्पादन हुन सक्छन् । तर, यी घरमा आलोचनात्मक र आविष्कारशील दिमागको निर्माण हुने सम्भावना कम हुन्छ । अर्थात्, कारखाना, अस्पताल वा प्रयोगशालामा नवप्रवर्तन हुनेछैन । यस्तो वातावरणमा केवल आरएसएस–भाजपा समर्थित धर्मउन्मुख विचारधारालाई मात्रै स्वीकार गरिनेछ । जब सन्तको मात्र प्रशंसा हुन्छ र जमिन जोत्नेको प्रशंसा हुँदैन या धर्मगुरुको मात्र प्रशंसा हुन्छ र विज्ञान शिक्षकको हुँदैन, तब बालबालिका कसबाट प्रेरित हुने ? अन्य मुलुकले आफ्नो वैज्ञानिक जग बलियो बनाउन काम गरिरहेका वेला सत्तारुढ आरएसएस–भाजपाका नेता र कार्यकर्ता मुलुकलाई धार्मिक आस्थातर्फ डोर्‍याइरहेका छन् । 

(सेफर्ड राजनीतिक सिद्धान्तकार, सामाजिक अभियन्ता एवं लेखक हुन्) 
द न्युज मिनेटबाट

 

ad
ad