Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
आन्द्रे कुर्काेभ
२०७९ पौष २३ शनिबार १५:४०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

देशभक्ति र राष्ट्रवादबीचका बन्दी

Read Time : > 3 मिनेट
आन्द्रे कुर्काेभ
२०७९ पौष २३ शनिबार १५:४०:००

यो वर्षको फेब्रुअरीयता म आफ्नो पहिचानका बारेमा धेरै घोत्लिएको छु। म आफूलाई युक्रेनी मान्छु त म एक रुसी जाति हुँ, मेरो मातृभाषा रुसी हो र म लेख्छु पनि रुसी भाषामा। मेरो पहिचानको यो तत्वले साँढेलाई रातो कपडा देखाउँदा साँढेले जस्तो प्रतिक्रिया देखाँउछ, मेरा केही युक्रेनी बुद्धिजीवी पनि त्यस्तै प्रतिक्रिया देखाउँछन्।

फलस्वरूपः म आफूलाई आफ्नो राष्ट्रभक्ति एवं युक्रेनी पहिचान र राष्ट्रवादको वर्तमान शक्तिशाली लहरको बीचमा फसेको पाउँछु। यो राष्ट्रवाद यो मुलुकको विभाजनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जतिकै आतुर देखिन्छ ।

मेरा चिरपरिचित र अपरिचितहरूले पनि मलाई युक्रेनी भाषामा लेख्न सुरु गर्न आग्रह गरेको ३० वर्षभन्दा अघिदेखि नै आग्रह गरिरहेका छन्। कहिलेकाहीँ म मातृभाषामा लेख्छु र यो मेरो अधिकार हो भन्ने जवाफलाई उनीहरू सहजै स्विकार्छन्। कहिलेकाहीँ म असहिष्णुता र विरोधको सामना गर्छु। यद्यपि, यी सवाल जवाफ अक्सर सौहार्दपूर्ण नै हुने गर्छन्। यसैगरी, सामाजिक सञ्जालमा केही अनाम प्रयोगकर्ता मलाई युक्रेनी नभई रुसी लेखक भन्दै पोस्ट गर्छन्।

यदि मेरो रुसी भाषा र मूललाई छिपाउन सम्भव हुन्थ्यो नै भने पनि सामाजिक सञ्जालमा को सच्चा युक्रेनी, को ठीकठाकैको युक्रेनी र कोचाहिँ युक्रेनी नै होइन भनेर फैसला सुनाउन उल्लेख्य समय बिताउने युक्रेनीहरूले मलाई न्यानो स्वागत गर्ने थिए भन्नेमा मलाई शंका छ।

युक्रेन आफैँमा एक जटिल चरित्र र इतिहास भएको सुन्दर मुलुक हो। यहाँका हरेक जनताले हृदयमा युक्रेनी राज्यबारे आफ्नै छवि निर्माण गरेका छन्। हरेकले आफैँले निर्माण गरेको छविलाई सही ठान्छन्। अर्काे शब्दमा भन्दा, हाम्रो समाज व्यक्तिवादी समाज हो। म यसको प्रमाण अनेकन अन्तरविरोध र विरोधाभाषसहितका न्याय मन्त्रालयमा दर्ता सयौँ राजनीतिक दलको संख्यामा देख्छु।

यसबाहेक, युक्रेनमा दर्जनौँ राष्ट्रवादी समूह छन् जो ‘सही राष्ट्रवाद’को परिभाषा गर्ने प्रयासमा एकअर्कासँग अक्सर भिडिरहेका हुन्छन्। तर, यी राष्ट्रवादी समूहको युक्रेनी संसदमा कुनै प्रतिनिधित्व छैन किनभने सन २०१९को चुनावमा एउटा पनि राष्ट्रवादी राजनीतिक दलले आवश्यक पाँच प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन्। संसदमा प्रतिनिधित्व नभएकोले यी समूहको वास्तविक राजनीतिक शक्ति कति छ भनेर आकलन गर्न गाह्रो छ।

युक्रेनी राष्ट्रप्रेम राष्ट्रवादका तुलनामा बढी विशिष्ट छ। राष्ट्रभक्तको मापदण्डले युक्रेनी भाषा मात्रै प्रयोग गर्नुपर्छ भन्दैन। अधिकांश क्राइमियन तातर रुसी भाषा बोल्छन् र यिनको मूलभूमि क्राइमियन तातर हो तैपनि क्राइमियन तातर अभियन्तालाई रुसी सुरक्षा संयन्त्रले तारो बनाउँछन्। अनि, यी समुदायको राष्ट्रभक्तिमाथि कसैले प्रश्न उठाउँदैन।

म पनि एक राष्ट्रभक्त हुँ। हरेक आयामबाट मेरो चरित्र युक्रेनी आदर्शसँग मेल खान्छ। म बहुसंख्यकको मत सुन्दिनँ। मेरा लागि धन र स्थायित्वभन्दा स्वतन्त्रता विशेषतः वाक र सिर्जनशीलताको स्वतन्त्रता पैसा र समृद्धिभन्दा निकै प्यारो छ। मलाई यो सरकार मन पर्दैन र मलाई सरकारको आलोचना गर्न कुनै किसिमको डर लाग्दैन। अझै भन्ने हो भने मैले युद्ध अगाडिका समयसम्म राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समर्थन गर्थिनँ, उनलाई चुनावमा मत दिएको पनि होइन। तर, अहिले भने म जेलेन्स्कीलाई समर्थन गर्छु ।

युक्रेन एक स्वतन्त्र राज्यका रूपमा मेरो आँखासामु नै परिपक्व बनेको हो। म सोभियत युक्रेनमा करिब ३० वर्ष बसे र त्यसपछि स्वतन्त्र युक्रेनमा ३१ वर्षदेखि जीवन व्यथित गरिरहेको छु। सोभियत संघ विघटनपछिको युक्रेनी साहित्य एवं संस्कृतिको जीवन मात्रै फर्केको छैन, यी मौलाएका पनि छन्। अनि अहिले नयाँ युक्रेनीको एकदमै भिन्न युरोपेली पुस्ता तन्नेरी भैसकेको छ, जसलाई सोभियतका हरेकका कुरा पराया लाग्छन् ।

युक्रेनी भाषा र यो भाषामा लेखिएका साहित्य यो नयाँ पुस्तामाझ लोकप्रिय छ । मेरो पुस्तक ‘जिम्मी हेन्ड्रिक्स लाइभ इन एलभिभ’ युक्रेनमा रुसी र युक्रेनी दुवै भाषामा सन् २०१२मा एकैसाथ प्रकाशित भएको थियो । मैले त्यो बेलै युक्रेनी भाषामा लेखिएका पुस्तक रुसी भाषामा लेखिएका पुस्तकको तुलनामा बढी बिक्री हुने थालेको थाहा पाएको हुँ । त्यसयता युक्रेनी भाषामा अनुदित मेरा पुस्तकले बजारमा मौलिक रुसी भाषाको संस्करणलाई उछिन्दै आएको छ । युक्रेनमा रुसी भाषाको स्थान घट्दो क्रममा छ र साँच्चीभन्दा म यसबाट दुःखी छैन । नयाँ पुस्ताका युक्रेनी रुसी भाषा पढ्ने अभिरुची घट्दो छ अर्थात् रुसी भाषामा लेखिएका पुस्तक किन्ने क्रम घटेको छ।

गत फेब्रुअरीमा मैले आफ्ना पुस्तकलाई (रुसी भाषामा लेखिए पनि) रुसी भाषा मा प्रकाशन नगर्ने निर्णय गरे । यी पुस्तक युक्रेनी, फ्रेन्च, अंग्रेजीलगायतका भाषामा प्रकाशित होउन भन्ने चाहन्छु । सन २०१४देखि रुसका पुस्तक पसललाई पनि युक्रेनबाट पुस्तक आयात गर्न प्रतिबन्ध लगाइएको छ । सन २००५मा जब मैले अरेन्ज रेभोल्युसनमा सहभागिता जनाए तब पहिलोपटक रुसमा मेरो पुस्तक प्रकाशनमा रोक लाग्यो । दोस्रोपटक सन २००८मा एक सानो ‘झमेला’पछि मेरा कैयौँ उपन्यासको पुनःप्रकाशनमा रोक लागेको थियो । एक लेखकका हैसियतमा मेरो उपस्थिति रुसमा छैन भन्ने यथार्थलाई मैले आत्मसात गरिसकेको थिए । रुसमा मेरा पाठक पनि छैनन र यसमा मलाई पछुतो पनि छैन । यो राष्ट्रवाद नभई एक राष्ट्रभक्तिको आदर्श हो । यति हुँदाहुँदै पनि धेरैको चित्त बुझेको छैन ।

हालैमा फेसबुकको युक्रेनी तप्कामा रुसी भाषालाई दिनानुदिन ‘शत्रु भाषा’को संज्ञा दिइँदै छ। भाषिक द्वन्द्व राजनीतिकको विषय बन्दै गएको छ । सन २०१४ को युद्ध सुरु हुनुअघि पनि युक्रेनी भाषाका पक्षधर युक्रेनमा रुसी भाषा र रुसी प्रभावका विरुद्ध लड्थे । तर, अहिलेको सैन्य आक्रमणले यो बहसबाट रुसी भाषाका अनुयायीहरूको आवाज नामेट पारिदिएको छ । क्रेमलिनका कदमले हाम्रो जस्तो व्यक्तिवादी राष्ट्रमा असम्भवजस्तो देखिने नतिजा निक्लिँदै गरेको देखिन्छ : रुसी–भाषी युक्रेनी एकाएक युक्रेनी–भाषीमा परिवर्तित हुन लालायीत हुँदै छन् ।

विडम्बना पुटिनले सधैँ रुसी भाषी युक्रेनीलाई यो युद्धको लागि ‘जिम्मेवार’ ठहर्याएका छन् अर्थात् उनको ‘विशेष सैन्य कारबाही’को उद्देश्य प्रतिकूल विदेशी भूमिमा रुसी–भाषी जनताको अस्तित्वको रक्षा गर्नु रहेको छ । अहिले केही युक्रेनी बुद्धिजीवी रुसी–भाषी युक्रेनीलाई आंशिक रूपमा युद्धका लागि जिम्मेवार ठहर्याइरहेका छन् । तिनका अनुसार यदि युक्रेनमा रुसी भाषी हुँदैन थिए भने युद्ध नै हुने थिएन । मेरा लागि पुटिन र यी राष्ट्रवादी एउटै सिक्काका दुई पाटा हुन् ।

वास्तविकता के हो भने युक्रेन सधैँ नै एक दर्जनभन्दा बढी जातीय समूह भएको बहुसांस्कृतिक राष्ट्र हो र सधैँ रहनेछ । यो राष्ट्रका विविध बहुसंख्यक अहिले युक्रेनी समाजमा देखापरेको राष्ट्रिय आदर्शवादी र राष्ट्रभक्त यथार्थवादीबीचको मतभेदमा फसेका छन् ।

(कुर्काेभ लेखक, पत्रकार र पेन युक्रेनका बहालवाला अध्यक्ष हुन् । उनको पछिल्लो पुस्तक ‘डाइरी अफ एन इन्भेजन’ प्रकाशित छ ।)