Skip This
‘फिक्सिङ’बारे आइसिसीले थाल्यो छानबिन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Tuesday, 13 May, 2025
राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग छलफल गर्दै आइसिसीका पदाधिकारी  । तस्बिर सौजन्य : राखेप
रमेश सुवेदी काठमाडौं
२o७९ पौष २२ शुक्रबार o६:१४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘फिक्सिङ’बारे आइसिसीले थाल्यो छानबिन

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार o६:१४:oo

- स्पट तथा म्याच फिक्सिङको अनुसन्धान गर्न आइसिसी इन्टिग्रिट अफिसर एन्ड्रयु एफग्रेभ र सन्नी काठमाडौंमा

- आइसिसीका प्रतिनिधिले बिहीबार खेलाडी, अम्पायर, क्यान पदाधिकारी, सिआइबी र राखेपका सदस्यसचिवसँग स्पट फिक्सिङ र म्याच फिक्सिङबारे लिए जानकारी 

नेपाल टी–२० क्रिकेट लिगमा भइरहेको स्पट र म्याच फिक्सिङबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छानबिन थालेको छ । यसका लागि आइसिसी इन्टिग्रिट अफिसर एन्ड्रयु एफग्रेभ र सन्नी बिहीबार काठमाडौं आएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि आइसिसीले छानबिन थालेको पुष्टि गरे । क्यानले छानबिनमा पूर्ण रूपले सहयोग गर्ने उनले बताए । ‘स्पट फिक्सिङ र म्याच फिक्सिङको सन्दर्भमा जे–जति प्रश्न उठेका छन्, त्यसबारे आइसिसीले नै छानबिन थालेको छ । छानबिनमा क्यानले आवश्यक कागजपत्र र सूचनालगायत उपलब्ध गराउँछ,’ चन्दले नयाँ पत्रिकासँग भने, ‘क्यान प्रतिबद्धताका साथ आइसिसीलाई सहयोग गर्छ ।’

लिगका नेपाली कमेन्टेटर सचिन तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रतियोगितामा फिक्सिङ भइरहेको खुलासा गरेका थिए । आफूले क्यानका पदाधिकारीलाई त्यसबारे जानकारी गराउँदा  पनि कुनै सुनुवाइ नभएको भन्दै उनले लिगको कमेन्ट्री नै छाडेका थिए । त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि पत्रकार सम्मेलनमै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए ।

लिगका यी घटना सार्वजनिक भएपछि आइसिसीले छानबिन गर्न आफ्ना दुई पदाधिकारीलाई काठमाडौं पठाएको हो । दुई दिनभित्र एन्ड्रयु र सन्नीलाई विस्तृत अध्ययन र अनुसन्धान गर्न निर्देशन दिइएको छ । एन्ड्रयु आइसिसीको एन्टी करप्सन युनिट (एसियू)का सिनियर इन्टिग्रिटी अफिसर हुन् । सन्नी आइसिसीका प्रतिनिधिका रूपमा छानबिन गर्न आएका छन् ।

एन्ड्रयु र सन्नी बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । आइसिसीका प्रतिनिधि विमानस्थलबाट सीधै त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगे । उनीहरूले मैदानमा खेलाडी, अफिसियल र अम्पायरसँग स्पट फिक्सिङ र म्याच फिक्सिङबारे छलफल गरे । ‘उहाँहरूले बिहानै मैदानमा खेलाडी, अफिसियल, अम्पायरसँग छलफल गर्नुभएको थियो,’ क्यान स्रोतले नयाँ पत्रिकालाई भन्यो, ‘छोटो समयमै उहाँहरूले खेलस्थलको वातावरण बुझ्नुभयो ।’ 

त्यसपछि एन्ड्रयु र सन्नीले क्यानका अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग भेट गरे । जमलको एक होटेलमा बिहान ११ बजे एन्ड्रयु र सन्नीसँग वार्ता भएको अध्यक्ष चन्दले बताएका छन् । ‘हामीबीच एक घन्टा छलफल भयो, हामीले आइसिसीका प्रतिनिधिहरूलाई नेपाल टी–२० लिगको पछिल्लो विवाद र घटनासम्बन्धी सबै जानकारी दियौँ,’ चन्दले भने, ‘उहाँहरूलाई हामीले सबै किसिमको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता गरेका छौँ ।’ 

क्यानसँगको भेटपछि आइसिसी टोली महाराजगन्जस्थित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेको छ । जमलदेखि महाराजगन्जसम्म एन्ड्रयु र सन्नीलाई नेपाल टी–२० लिगअन्तर्गतको एन्टी करप्सन युनिट (एसियू)का वीर सिंहले पुर्‍याएका थिए । आइसिसीका पदाधिकारी र सिआइबीबीच छोटो वार्ता भएको क्यान स्रोतले बतायो । ‘सिबिआईमा के कस्तो छलफल भयो, हामीलाई थाहा भएन, तर स्पट फिक्सिङ र म्याच फिक्सिङमा पूर्ण रूपले सहयोग गर्ने भनिएको छ,’ क्यान स्रोतले भन्यो ।

सिबिआईका अफिसरसँगको वार्तापछि आइसिसीका प्रतिनिधिले दिउँसो २ बजे नेपाली खेलकुदकै सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँग भेट गरेका थिए । सदस्यसचिव घिसिङसँगको छलफलमा राखेपको अनुसन्धानमा एन्टिग्रिटी अफिसरले पूर्ण सहयोग हुने प्रतिबद्धता दिएका छन् । ‘उहाँहरूले छानबिन कार्यमा सहयोग गर्छु भन्नुभएको छ,’ राखेप स्रोतले नयाँ पत्रिकासँग भन्यो । ‘आइसिसी प्रतिनिधिहरूले स्पट र म्याच फिक्सिङको विषय र अनुसन्धान गर्ने तरिका बताउनुभएको थियो,’ स्रोतले भन्यो, ‘राखेपले समेत छानबिन समिति गठन गरेको हुँदा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता छ ।’

नेपाल टी–२० लिगमा सम्भवतः भइरहेका स्पट फिक्सिङको बारेमा खेलाडीले नै खुलासा गर्नु र सिबिआईले अनुसन्धान प्रक्रिया अगाडि बढाएपछि बुधबार राखेपले पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो । राखेपले यस कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । 

क्यानले बुधबारै विज्ञप्ति जारी गर्दै नेपाल टी–२० लिगको विवादको प्रतिरक्षा गरेको थियो । ‘लिगमा स्पट र म्याच फिक्सिङ नभएको र अफवाह फैलाइएको हो,’ क्यानको विज्ञप्तिमा भनिएको छ । क्यानका अध्यक्ष चन्दले छानबिनको सबै जिम्मा एसियूसँग रहेको बताएका छन् । ‘छानबिनको काम एसियूले गर्छ । हामीलाई कुनै खेलाडी, टोली पदाधिकारीले फिक्सिङ गरे या शंका लागेका एसियूलाई सूचना दिन्छौँ,’ उनले भने । 

यसैबीच, सिआइबीले क्यानका अध्यक्ष चन्द र क्रिकेट म्यानेजर विनोद दासलाई क्रिकेट विवादसम्बन्ध जानकारी लिन बोलायो । गृह मन्त्रालयको निर्देशनमा सिआइबीले नेपाल टी–२० लिगको अनुसन्धान गरिरहेको छ । सिबिआईले यसै अनुसन्धानकै लागि क्यानसँग सहयोग मागेको हो । ‘सिआइबीले स्पट र म्याच फिक्सिङको जानकारी लिन हामीलाई बोलाएको हो,’ चन्दले भने ।

क्यानको खातामा ९६ लाख रुपैयाँ जम्मा
लिग सञ्चालनको आधिकारिक जिम्मेवारी पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्ले क्यानको खातामा ६० लाख भारु (९६ लाख नेपाली रुपैयाँ) जम्मा गरेको छ । भारतीय कम्पनीले पूर्वसम्झौताअनुसारै क्यानको खातामा रकम भुक्तानी गरेको हो । विनाजानकारी सेभेन थ्री स्पोर्टस् गत मंगलबार भारततर्फ लागेको थियो । क्यान अध्यक्ष चन्दले बाँकी केही रकम चाँडै प्राप्त हुने बताए । ‘उहाँहरूले बिहीबार हाम्रो खातामा भारु ६० लाख पठाउनुभएको छ । बाँकी रकमसमेत चाँडै पठाउने प्रतिबद्धता गर्नुभएको छ,’ चन्दले नयाँ पत्रिकासँग भने । क्यानले आठ वर्षका लागि ३३ करोडमा सेभेन थ्री स्पोर्टस्लाई प्रतियोगिता बेचेको थियो । पहिलो सिजनबापत भारतीय कम्पनीले क्यानलाई तीन करोड ९० लाख रुपैयाँ दिनुपर्छ । यसअघि क्यानले एक करोड २० लाख रुपैयाँ पाइसकेको छ ।