१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:४२:oo

बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका छन्। प्रदेश प्रमुख शर्माले पुस २५ गतेभित्र सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन्।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। अब दलहरूले सरकार गठनको लागि आह्वान भएको दिनदेखि पाँच दिनभित्र अर्थात् पुस २५ गते अपराह्न ४ बजेभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्नुपर्नेछ।

बागमती प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूसँगको सहकार्यमा सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुख शर्माका स्वकीय सचिव पारशमणि फुँयालले जानकारी दिए।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका स्वकीय सचिव फुँयालले बताए। प्रदेश प्रमुख कार्यालय हेटौँडाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति गत मंसिर २८ गतेलाई आधार मानेर सरकार गठनका लागि आह्वान गरेको हो।

एक सय १० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३७ सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा पनि ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्ने सम्भावना छ। अहिलेसम्म एमाले, माओवादी र राप्रपा मिलेर बागमती प्रदेशमा सरकार बनाउने तयारी भइरहेको छ। बागमती प्रदेशमा मुख्यमन्त्री कसले पाउने भन्ने विषय अहिलेसम्म टुंगो लागिनसकेको अवस्थामा सबै दलहरूले आ–आफ्नै दाबी गर्दै आएका छन्।

ad
ad