Skip This
रौतहटका स्वास्थ्य संस्थामा औषधि अभाव 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Saturday, 27 July, 2024
२o७९ पौष २० बुधबार १७:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रौतहटका स्वास्थ्य संस्थामा औषधि अभाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार १७:५o:oo

रौतहटका स्वास्थ्य संस्थामा राज्यले तोकेका निःशुल्क औषधिको अभाव भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क दिने भनेका औषधिसमेत पाउन छाडेपछि सर्वसाधारण मेडिकलबाट महँगो शुल्कमा औषधि किनेर खान बाध्य भएका छन्।

चन्द्रपुर नगरपालिकाले नगरभरिका स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिहरूसमेत उपलब्ध गराउन नसकेका कारण स्वास्थ्य चौकीहरू सिटामोल वितरण गरेर बस्न बाध्य भएका छन्। 

चन्द्रपुर नगरपालिका- ९ मा रहेको डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पण्डितले नगरपालिकाको स्वास्थ्य शाखाले सर्वसाधारणले पाउने निःशुल्क औषधिसमेत नपठाएकाले समस्या भएको बताए।

डुमरिया स्वास्थ्य चौकीमा औषधिको नाममा सिटामोल मात्र रहेको पण्डितको भनाइ छ। नगरपालिकाको स्वास्थ्य शाखाले औषधि आज आउँछ भोलि आउँछ भनेको ३ महिना बित्दासमेत औषधि नआएको पण्डितले गुनासो गरे।

चन्द्रपुर नगरपालिकाको डुमरिया स्वास्थ्य चौकीमा मात्र औषधि अभाव नभएर सबैजसो स्वास्थ्य चौकीमा नगरपालिकाको स्वास्थ्य शाखाले औषधि नपाएका कारण आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण मेडिकलबाट महँगो शुल्क तिरेर औषधि सेवन गर्न बाध्य भएका छन्।

नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधि निःशुल्क पाउने बताएको भए पनि रौतहटका स्वास्थ्य संस्थामा सामान्य ज्वरो र रुघाखोकीको औषधिसमेत सर्वसाधारणले पाउन छाडेका छन्।

चन्द्रपुर नगरपालिकाको वडा नं १० मा रहेको स्वास्थ्य चौकीमा समेत सिटामोलबाहेकको औषधि नभएको सो स्वास्थ्य चौकीका अहेव गोपालप्रसाद रामले बताए।

चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजेशकुमार ठाकुरले आफूहरू औषधि खरिदको प्रक्रियामा रहेको र आवको एक हप्तामा नगरका सबै स्वास्थ्य शाखामा औषधि पुग्ने बताए।

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीको अभाव भएपछि सर्वसाधारण महँगो शुल्क तिरेर निजी अस्पताल र मेडिकलमा उपचार गराउन बाध्य भएका छन्।

स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा उपाचारमा आएका बिरामीहरूलाई सामान्य औषधि पनि दिन नसकेको सरकारी स्वास्थ्य संस्थाका कर्मचारीहरूको भनाइ छ।

साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका बिरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको अहेव रामले बताए। ‘बिरामीहरू औषधि खोज्छन्, दिन सकिएको छैन, उनीहरूलाई सम्झाएर पठाउनै गाह्रो भो,’ उनले भने।

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा मात्र हैन जिल्लाभरकै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क दिने भनिएका औषधिहरू उपलब्ध छैनन्।

चन्द्रपुर नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाउने आशामा उपचार गराउन जाने गरिब तथा विपन्नहरूलाई सकारी स्वास्थ्यकर्मीले आफूहरूकोमा औषधि नभएको भन्दै निजी अस्पताल र मेडिकलमा पठाउने गरेको स्थानीय बासिन्दा विनोद चौधरीले बताए।