Skip This
देशैभर राहदानी वितरण ठप्प, १० हजार आवेदन ‘पेन्डिङ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Monday, 17 June, 2024
२o७९ पौष २० बुधबार o७:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

देशैभर राहदानी वितरण ठप्प, १० हजार आवेदन ‘पेन्डिङ’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार o७:१o:oo

देशैभर राहदानी वितरण ठप्प भएको छ । सर्भरमा समस्या आएको भन्दै १७ पुसदेखि राहदानी विभागले छपाइ र वितरण ठप्प पारेको हो । फाराम भर्न मिले पनि सर्भर सिस्टम बिग्रिँदा सेवाग्राहीले विवरण प्रमाणीकरण र छपाइसम्बन्धी सेवा पाइरहेका छैनन् । यही कारण देशभरका जिल्ला प्रशासन कार्यालय र विभागको ‘वेबसाइट’मा दर्ता भएका १० हजारभन्दा बढी आवेदन फाराम पेन्डिङमा रहेका छन् । आवेदन भरे पनि अन्य काम गर्न सर्भर बिग्रिएकाले सेवा ठप्प भइरहेको विभागकी प्रवक्ता दुरपदा सापकोटाले बताइन् । विभागको सर्भर आइडी मिया नेटवर्क कम्पनीले मर्मत गर्दै आइरहेको छ । समस्या आएपछि कम्पनीले मर्मत थालेको उनले बताइन् । तर, समस्या पत्ता नलाग्दा सेवा नै रोक्नुपरेको प्रवक्ता सापकोटाको भनाइ छ । ‘हामीले आइटी कम्पनीलाई सर्भर प्रणाली छिटोभन्दा छिटो मर्मत गर्न भनेका छौँ । उहाँहरूले समस्याबारे अध्ययन–अनुसन्धान गर्दै हुनुहुन्छ,’ उनले भनिन्, ‘पेन्डिङ फाराम धेरै भएकाले थप निवेदन दर्ता रोकेका छौँ ।’ 

१३ पुसमा विभागको अनुगमनमा पुगेका गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई राहदानी वितरण सहज बनाउन निर्देशन दिएका थिए । उनले अनुगमन र निर्देशन दिएको दुई दिनपछि राहदानी वितरण ठप्प बन्नुलाई कतिपय सर्वसाधारणले संयोग मात्रै ठानेका छैनन् । हुन त यसअघि पनि विभागको सर्भरमा वेलावेलामा समस्या आइरहन्थ्यो । तर, सेवा नै ठप्प भएको  रेकर्ड थिएन । फरक मन्त्रालयका मन्त्रीले अचानक विभाग पुगेर काम गरिरहेका कर्मचारीमाथि अनावश्यक निर्देशन दिएको भन्दै विभागका कर्मचारीले १७ पुसदेखि राहदानी सेवा ठप्प पारेको स्रोतको भनाइ छ । विभागमा कार्यरत एक कर्मचारीका अनुसार १३ पुसमा मन्त्री लामिछानेले करिब साढे दुई घन्टा विभागका कर्मचारीलाई निर्देशन दिएका थिए । राहदानी वितरणमा विभागमा भइरहेको चलखेल आफूले राम्ररी बुझेको भन्दै सर्भर र सफ्टवेयर अडिट गर्ने बताएका थिए । यसैबीच १७ पुसमा विभागका प्रवक्ता सापकोटाले सिस्टममा समस्या आएको भन्दै अनिश्चितकालका लागि राहदानी सेवा बन्द भएको सूचना जारी गरेकी थिइन् ।

गृहमन्त्रीको अनुगमन र सर्भर बिग्रिनु संयोग मात्रै : राहदानी विभाग
राहदानी विभागले सक्दो सेवा प्रवाह गरिरहेको जनाउँदै आएको छ । ‘तर, मन्त्रीज्यूले अनावश्यक आरोप लगाउँदै निर्देशन दिनुभयो, त्यसले विभागमा कर्मचारीमा निराशा जगाएको छ,’ विभागका एक कर्मचारीले भने । ती कर्मचारीमा अनुसार एक वर्षअघि मात्रै जोडेको सर्भरमा यति छिटो समस्या आउँदैन । सर्भर प्रणालीमै समस्या देखाएर सेवा ठप्प पारिएको ती कर्मचारीको भनाइ छ । तर, प्रवक्ता दुरपदा सापकोटाले भने प्राविधिक समस्याले नै सेवा बन्द गरिएको दाबी गरिन् । ‘मन्त्रीज्यूले स्थानीय प्रशासनबाट राहदानी वितरणलाई सहज बनाउने भन्नुभएको छ । यो खुसीको कुरा हो,’ उनले भनिन्, ‘उहाँको अनुगमनले हामीलाई झन् हौसला मिलेको छ, उहाँ अनुगमनमा आएपछि सर्भर बिग्रनु संयोग मात्रै हो ।’ उनले जिल्लाहरूबाट पनि राहदानी वितरण प्रणालीलाई सहज बनाउन सके काठमाडौंमा भइरहेको भिड कम हुने बताइन् । राहदानी वितरणमा भइरहेको ढिलासुस्ती र सर्वसाधारणको सास्तीबारे बुझ्न गत बुधबार गृहमन्त्री लामिछाने राहदानी विभाग पुगेका थिए । सहसचिव र प्राविधिक टोलीसहित पुगेका उनले कर्मचारीसँग दुई घन्टा छलफल गरेका थिए । 

शंका गर्नुपर्दैन, नितान्त प्राविधिक समस्या हो : परराष्ट्र मन्त्रालय 
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्राविधिक समस्याका कारण विभागको सर्भर बिग्रिएको र शंका गर्नुनहुने बताइन् । जिल्ला–जिल्लामा राहदानी वितरण प्रणालीलाई सहज बनाउन सक्ने हो भने केन्द्रको भिड कम हुने उनको भनाइ छ । ‘गृहमन्त्रीज्यूले यसलाई चासोका साथ लिनुभएको छ,’ उनले भनिन्, ‘तर, पहिलेभन्दा राहदानी वितरण सेवा सुधार भएको छ ।’ प्राविधिक समस्या छिटो हल गरेर राहदानी वितरण सेवा सञ्चालन गर्न मन्त्रालयले विभागलाई निर्देशन दिएको उनले बताइन् । 

गृह मन्त्रालयको टोलीले थाल्यो सर्भर र अनलाइन सेवाको अनुगमन 
गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहको आइटीविज्ञसहितको टोलीले विभागको सर्भर प्रणाली र सफ्टवेयरबारे अध्ययन–अनुगमन सुरु गरेको छ । आइटी निर्देशक सुष्मा श्रेष्ठलगायत प्राविधिक टोलीले विभागको टेक्निकल सिस्टमको अध्ययन थालेको हो । मन्त्री लामिछानेले विभागको सर्भर सिस्टम अडिट गर्न टोलीलाई निर्देशन दिएपछि टोलीले काम थालेको हो । गृहका सहसचिव भीष्मकुमार भुसालले आइटी टोलीले काम गरिरहेको बताए । ‘अनुगमनका क्रममा भएको निर्णयअनुसार आइटी टोलीले काम गरिरहेको छ,’ उनले भने, ‘१७ पुसदेखि राहदानी वितरण सेवा ठप्प भएको सुनेका छौँ, यसबारे जानकारी लिन्छौँ ।’ टोलीले अध्ययन गरेर १५ दिनपछि गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्नेछ । 

ad
ad
ad
ad