मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७९ पौष १८ सोमबार ०६:२३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दैनिक एकतिहाइ भन्दा धेरै एनओसीका आवेदन ‘रिजेक्ट’

Read Time : > 2 मिनेट
२०७९ पौष १८ सोमबार ०६:२३:००

विदेश अध्ययनका लागि जान चाहने एकतिहाइभन्दा धेरै विद्यार्थीको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) आवेदन नै अस्वीकृत हुने गरेको छ । शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)को लापरबाही तथा विद्यार्थीको बेवास्ताका कारण दैनिक यति धेरै एनओसी आवेदन रिजेक्ट हुने गरेका हुन् । 

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार शैक्षिक परामर्श केन्द्रले एउटा विद्यार्थीको डकुमेन्ट (नागरिकता, सर्टिफिकेटलगायत) अर्कोको आवेदनमा राखिदिने, पूरा कागजात नराख्ने (मेडिकल अध्ययनका लागि आवश्यक अनुमति नै नलिने) तथा कोर्सको अवधि कम हुने गरेका कारण एनओसीको आवेदन रिजेक्ट हुने गरेको बताए । ‘विद्यार्थीले अनलाइनमा पठाएका डकुमेन्ट हेरेपछि कि त भेरिफाइड हुन्छ कि रिजेक्ट हुन्छ,’ प्रमुख वस्तीले भने, ‘किन रिजेक्ट भएको भन्ने कारणसमेत विद्यार्थीलाई लेखेर पठाउँछौँ, यसले उनीहरूलाई सजिलो भएको छ ।’

गत शुक्रबार शाखाले सार्वजनिक बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवालाई निरन्तरता दिएको थियो । शुक्रबार एनओसीको आवेदनमध्ये पाँच सय १८ भेरिफाइड भए भने दुई सय चार आवेदन रिजेक्ट भए । सो दिन कुल चार सय १६ आवेदन परेको थियो भने केहीले अघिल्लो दिन साँझ फारम भरेका थिए । त्यस्तै, गत बिहीबार (१४ पुस) कुल पाँच सय ८० आवेदन परेका थिए । अघिल्लो दिन साँझको फारमसहित चार सय भेरिफाइड भए भने एक सय ९० रिजेक्ट भए । बुधबार (१३ पुस) चार सय ६८ भेरिफाइड हुँदा दुई सय २५ रिजेक्ट भए । त्यस्तै, मंगलबार (१२ पुस) चार सय ८५ भेरिफाइड भए भने दुई सय ६ रिजेक्ट भएको शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । 

कन्सल्टेन्सीका कारण विद्यार्थीको एनओसी रिजेक्ट हुने क्रम बढेपछि शिक्षा मन्त्रालयमा कन्सल्टेन्सीको भूमिकाको प्रभावकारी अनुगमन हुनुपर्ने बहस चलेको छ । कतिपय कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयले लिखित रूपमा माफीसमेत मगाएको छ ।

 शिक्षा मन्त्रालयको  प्रमुख वासुदेव वस्ती भन्छन् ‘ वैदेशिक अध्ययन अनुमतिपत्र शाखा विद्यार्थीले अनलाइनमा पठाएका डकुमेन्ट हेरेपछि कि त भेरिफाइड हुन्छ कि रिजेक्ट हुन्छ, किन रिजेक्ट भएको भन्ने कारणसमेत विद्यार्थीलाई लेखेर पठाउँछौँ, यसले उनीहरूलाई सजिलो भएको छ ।’

टाइम्स इन्टरनेसनल एजुकेसन प्रालिले एउटा विद्यार्थीको सट्टा अर्को विद्यार्थीको शैक्षिक विवरण राखेर अनलाइन फारम भरिदिएको र किंग्स इन्स्टिच्युटले एउटाको सट्टा अर्को विद्यार्थीको अफर लेटर राखेर फारम भरिदिएको पाइएपछि आइन्दा यस्ता गलत क्रियाकलाप नदोहोर्‍याउने सर्तमा लिखित माफी मागेको शिक्षा मन्त्रालयका अधिकारीले जनाएका छन् । शाखा प्रमुख वस्तीका अनुसार एजुकेसन कन्सल्टेन्सीको असावधानी तथा गलत परामर्शको कारण विद्यार्थीले सास्ती भोग्नुपरेको बताए ।

एउटा देशको अध्ययनका लागि सटही गरेको विदेशी मुद्रा रिफन्ड नहुँदै अर्को देशमा अध्ययनका लागि विद्यार्थीको प्रोसेस गरिदिने, सटही गरेको रकम कन्सल्टेन्सीमार्फत नै फिर्ता गराउन लगाउने, विद्यार्थीको एनओसीलगायतका सक्कल कागजात कन्सल्टेन्सीमै राखिदिने, मन्जुरीनामा लिएर विद्यार्थीको एनओसी लिन आउने, समयमा अनलाइन फारम नभरी विद्यार्थीलाई अलमल्याउने गरेको पाइएको बताए । त्यस्तै, उपत्यकाबाहिरका विद्यार्थीको अनलाइन एप्लिकेसन भेरिफाई भएपछि तोकिएको मिति र समयअघि नै जहाजको टिकट बुक गराई होटेलमा विद्यार्थीलाई बसाउने गरेकोसमेत पाइएको वस्तीको भनाइ छ । 

रसिया र युक्रेनबीच जारी युद्धका कारण सरकारले ती देशमा अध्ययनका नाममा जान रोक लगाएको छ । तर, विद्यार्थीले रसिया अध्ययनका लागि दैनिक आवेदन दिने गरेका छन् । केही समय अघिसम्म रसियाका लागि दैनिक ३० देखि ४० जनाले एनओसी माग गर्दै आएकामा अहिले केही कमी आएको वस्तीले बताए । युद्धका कारण रसियामा जान निषेध गरिएको छ, तर कन्सल्टेन्सीले सही परामर्श नदिएका कारण एनओसीका लागि आवेदन गरिरहेका छन् । 

वैदेशिक अध्ययनका लागि पाँच महिनामा ३८ हजारले लगे एनओसी
विदेश अध्ययनमा प्रवेश खुकुलो हुन थालेपछि शिक्षा मन्त्रालयबाट एनओसी लिने विद्यार्थीको संख्या बढ्न थालेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा विदेश अध्ययनका लागि ३८ हजार ६१ विद्यार्थीले एनओसी लगेका छन् । देशमा चाडपर्व र चुनावी माहोलको समयमा समेत विदेश अध्ययनमा जान चाहनेको संख्यामा कुनै कमी आएन ।

 शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका वासुदेव वस्तीका अनुसार चाडपर्व र चुनावको समयमा समेत विदेश अध्ययनका लागि एनओसी लिनेको भिड लागेको थियो । शाखाका अनुसार अस्ट्रेलियाका लागि १० हजार ७९९ विद्यार्थीले एनओसी लगेका छन् । त्यस्तै, जापानमा अध्ययनका लागि एनओसी लिनेको संख्या ६ हजार ६२६ छ । यस वर्ष क्यानडाका लागि एनओसी लिनेको संख्या निकै बढेको छ ।

क्यानडाका लागि ६ हजार ५३१ विद्यार्थीले एनओसी लगेका छन् । बेलायतका लागि पाँच हजार ३०४, भारतका लागि एक हजार ९०, अमेरिकाका लागि १५ सय ५९, रसियाका लागि ९७२ र दक्षिण कोरियाका लागि ७४४ विद्यार्थीले एनओसी लगेका छन् । यो अवधिमा जम्मा ५९ देशमा अध्ययनका लागि एनओसी लगेको मन्त्रालयले जनाएको छ । 

एनओसी जारी गरेर मन्त्रालयले पाँच महिनामा आठ करोड २१ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा १५ सय ५८ जनाको एनओसी रद्द भएको छ । आर्थिक वर्ष ०७८/७९ मा शिक्षा मन्त्रालयबाट कुल एक लाख १४ हजार ४२९ ले एनओसी लगेका थिए ।