Skip This
नाका नखुल्दा गाउँ छाड्ने बढे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १४:१६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नाका नखुल्दा गाउँ छाड्ने बढे

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १४:१६:oo

तातोपानी नाका बन्द भएको आठ वर्ष भयो। लिपिङमा झोलेपोके व्यापार र पर्यटकको भारी बोकेर घरव्यवहार चलाएका स्थानीय विदेश पलायन हुँदा सीमा क्षेत्रका गाउँ रित्तिएका छन्। भोटेकोसी गाउँपालिकाको पाँच वडा र बाह्रबिसे नगरका दुई वडाका अधिकांश स्थानीय विदेश पलायन भएका हुन्।

भोटेकोसीको तातोपानी, लिस्ती, दुगुना, फुल्पिङकट्टी र मार्मिङका  दुई हजारभन्दा बढी युवा विदेश पुगिसकेका छन्। बाह्रबिसेका दुई वडाबाट पनि झन्डै दुई सय युवा विदेश भासिएका छन्। नाकामा सानोतिनो व्यापार गर्नेहरू ऋण खोजेर विदेश गए पनि भारी बोक्नेहरू देशकै राजधानी र अन्य ठाउँ पुगेर ज्यालादारी गरिरहेका छन्। खेतीपाती गर्न जमिन नभएकाले यहाँका युवा गाउँ छोड्न विवश छन्। विदेश पलायन हुनेहरू धेरैजसो खाडी मुलुक पुगेका छन्। केही युवा अमेरिका, पोर्चुगल र जापान पनि पुगेका छन्।

भोटेकोसीमा १७ हजार जनसंख्या छ। लगभग आधाजसो मानिस गाउँबाहिर रहेको स्थानीय आङ्छिरी शेर्पाले बताए। भोटेकोसी नारायणथाननिवासी शेर्पा भन्छन्, ‘तातोपानी नाका बन्द भएको आठ वर्षयता भोटेकोसी क्षेत्रका घर नै खाली गरेर विदेश पलायन हुने क्रम बढेको छ।’ आजभोलि विदेशबाट आउने पैसाले भोटेकोसीका बस्ती चलेको उनले सुनाए।

नाका चल्दा १४ सय कन्टेनरले सामान बोक्थे। कन्टेनरमा तीन हजार बढी रोजगार थिए। झोलेपोके व्यापार गर्ने लगभग दुई हजार थिए। पर्यटक र व्यापारीको भारी बोक्ने सयौँ थिए। जुरे पहिरो, भूकम्प, भोटेकोसी बाढी र कोरोना महामारीले नाका बन्द रहँदा स्थानीयलाई हातमुख जोड्न समस्या भएको उनले बताए। ‘विकल्पको खोजी गर्दै कोही विदेश गए, कोही गाउँ छोडेर मजदुरी गर्न अन्यत्र पुगे,’ नेपाल ट्रक कन्टेनर ढुवानी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले भने, ‘तातोपानी, लिस्ती, बोक्चेन र फुल्पिङकट्टी गाउँमा मानिस छैनन्। घर कुर्न बुढाबुढी मात्रै गाउँमा छन्।’ 

भूकम्पअघि भोटेकोसी क्षेत्रमा चारवटा आवासीय विद्यालय थिए। स–साना बालबालिका पढ्ने ती बोर्डिङ स्कुल बन्द भएपछि पनि अभिभावकले गाउँ छोडेका छन्। सरकारी विद्यालयमा पढाइ राम्रो नभएकाले बालबालिकालाई गुणस्तरीय शिक्षा दिने हेतुले कतिपय स्थानीयले गाउँ छोडेका हुन्।

नाका खुल्ने आशामा स्थानीय
आयात आंशिक रूपमा खुला रहेको तातोपानी नाका भूकम्पअघिकै अवस्थामा फर्कने आशामा सीमावासी छन्। चिनियाँ क्षेत्रमा तीन वर्षदेखि जारी बन्दाबन्दी हटेकाले नाकाबाट आयात–निर्यात खुला हुने अवस्था रहेको छ। चिनियाँ पक्षले केही दिनयता खासाबाट पहिलेभन्दा बढी कन्टेनर छोडेका छन्। आधिकारिक सूचना नआए पनि छिट्टै केरुङ नाकाझैँ आयात–निर्यात सुचारु हुने चिनियाँ पक्षले बताएको छ।

राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको उत्तरी नाका तातोपानी व्यापारीको पहिलो रोजाइ हो। नाका खुलाउन यस क्षेत्रका सांसद माधव सापकोटा, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतलगायतले प्रधानमन्त्री प्रचण्डसँग भेटेर कुराकानीसमेत गरेका छन्।