मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १७ आइतबार ०९:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा पाँच महिनापछि दुई हजारको प्रतिरोध तोडियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १७ आइतबार ०९:२३:००

करिब पाँच महिनापछि नेप्से परिसूचकले दुई हजार बिन्दुको प्रतिरोधलाई तोडेको छ । गत साता नेप्से परिसूचकमा आएको नाटकीय सुधारसँगै नेप्सेले पाँच महिनादेखिको प्रतिरोधलाई तोडेर अघि बढेको हो ।

नेप्से परिसूचक १० भदौ शुक्रबारका दिन उक्त दुई हजार बिन्दुको प्रतिरोधलाई तोडेर अघि बढेको थियो । उक्त समयमा नेप्से परिसूचक दुई हजार २२ दशमलव ६२ बिन्दुमा रहेको थियो । त्यसको पाँच महिनापछि नेप्से परिसूचक १४ पुस बिहीबार दुई हजार २९ दशमलव शून्य बिन्दुमा आइपुगेको हो ।

साताको चार दिन भएको कारोबारमा नेप्से परिसूचक एक सय ६१ दशमलव ८२ अंकले बढेर दुई हजार २९ दशमलव शून्य ३ बिन्दुमा बन्द भएको छ । न्यूनतम एक हजार आठ सय ६८ दशमलव १८ बिन्दुसम्म पुगेर बजार पुनः उकालो लागेको थियो ।

नयाँ अर्थमन्त्रीको आगमनसँगै लगानीकर्ता उत्साहित 
चुनावको समयमा पनि घटेको बजारमा नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै लगानीकर्ता उत्साहित भएका छन् । नयाँ मन्त्रीलाई लिएर लगानीकर्ता उत्साहित हुँदा एक दिन करेक्सन भए पनि तीन दिन बजारमा उच्च अंकले हरियाली छाएको हो । लगानीकर्ता तथा ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले लगानीकर्ता नयाँ मन्त्रीसँगको अपेक्षा, पुरानै सेन्टिमेन्ट जोडिएको हुँदा बजारमा प्रभाव देखिएको अनुमान गर्न सकिने बताए । उनले भने, ‘उहाँकै पालामा नेप्सेले उच्च बिन्दु कायम गरेको रेकर्ड छ, त्यसको प्रभाव बलियो भएको हो ।’  

पौडेलले अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्रलाई मिलाएर लैजाने बताएसँगै सेयर लगानीकर्ता आशावादी देखिएका हुन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले पनि जाँदाजाँदै बैंकहरूले स्थानीय तहको खातामा भएको रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने अवधि थपिदिएपछि पनि बजार केही सकारात्मक बनेको अनुमान लगानीकर्ताले गर्दै आएका छन् ।

पछिल्लो समय बैंकहरूको तरलतामा समेत सुधार आइरहेकाले पनि लगानीकर्ताको आत्मविश्वास बढ्दै गएको देखिन्छ । यही कारण गत साता कारोबार रकममा समेत एक सय २१ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो साता पाँच दिनको कारोबार चार अर्ब ९५ करोड रुपैयाँको भएकोमा यस साता बजार खुलेको चार दिनमा १० अर्ब ९९ करोडको कारोबार भएको हो । औसत ९९ करोड रुपैयाँको दैनिक कारोबार भइरहेकोमा गत साता दुई अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको हो ।