१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १७ आइतबार ०८:१५:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

नेपाल–चीन सम्बन्धबारे पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १७ आइतबार ०८:१५:००

चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यद्वारा लिखित पुस्तक ‘कूटनीतिक डायरी’ सार्वजनिक भएको छ । पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले पुस्तक विमोचन गरेका छन् । ०५५ देखि ०५९ सम्म चीनका लागि राजदूत रहँदाका घटनाक्रम र व्यक्तिगत अनुभव समेटेर आचार्यले पुस्तक प्रकाशन गरेका हुन् ।

पूर्वमन्त्री थापाले छिमेकी भारत र चीनबीच सन्तुलन कायम गर्दै नेपालको अवस्था सुदृढ गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताए । मुलुकको राष्ट्रिय आवश्यकता पूरा गर्न छिमेकीहरूबीच सन्तुलन आवश्यक रहेको उनको भनाइ थियो । उनले चिनियाँ तत्कालीन प्रधानमन्त्री चाउ एन लाईको सकारात्मक व्यवहारबाट आफू निकै प्रभावित भएको अनुभव सुनाएका थिए ।

तत्कालीन राजा वीरेन्द्रका सचिव चिरनशमशेर थापाले चिनियाँ नेता माओत्से तुङका पालामा काठमाडौंमा चिनियाँ रेल ल्याउने सपना देखाइएको बताए । चीनले नेपाललाई सधैँ सम्मान गर्ने गरेको अनुभव सुनाएका उनले राजा वीरेन्द्रको चीन भ्रमणमा ६ पटक सँगै जाँदा चिनियाँ नेताहरू नेपालप्रति सकारात्मक रहेको पाएको पनि बताए । राजदूत आचार्यले लेखेको पुस्तक कूटनीतिक डायरी विश्वसनीय र स्तरीय रहेको उनको भनाइ थियो । 

पुस्तकमाथि वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, सौरभ एवं पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले टिप्पणी गरेका थिए । पूर्वराजदूत आचार्यले अहिलेसम्म नलेखिएका र जनताले थाहा पाउनुपर्ने अनुभवजन्य विषय समेटेर पुस्तक लेखेको बताए । उनले चीनसँग सम्बन्धमा अहिले न्यानोपन नभएको बताए । ‘चीनसँग हाम्रो सम्बन्ध समस्यारहित छ । तर, सन्देह वा शंकारहित सम्बन्ध अहिले छैन,’ उनले भने ।