
कोरोना संक्रमण फैलिन नदिन वीरगन्ज नाकाको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलब पाएका छैनन्। चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि मंसीरसम्मको तलब नपाएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्।
नाकामा जोखिम मोलेर परीक्षणमा नियमित रुपमा खटिएको अवस्थामा पनि लामो समयदेखि तलब नपाएको वीरगन्ज हेल्प डेस्कका कर्मचारी कृष्णकुमार ठाकुरले बताए। ५ महिनाको तलब नपाएपछि काम गर्ने मनोबल कम हुँदै आएको उनको दुखेसो छ। मरीमरी काम गरिरहेको भएपनि तलबमात्र नभएर छुट्टी पनि नपाएको उनले बताए।
उनका अनुसार हाल वीरगन्ज नाकामा नेपाल आवतजावत गर्ने २ सयदेखि ३ सय विदेशीको दैनिक रुपमा कोरोना संक्रमण परीक्षण भइरहेको छ। वीरगन्ज नाकामा गत सातादेखि भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ। नाकामा एक मेडिकल अफिसर, तीन हेल्थ असिस्टेन्ट, दुई स्टाफ नर्स, तीन ल्याब टेक्निसियन र दुई कार्यालय सहायक कार्यरत छन्।
विगतमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहमार्फत नाकामा खटिएका स्वास्थ्यकर्मीहरुको तलब उपलब्ध गराउँदै आएको थियो। तर, चालु आर्थिक वर्षदेखि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश सरकारमार्फत् पठाउने योजना बनाएकाले समयमा तलब नपाएको अवस्था छ। नाकामा खटिएकी मेडिकल अफिसर डा. अनिशा महतोले जोखिम मोलेर नियमित रुपमा खटिएपनि समयमा तलब नपाएको गुनासो गरिन्।
केहि दिन अघि स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नाका निरीक्षणको क्रममा तलब उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका थिए। प्रमख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले महाशाखामा कुरा गरेर चाँडै तलब उपलब्ध गराउन पहल गर्ने बताए।