मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सदर चिडियाखानामा रहेको बंगाल टाइगर अवलोकन गर्दै भिजिटर । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०७९ पौष १५ शुक्रबार ०९:१४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चिडियाखानाको ‘बंगाल टाइगर’लाई अब ललितपुर महानगरको आहारा

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ पौष १५ शुक्रबार ०९:१४:००

११० प्रजातिका जीव–जनावरको आहारामा वार्षिक तीन करोड खर्च  

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको ‘बंगाल टाइगर’लाई आहाराको व्यवस्था अब ललितपुर महानगरपालिकाले गर्ने भएको छ । चिडियाखानामा रहेका जनावरमध्ये सबैभन्दा महँगो आहारा ‘बंगाल टाइगर’ले खान्छ । यहाँका दुईवटा बाघले वार्षिक झन्डै २५ लाखको आहारा खान्छन् । त्यसमध्ये एउटा बाघको आहाराको व्यवस्था ललितपुर महानगरपालिले गर्न लागेको हो । प्रदर्शनीमा राखिएका अन्य जनावरभन्दा चिडियाखानामा रहेको ‘बंगाल टाइगर’लाई बढी आकर्षक मानिन्छ । यो एउटा बाघले वार्षिक १०–१२ लाखसम्मको आहारा खाने गर्छ । 

माघदेखि उक्त टाइगरलाई महानगरले खानेकुराको व्यवस्था गर्ने महानगरका मेयर चिरिबाबु महर्जनले बताए । सदर चिडियाखानाको २७औँ वार्षिकोत्सवका अवसकार मेयर महर्जनले वन तथा वातावरण विभागसँग अनुमति लिएर टाइगरलाई आहाराको व्यवस्था गर्न लागिएको बताए । ‘चिडियाखाना ललितपुर महानगरपालिकाको अमूल्य सम्पत्ति पनि हो, यहाँ रहेका जीव–जनावरको रेखदेखमा महानगर जिम्मेवार छ,’ उनले भने, ‘यहाँ रहेको सबैभन्दा महँगो र धेरै आहारा खाने जनावरलाई हामीले आहाराको व्यवस्था गर्छौँ ।’ उनले यसबाहेक चिडियाखानालाई आवश्यक पर्ने ‘सटल बस’ पनि सहयोग गर्न तयार रहेको बताए । उनले सदर चिडियाखानालाई भक्तपुरमा सार्ने विषयमा भने आफू सहमत नभएको बताए । ललितपुर महानगरको अर्को एउटा मुख्य आकर्षक र गहनाका रूपमा चिडियाखाना रहेकाले यसलाई मुख्य चिडियाखानाका रूपमा रहन दिनुपर्ने उनको भनाइ छ । 

सरकारले सदर चिडियाखाना साँघुरो भएको भन्दै भक्तपुर सूर्यविनायकस्थित फराकिलो ठाउँमा सार्ने तयारी गरिरहेको छ । बाघ तथा अन्य जनावर खेल्नका लागि खाली सदर चिडियाखाना साँघुरो मानिन्छ । यहाँ रहेका विभिन्न प्रजातिमा जीव–जनावरलाई साँघुरो ठाउँमा राखिएको छ । ठाउँ साँघुरो भएकाले जीव–जनावरको संख्या वृद्धि गर्नसमेत कठिन भइरहेको चिडियाखाना प्रशासनले जनाएको छ ।

हाल चिडियाखानामा दुईवटा बाघसहित एक सय १० प्रजातिका जीव–जनावर छन् । दुई वर्षअघि कोभिड महामारीमा चिडियाखानामा रहेका जीव–जनावरलाई खानेकुराको अभाव देखिएको थियो । कोभिड–१९ का कारण भिजिटर नआएपछि आम्दानी नभएकाले आहारामा समस्या भएको थियो ।

चिरिबाबु महर्जन मेयर, ललितपुर महानगर 

सदर चिडियाखानामा रहेको बंगाल टाइगरलाई माघदेखि हामीले खानेकुराको व्यवस्था गर्ने निर्णय गरेका छौँ । यसका लागि वन तथा वातावरण विभागसँग अनुमति लिनेछौँ । चिडियाखाना ललितपुर महानगरपालिकाको अमूल्य सम्पत्ति हो । यहाँ रहेका जीव–जनावरको रेखदेखमा महानगर जिम्मेवार हुनेछ । यहाँ रहेको सबैभन्दा महँगो र धेरै आहारा खाने जनावरलाई हामीले आहाराको व्यवस्था गर्न लागेका हौँ ।

चिडियाखानाको पोखरी संरक्षणमा ध्यान दिइने 
मेयर महर्जनले चिडियाखानाका बीचमा रहेको प्राचीन पोखरीको समेत संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले यो पोखरीका कारण वडा ३ र ४ मा रहेको इकु र हिकुहिटीमा पानी आइरहेको बताए । त्यसकारण पनि चिडियाखानाको बीचमा रहेको पोखरीको संरक्षणमा महानगरले पनि चासो दिने उनको भनाइ छ । ललितपुर महानगरपालिकाले पाटन क्षेत्रमा रहेको अधिकांश हिटी सुकेका कारण लगनखेलमा रहेको सप्तपाताल पोखरीलाई पुनर्जीवन दिन थालेको छ । नमुना मच्छिन्द्र स्कुल र नेपाली सेनाले समेत अकुपाई गरेको पोखरीको जग्गा फिर्ता ल्याएर ४६ रोपनी क्षेत्रफलमा महानगरले पोखरी र पार्क बनाउँँदै छ । 

‘एडप्ट एन एनिमल’ कार्यक्रम कहाँ पुग्यो ?
दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चिडियाखानामा रहेका जनावरलाई आहारा दिएर अभिभावकत्व ग्रहण गर्न सकिने कार्यको सुरुवात गरेका थिए । उनले दुर्लभ मानिने एकसिंगे गैँडाको अभिभावकत्व ग्रहण गरेर ‘एडप्ट एन एनिमल’ कार्यक्रम सुरुवात गरेका थिए । त्यसपछि केही इन्छुक व्यक्तिले चिडियाखानामा रहेका जनावरका लागि आहारामा सहयोग पनि गरेका थिए । 

२७औँ वार्षिकोत्सवका अवसरमा प्रभु बैंकले चिम्पान्जीका लागि आहारा किन्न पाँच लाख सहयोग गरेको छ । यसो गर्दा जनावरप्रतिको माया पनि बढ्ने चिडियाखानाकी कार्यालय प्रमुख रचना शाहले बताइन् । उनका अनुसार पछिल्लो समय भिजिटरको संख्या बढेकाले कर्मचारी, प्रशासनिक र जनावरका लागि आहारा खर्चमा कमी नभएको जानकारी दिइन् ।

आहारामा वार्षिक तीन करोड खर्च  
चिडियाखानामा रहेका अन्य आकर्षक जनावरमध्ये रेडपान्डा (रातो हाब्रे), बाघ, भालु, चितुवालगायत छन् । यहाँ ६१ चरा, ३३ स्तनधारी, १७ प्रजातिका माछा र आठ उभयचर रहेका छन् । यी सबै जीव–जनावरका लागि आहारामा मात्रै वार्षिक तीन करोड खर्च हुन्छ । 

दैनिक ६ हजार भिजिटर 
कोरोना संक्रमणदर कम हुँदै गएपछि गत वर्षदेखि नै भिजिटर बढेका थिए । हाल दैनिक ६ हजारसम्म भिजिटर आउने गरेका छन् । तर, यो संख्या थपघट भइरहन्छ । हाल चिडियाखाना अवलोकन गर्न आउने सार्क राष्ट्रका पयर्टकलाई प्रतिव्यक्ति पाँच सय र अन्य देशका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क लिने गरिन्छ । त्यस्तै, नेपालीलाई  प्रतिव्यक्ति दुई सय शुल्क लिइन्छ । यसमध्ये  विद्यार्थीलाई एक सय ३५ र ज्येष्ठ नागरिकलाई ९० रुपैयाँ शुल्क लिने गरिएको छ ।