मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष १५ शुक्रबार ०८:४४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्पेनिस क्लब कासेरेन्योलाई मैत्रीपूर्ण फुटबल सिरिज

Read Time : < 1 मिनेट
२०७९ पौष १५ शुक्रबार ०८:४४:००

नेपाल भ्रमणमा रहेको स्पेनिस क्लब कासेरेन्योले लगातार दोस्रो मैत्रीपूर्ण खेलमा जित निकाल्दै सिरिज २–० ले हात पारेको छ । बिहीबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा कासेरेन्योले नेपाली राष्ट्रिय टोलीका खेलाडी सम्मिलित काठमाडौं–११ लाई २–१ अन्तरले हरायो । यसअघि पोखरामा कासेरेन्योले स्थानीय पोखरा–११ लाई ३–० को अन्तरमा पराजित गरेको थियो ।

दोस्रो खेलमा कासेरेन्योलाई जित दिलाउन कप्तान अल्भारो क्लाउस र डेभिड ग्रान्डले समान एक गोल गरेका थिए । काठमाडौं ११ का लागि जर्जप्रिन्स कार्कीले एक गोल फर्र्काएका थिए । खेलको ४०औँ मिनेटमा क्लाउसीको गोलमा कासेरेन्योले १–० को अग्रता लियो । गोलरक्षक विशाल श्रेष्ठको गल्तीमा क्लाउसीले ३५ यार्डनजिकबाट उत्कृष्ट गोल गरेका थिए । ८३औँ मिनेटमा ग्रान्डेले कासेरेन्योको अग्रता २–० को बनाए । 

बक्सभित्र प्राप्त बललाई ग्रान्डेले पहिलो बारमा उत्कृष्ट फिनिसिङ गरे । ८५औँ मिनेटमा वैकल्पिक खेलाडी जर्जप्रिन्सले काठमाडौंलाई २–१ गोलअन्तरमा ल्याए । उनले घरेलु टोलीलाई फर्काउने प्रयास गरेका थिए । बक्सभित्र स्पेनिस खेलाडीले बल राम्रोसँग क्लियर गर्न नसक्दा जर्जले गोल गरेका हुन् । जर्ज दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । 

काठमाडौंको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गरेका थिए । प्रशिक्षक मेघराज केसीले विशालसहित विमल घर्तीमगर, आयुष घलान, तेज तामाङ, सुजल श्रेष्ठ, दिनेश राजवंशी, सेसेहाङ आङ्देम्बे, सुरजजिउ ठकुरी, सरोज दाहाल र विकास तामाङलाई सुरुवाती ११ मा राखेका थिए । दोस्रो हाफमा जर्जप्रिन्स, विकेश कुथू, भरत खवाससहित ९ खेलाडीले अवसर पाए ।