
प्रभु बैंकको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त सभा आफ्नै केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
बैंकको सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौं, बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको २१औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०७८/७९ को वासलात, नाफा वा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका अनुसूचीहरू पारित गरेको छ। यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. ०७८/७९ को एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ।
सभाले गत आ.व. ०७८/७९ को मुनाफाबाट गत आ.व. ०७८/७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र नगद लाभांशमा लाग्ने करसमेतका लागि १.५० प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने निर्णय पारित गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार सेञ्चुरी कमर्सियल बैंक लि. को १०० कित्ता सेयरबराबर प्रभु बैंक लि. को १०० कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ति (एक्विजिसन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ।
आज सम्पन्न वार्षिक साधारणसभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। साथै, सभाबाट पारित निर्णयअनुसार बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकायहरूबाट कुनै निर्देशन, सुझाब प्राप्त भएमा सोको आधारमा आवश्यक परिमार्जन गर्न तथा सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ।