Skip This
गण्डकी प्रदेश सभा सदस्यले लिए शपथ [तस्बिरहरू]  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष १४ बिहीबार १५:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सभा सदस्यले लिए शपथ [तस्बिरहरू]  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १५:५८:oo

४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। 

६० सदस्यीय प्रदेश सभा सदस्यहरूको शपथअगाडि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत १ (२) बाट निर्वाचित एमालेका मित्रलाल बस्याललाई  बुधबार पद तथा गोपनीयताको शपथ गराएका थिए। 

प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका ज्येष्ठ सदयले बाँकी अन्य ५९ जना सदस्यलाई प्रदेश सभा सचिवालयमा बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सचिवालयका अभिलेख शाखाका शाखा अधिकृत झनकराज अधिकारीका अनुसार शपथ लिएका ५९ जनामध्ये तीनजनाले आफ्नो मातृभाषामा शपथ लिए। उनीहरूमध्ये दुईजनाले गुरुङ र एकजनाले तमाङ भाषामा शपथ लिएका हुन्।शपथ लिन आएका सदस्यले राष्ट्रिय तथा जातीयता झल्कने पोसाक लगाएका थिए। 

अधिवेशन १८ गतेदेखि

प्रदेश प्रमुख प्रदेश सभाको अधिवेशन १८ गते सोमबार बस्ने गरी आह्वान गरेका छन्। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन १८ पुस दिनको ३ बजे प्रदेश सभा भवन, नदीपुरमा बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका हुन्। 

संविधान ०७२ को धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्नेछ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम २८ मंसिरमा सार्वजनिक गरेको थियो।   

यस्तो छ दलगत अवस्था  

६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सदस्यसहित सिट संख्याका हिसाबले नेपाली कांग्रेस पहिलो पार्टीको रूपमा रहेको छ। यसैगरी नेकपा एमालेको २२ सिट, नेकपा माओवादी केन्द्रको आठ सिट,  राप्रपाको दुई सिट छ। 

मनाङको १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित भएका थिए। हाल उनी एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

एमाले नेतृत्वको गठबन्धनको बहुमत

हाल प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेको भए पनि कुनै एक दलको बहुमत भने छैन। एक दलको बहुमत नरहेका कारण गण्डकीमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने निश्चित छ। 

६० सदस्य प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ३१ सदस्य आवश्यक रहन्छ। निर्वाचनमा भएको पाँच दलको गठबन्धन टुटेसँगै एमाले नेतृत्वमा आइतबार बनेको नयाँ गठबन्धनसँग बहुमतको सरकार गठनका लागि आवश्यक मत छ। 

आइतबार बनेको नयाँ समीकरणमा रहेका दलहरूमध्ये गण्डकी प्रदेश सभामा तीन दलको प्रतिनिधित्व छ। एमालेको २२, माओवादीको आठ र राप्रपाको दुई गरी नयाँ गठबन्धनसँग ३२ सिट छ, जुन बहुमतको सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत हो। 

तस्बिर : रोहितराज पराजुली/नयाँ पत्रिका