
जिल्लाको गुल्मीदरबार गाउँपालिका– ६ का मधुसुधन शाहको घर शोकमा डुबेको छ। उनकी ४० वर्षीया श्रीमती रजुन शाहको रेबिजका कारण मंगलबार ज्यान गयो। आमाको किरियामा बसेकी विक्षिप्त १८ वर्षीया छोरी सदीक्षा बोल्न सक्दिनन्। जोडी गुमाएका मधुसुधन अचेत छन्।
शाह परिवारका दुई छोरीमध्ये भावनाको विवाह भइसक्यो। शाहका छोरा वा छोरी जे भने पनि सहारा सदीक्षा नै हुन्। सेतो पहिरनमा किरिया बसेकी किशोरी सदीक्षालाई देख्नेहरू रुन्छन्। उनले आमाको उपचारदेखि किरियासम्मको सामना गरेकी छिन्।
जीवनसँग व्यापारिक ‘सौदाबाजी’
११ मंसिरमा कुमालटारी गएको वेला रजुनलाई कुकुरले टोक्यो। हत्केलामा ठूलो घाउ लागेपछि उनी छत्रदेव गाउँपालिका– २ स्थित बिएनसिसी मेडिकल पुगिन्। मेडिकल सञ्चालक बकरत मियाँले शाहको घाउको उपचार गरेर बल्कोट स्वास्थ्य चौकीबाट एन्टिटिटानस खोप मगाएर लगाइदिए। उनले त्यसपछि जिल्ला अस्पताल पठाउनुको साटो लगातार तीन दिन आफैँ उपचार गरे। घाउ केही निको भएजस्तो भएपछि शाह घरमै बसिन्। तर, २७ दिनपछि उनलाई हावापानी देख्दा डर लाग्ने र खाना मिठो नहुनेजस्ता लक्षण देखिन थाल्यो।
समस्या बल्झिँदै गएर सास फेर्न मुस्किल भएपछि उनले ९ पुसमा मेडिकल सञ्चालक मियाँलाई खबर गरिन्। परिवारका अनुसार मेडिकलवालाले प्रेसर बढेको बताए। तर, शाहलाई विश्वास नलागेपछि तम्घासको शुभलक्ष्मी क्लिनिक पुगिन्। क्लिनिकले घाउको अवस्था, लामो समय र खोप नलगाएको पाएपछि काठमाडौं जान सुझाव दियो। उपचारका लागि काठमाडौंको टेकु अस्पताल पुगे पनि समस्या धेरै बल्झिएकाले मंगलबार शाहको मृत्यु भयो।
नाफाका लागि गुमराहमा राखेर ज्यान लिने मेडिकल सञ्चालकलाई कारबाही गर्न माग
शाह परिवारले बिएनसिसी मेडिकल सञ्चालकलाई कारबाहीको माग गरेको छ। मेडिकलले व्यापारका लागि आफूहरूलाई गुमराहमा पारेर ज्यान लिएकाले छोरी सदीक्षाले न्यायको माग गरेकी छिन्।
मेडिकल सञ्चालकले कुकुरले टोकेको बिरामीलाई जिल्ला अस्पताल पठाउनुको सट्टा पटकपटक मेडिकल बोलाएर सबै उपचार गर्ने भनी गुमराहमा राखेकाले आमाको ज्यान गएको भन्दै उनी भक्कानिइन्। ‘शोकले मन बेचैन बनेको छ। आमाले मर्ने वेलासम्म मेडिकलवालालाई कारबाही गर्नु भनिसिन्थ्यो,’ उनले भनिन्, ‘आमाको आत्माले शान्ति पाउन मेडिकलवालाले कारबाही भोग्नुपर्छ।’ सदीक्षाले आफ्नो आमाको ज्यान गए पनि अरू व्यक्तिको ज्यान जोगाउन मेडिकलवालाले कारबाही भोग्नुपर्ने बताइन्।
तर, बिएनसिसी मेडिकल सञ्चालक बकरत मियाँ आफूले सुरुमै बाहिर जान सुझाव दिए पनि बिरामीले नमानेकाले प्रारम्भिक उपचार गरेको बताउँछन्। उनी अर्घाखाँचीको छत्रदेव गाउँपालिका– २ का वडा सदस्यसमेत हुन्।
जनप्रतिनिधिसमेत रहेका स्वास्थ्यकर्मीजस्तो व्यक्तिले रेबिज खोपका लागि पहल नगरेर मेडिकलमै उपचार गरेपछि जिल्लास्तरमा व्यापक आलोचना सुरु भएको छ। नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयले स्वास्थ्यकर्मीको गैरजिम्मेवारीका कारण शाह परिवारले मानवीय क्षति व्यहोरेको बताउँदै कडा कारबाहीको माग गरे।
मृतकका परिवार र छिमेकीले घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन्। गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले घटनाको छानबिन अघि बढाउने बताए। घटनाको सूक्ष्म अध्ययनका लागि पालिका प्रमुखसँग थप समन्वय भएको उनले बताए। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले दुई जिल्लाबीचको समन्वयमा घटनाको अनुसन्धान अगाडि बढाइने बताए।
भुस्याहा कुकुरको आतंक बढ्दै
जिल्लामा भुस्याहा कुकुरको आतंक बढेको छ। डेढ वर्षमा एक हजार ८७ जनालाई कुकुरले टोकेको छ। गत आर्थिक वर्षमा कुकुरको टोकाइबाट सात सय १० जना घाइते भएका गुल्मी अस्पतालको तथ्यांक छ। यो वर्षको साउनदेखि अहिलेसम्म एक सय २९ महिला र दुई सय ४८ पुरुष गरेर तीन सय ७७ जना कुकुरको आक्रमणबाट घाइते भएका अस्पतालका इमर्जेन्सी इन्चार्ज रमेश पन्थीले जानकारी दिए।
भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेका अनुसार कार्यालयबाट दैनिक रेबिजविरुद्धको खोप सेवा, विश्व रेबिज दिवसमा साप्ताहिक अभियान सञ्चालन गरेर प्रत्येक पालिकामा खोप उपलब्ध गराइएको छ। यता रूरूमा ५५ कुकुरको बन्ध्याकरण र खोप लगाइएको छ। अहिलेसम्म करिब पाँच सय कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको काफ्लेले जानकारी दिए। उनले मंगलबार र बुधबार गरेर गुल्मी दरबारमा ५० कुकुरलाई खोप लगाइएको र अझै तीन सय डोज खोप माग भएको बताए।
रेबिजबाट बच्ने उपाय खोप नै हो : डा. पच्या
कुकुरले टोकेपछि ६ डोज रेबिजविरुद्धको खोप लगाउनुपर्छ। खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको छ। कुकुरले टोकेको पहिलो दिन दुई डोज, तेस्रो दिन दुई र सातौँ दिन दुई डोज खोप लगाउनुपर्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए। रगत नै आउने गरेर टोकेको हकमा रेबिज इम्युनोग्लोबिन खोप लगाउनुपर्ने पच्याले बताए। रेबिज इम्युनोग्लोबिन खोप भने निःशुल्क पाइँदैन।
केही समय पहिलेसम्म रेबिज इम्युनोग्लोबिनको खोप लगाउन बुटवल वा काठमाडौं पठाउनुपर्थ्याे। डाक्टर पच्याले कुकुर वा कुनै जंगली जनावरले टोकेमा तुरुन्त साबुनपानीले वा एन्टिसेप्टिकले घाउ सफा गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालमा सेवाका लागि परामर्श लिनुपर्ने बताए।