मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ पौष १४ बिहीबार ०८:०३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राहदानी विभागमा गृहमन्त्रीको छड्के 

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ पौष १४ बिहीबार ०८:०३:००

गृह मन्त्रालयको प्राविधिक टोलीले सर्भरदेखि अनलाइन सेवा प्रवाहबारे अनुगमन गर्ने 

राहदानी वितरणमा भइरहेको ढिलासुस्ती र सर्वसाधारणको सास्तीबारे बुझ्न गृहमन्त्री रवि लामिछाने बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका छन् । दिउँसो ३:३० बजे सहसचिव र प्राविधिक टोलीसहित उनी विभागको कार्यालय पुगेका हुन् । उनी अनुगमन गर्न पुगेको विभाग गृह मन्त्रालयमातहतको भने होइन । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा लाइसेन्स र राहदानी वितरणलाई सहजीकरण गर्नेबारे छलफल भएपछि लामिछाने सेवाग्राहीको भिड हुने राहदानी विभाग पुगेका हुन् । 

गृहमन्त्री लामिछाने पुग्दा कतिपय सेवाग्राही लाइनमै थिए । बायोमेट्रिक भइसकेका सेवाग्राही पासपोर्टको पर्खाइमा थिए । बिहानैदेखि लाइनमा बसेका सेवाग्राहीले मन्त्री लामिछानेलाई देख्दा हुटिङसहित ताली बजाए । केहीले फारम भर्दाको सास्ती उनलाई सुनाए । त्यही क्रममा उनले सेवाग्राहीको भिडभाड र पासपोर्ट वितरणमा भइरहेको सास्ती आफैँले देखे । लामिछानेले विभागको बाहिर सेवाग्राही उभिएकै ठाउँमा विभागका निर्देशकलाई सेवा प्रवाहबारे सोधेका थिए । त्यसपछि मन्त्री लामिछाने, सहसचिव भीष्मकुमार भुसाल, आइटी निर्देशक सुष्मा श्रेष्ठलगायत प्राविधिक टोलीले विभागमा दुई घन्टा बिताए । 

गृहमन्त्री लामिछानेले आफू अनुगमन जानुपूर्व दिउँसो १ बजे गृहको प्राविधिक टोलीलाई त्यहाँको प्राविधिक अवस्थाबारे अनुगमन गर्न टोली पठाएका थिए । टोलीले विभागको सर्भर सिस्टम र विद्युतीय सेवा प्रवाहबारे विभागसँग जानकारी लिएको थियो । त्यसलगत्तै मन्त्री लामिछाने विभाग पुगेका थिए । उनले त्यहाँ पुगेर राहदानी वितरणमा भइरहेको ढिलासुस्ती र वितरण प्रक्रियाबारे विभागका निर्देशक सुरेन्द्रकुमार यादवसँग जानकारी लिए । उनले भइरहेको सेवाको क्षमता बढाउन गृहकार्य गर्न विभागका कर्मचारीलाई निर्देशनसमेत दिएको अनुगमन टोलीमा सहभागी गृहका सहसचिव भुसालले जानकारी दिए । 

भीष्मकुमार भुसाल, सहसचिव, गृह मन्त्रालय

राहदानी वितरणमा सहजता ल्याउन र त्यहाँको सेवा प्रवाहलाई चुस्त बनाउनेबारे छलफल गर्न मन्त्रीज्यू विभाग पुग्नुभएको हो । हाल भइरहेको सेवा प्रवाहलाई कसरी चुस्त पार्न सकिन्छ भन्ने उहाँको चासो छ ।

राहदानी वितरणमा सेवाग्राहीले सास्ती पाइरहेकाले त्यसलाई सहजीकरण गर्न मन्त्री लामिछानेले चासो दिएका हुन् । ‘राहदानी वितरणमा सहजता ल्याउन र त्यहाँको सेवा प्रवाहलाई चुस्त बनाउनेबारे छलफल गर्न मन्त्रीज्यू विभाग पुग्नुभएको हो,’ भुसालले भने, ‘हाल भइरहेको सेवा प्रवाहलाई कसरी चुस्त पार्न सकिन्छ भन्ने उहाँको चासो छ ।’ मन्त्री लामिछानेले जिल्ला प्रशासन र इलाका प्रशासनबाट पनि राहदानी वितरणलाई सहज बनाइने बताए । 

भुसालका अनुसार मन्त्री लामिछानेले विभागको सर्भर सिस्टम अडिट गर्नसमेत गृहको प्राविधिक टोलीलाई निर्देशन दिएका छन् । उक्त अडिटबाट राहदानी वितरणमा अनियमितता भए–नभएको जानकारी हुन्छ । त्यसबाहेक राहदानी वितरणलाई सहज बनाउन आवश्यक पर्ने प्राविधिक स्रोत–साधनको पनि अध्ययन गर्न मन्त्री लामिछानेले प्राविधिक टोलीलाई निर्देशन दिएका छन् । ‘कहाँ–कहाँ समस्या भइरहेको छ सबै अध्ययन प्राविधिक टोलीले गर्छ,’ सहसचिव भुसालले भने, ‘यसमा सञ्चार मन्त्रालयको प्राविधिक टोली पनि सहभागी हुन्छ ।’ मन्त्री लामिछाने विभाग पुगेका वेला तीनजना सेवाग्राहीले आफूहरूलाई फारम भर्नेले ठगी गरेको जानकारीसमेत गराएका थिए ।

दैनिक तीन–चारजना ठगिन्छन् 
त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा दैनिक तीन–चारजना सेवाग्राही ठगिन्छन् । फारम भरेर छिटो पासपोर्ट बनाइदिने बहानामा चर्को मूल्य असुल्नेलाई प्रहरीले दैनिक समात्छ । विभागका अनुसार फारम भर्दा ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिन्छ, कतिपयले छिटो पासपोर्ट बनाइदिने भन्दै सेवाग्राहीबाट चर्को रकम असुल्छन् । विभागका प्रवक्ता दुरपदा सापकोटाका अनुसार फारम भर्ने क्रममा सेवाग्राहीसँग चर्को रकम असुलेका आधारमा उनीहरूलाई पक्राउ गरिन्छ । 

जिल्ला प्रशासनले माग्यो बायोमेट्रिक दर्ता मेसिन
राहदानी वितरण सेवालाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप दुईवटा बायोमेट्रिक दर्ता मेसिन माग गरेको छ । सेवाग्राहीको चाप बढेअनुसार सेवा प्रवाहमा कठिन भइरहेको भन्दै प्रशासनले राहदानी विभागसँग थप मेसिन माग गरेको हो । हाल जिल्ला प्रशासनसँग राहदानीसम्बन्धी कार्यका लागि चारवटा बायोमेट्रिक मेसिन छन् । तर, यी मेसिन अपर्याप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । उनका अनुसार हाल दैनिक दुई सय २५ वटा फारम मात्रै लिने गरिएको छ । तर, सेवाग्राहीको संख्या धेरै भएको भन्दै मेसिन माग गरिएको हो । 

‘हाम्रो प्राथमिकतामा अन्य धेरै सेवा पनि छन्, तर राहदानी सेवालाई सहज बनाउन थप मेसिन माग गरेका छौँ,’ उनले भनिन्, ‘दुईवटा मेसिन प्राप्त भयो भने दैनिक तीन सयसम्मलाई सेवा दिन सकिन्छ ।’ उनका अनुसार यहाँबाट बायोमेट्रिक र विवरण संकलन भइसकेपछि राहदानी विभागले पासपोर्ट छापेर पठाएपछि वितरण गरिन्छ । जिल्ला प्रशासनबाट इमर्जेन्सी रूपमा पासपोर्ट बन्दैन ।

फारम भर्नै सास्ती, विभागले तोकेको समयमा पनि सर्भर डाउन 
राहदानी बनाउन सेवाग्राहीले राहदानी विभागबाहिरबाटै अनलाइन फारम भर्नुपर्छ । फारम भरिसकेपछि त्यहाँ दिइएको मितिअनुसार सेवाग्राही विभाग भुक्तानी गर्न र बायोमेट्रिकका लागि पुग्नुपर्छ । तर, सेवाग्राहीले त्यहाँ जानुपूर्व फारम भर्दा नै सास्ती खेप्ने गर्छन् । विभागको सर्भर डाउन हुँदा सोचेको वेला फारम भर्न मिल्दैन । अझ विभागले तोकिदिएकै समयमा पनि फारम भर्दासमेत सिस्टम डाउन भएको देखाउँछ । आफैँले फारम भर्न सक्नेहरू पनि विभागको सर्भर डाउन देखेर हैरानी हुने गरेका छन् ।

‘विभागले तोकिएको समयमा अपोइन्टमेन्ट फारम भर्न खोज्दा सिस्टममा समस्या देखाउँछ,’ नुवाकोटमा शान्तवीर लामाले भने, ‘बाहिर साइबरमा गएर भर्न पनि मिल्दो रहेनछ ।’ उनले आफैँले प्रयास गर्दा फारम भर्न नसकेपछि फारम नभरी विभाग आएको बताए । तर, बुधबार दिउँसो ३ बजेपछि भने उनले तीन सय रुपैयाँ तिरेर विभागबाहिरका साइबरबाट फारम भरे । 

विभागले फारम भर्नेको भिडका कारण सिस्टम डाउन भएको भन्दै ५ पुसदेखि समय तालिका सारेको थियो । जिल्ला प्रशासनले पनि सोही समयमा सर्भर खोल्ने हुँदा सिस्टममा समस्या आएको भन्दै विभागले दिउँसो ३ः३० देखि मात्रै अनलाइन बुकिङ खोल्दै आएको छ । तर, सो समयमा पनि अनलाइन फारम भर्न नमिल्दा सेवाग्राहीलाई राहदानी बनाउन सास्ती हुने गरेको छ । विभागले दिएको समयमा अनलाइनबाट फारम भर्न नमिलेको सेवाग्राहीको गुनासो छ । उदयपुरबाट इमर्जेन्सी राहदानी बनाउन काठमाडौं आइपुगेका उमेश थापाले पनि फारम भर्न समस्या हुने गरेको सुनाए । ‘आफैँले फारम भर्ने कोसिस गरेँ, तर भएन, विभागबाहिरका साइबरमा पनि भिडभाड हुने रहेछ,’ उनले सुनाए।

एउटा पासपोर्ट बनाउन २५ मिनेट समय, दैनिक ६ हजारभन्दा बढी वितरण
विभागका अनुसार इ–पासपोर्ट जारी गर्न झन्झट छ । इ–पासपोर्ट मेसिन रिडेबल पासपोर्ट हो । फारम भर्दा सही विवरण नराखे त्यसको त्रुटि मेसिनले नै पत्ता लगाउँछ । नागरिकता, राष्ट्रिय परिचय र पासपोर्टका लागि भरिएको फारमको विवरण भिड्नुपर्छ । एउटा पासपोर्ट बन्न झन्डै २५ मिनेट समय लाग्छ । हाल विभागले दैनिक ६ हजारभन्दा बढी राहदानी जारी गर्दै आइरहेको छ । यो तथ्यांक जिल्ला प्रशासनबाट पनि वितरण हुने राहदानीसहितको हो । विभागका प्रवक्ता सापकोटाका अनुसार दिनमा विभागले एक हजार नयाँ आवेदन फारम लिन्छ । फारम भरेर टोकन लिएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्छ । हालसम्म विभागबाट ४० हजारभन्दा बढी इ–पासपोर्ट जारी भएको छ । 

केशरमहलस्थित राहदानी विभागको पुरानो भवन निकै साँघुरो थियो । उक्त भवनबाट सेवा प्रवाह गर्दा निकै ढिलो हुने गरेको थियो । विभागको कार्यालय त्रिपुरेश्वरस्थित नयाँ भवनमा सरेपछि पनि सेवा प्रवाहमा उस्तै ढिलासुस्ती हुने गरेको छ । विभागले अहिले भुइँतलाबाट मात्रै पासपोर्टसम्बन्धी सेवा दिने गरेको छ । ठूलो भवनभित्र सेवा प्रवाह गर्न सहज व्यवस्था मिलाइएको छैन । जसका कारण देशभरबाट राहदानी बनाउन आएका सेवाग्राहीले सास्ती खेपछन् । बुधबार अनुगमनमा पुगेका गृहमन्त्री लामिछानेले लाइन छोट्याउने गरी काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।