Skip This
खोटाङमा बस दुर्घटना हुँदा गर्भवतीसहित ६ जना घाइते
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङमा बस दुर्घटना हुँदा गर्भवतीसहित ६ जना घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

उदयपुरको गाईघाटबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १४ बुइपामा दुर्घटना भएको छ। दुर्घटनामा एक गर्भवतीसहित ६ यात्रु गम्भीर घाइते भएका छन्।

बुइपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकीभन्दा मुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका– ११ राजापानीकी १६ वर्षीया गर्भवती रेनुका भुजेलसहित ६ जना घाइते भएका हुन्।

३२ यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेहरूमा बुइपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइपाकै कट्टीनिवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका– २ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका– १५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया सुस्मिता ढुंगाना रहेका छन्। घाइतेमध्ये वीरेन्द्रको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन्। 

बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका वीरेन्द्रको बाँया तिघ्राभन्दा माथिल्लो भागमा गहिरो चोट लागेको जनाइएको छ। गम्भीर अवस्थाका वीरेन्द्र, गर्भवती रेनुका र दिलकुमारीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन्। 

सामान्य अवस्था रहेका अन्य घाइतेको स्वास्थ्यचौकी बुइपामा प्राथमिक उपचार भइरहेको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए। दुर्घटनालगत्तै बसका चालक र सहचालक फरार भएका सोही बसका यात्रुले बताएका छन्। 

सहचालकले बस चलाउँदा दुर्घटना भएको यात्रुहरूले बताएका छन् । सहचालकले सडकमा बांगाेटिंगाे गर्दै बस हिँडाएपछि यात्रुले गाली गरेको केही समयपछि नै दुर्घटना भएको सोही बसमा सवार यात्रु युवराज खनालले बताए।

सडकबाट डिलमुनि खसेको बस रूखमा अल्झिएका कारण थप क्षति हुन नपाएको यात्रुहरूले बताएका छन् । दुर्घटना गराएर फरार भएका चालक र सहचालकको खोजीकार्य भइरहेको प्रहरीले बताएकाे छ ।