
गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आ–आफ्नो दलको नेता चयन प्रकृयालाई तिव्रता दिन थालेका छन् । बागमती प्रदेश सभा सचिवालयले बागमती प्रदेश सभामा नवनिर्वाचित सदस्यहरुको शपथको मिति तोकेसँगै दलहरु संसदीय दलको नेता चयनको प्रकृयामा व्यस्त भएका छन् ।
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी लगायतका दलहरुले संसदीय दलको नेता छान्ने तयारी थालेका छन् । अधिकांस दलहरुले सहमतीमै दलको नेता छान्ने जनाइरहेका बेला कांग्रेसले भने बागमती प्रदेश संसदीय दलको नेता चयनको लागी निर्वाचन गर्ने भएको छ । कांग्रेसले दलको नेता चयनका लागी निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।
बागमती प्रदेशमा यसपटक कांग्रेसले ३७, एमालेले २७, माओवादी केन्द्रले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, एकीकृत समाजवादीले सात, नेपाल किसान मजदुर पार्टीले तीन र हाम्रो नेपाली पार्टीले दुई सिट पाएका छन् ।
दलको नेता छान्न कांग्रेसको तयारी
कांग्रेसले दलको नेता चयनका लागी यहि पुस १३ गते निर्वाचन गर्ने भएको हो । कांग्रेसले पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरको छ । निर्वाचन कार्यक्रम प्रदेशको राजधानी हेटौंडामा हुने पनि कांग्रेसले जनाएको छ ।
कांग्रेसले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने, सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोध (छुट वा सच्याउने) र दाबी–विरोधउपर जाँचबुझ गरी दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।
यस्तै, पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ भने सोही दिन बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने र उम्मेदवारको मनोनयनउपर दाबी–विरोधका लागि बिहान ११ बजेदेखि ११ः३० बजेसम्मको समय निर्धारण गरिएको छ ।
यसैगरी, पुस १३ गते नै दिउँसो १२ बजे दाबी–विरोधउपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिनेछ भने दिउँसो १२ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारले चाहेमा नाम फिर्ता लिने सक्ने व्यवस्था गरिएको छ । दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै दिनको २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
कांग्रेस बागमती प्रदेशमा संसदीय दलको नेताका लागी बानियाँ र लामा प्रतिस्पर्धामा
बागमती प्रदेश सभामा ३७ सिट जितेको कांग्रेसका प्रत्यक्ष निर्वाचित २५ र १२ जना समानुपातिकबाट निर्वाचित भएका छन् । कांग्रेसको संसदीय दलको नेताका लागि बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले आकांक्षा देखाएका छन् ।
दलको नेताका आकांक्षी बानियाँ र लामा दुबैजना कांग्रेसको संस्थापन पक्षका नेताहरु हुन् । प्रदेश सभा सदस्य निर्वाचनको समयदेखिनै मुख्यमन्त्रीको दावी गरिरेहका बानियाँ र लामा नै कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका मुख्य प्रतिस्पर्धी हुन् । दुबै नेताहरुले पार्टी शीर्ष नेतृत्वबाट आफुले दलको नेता बनाउने आश्वसन दिएको दावी गर्दै आएका छन् ।
मुख्यगरी दलको नेताका दावेदार प्रदेश सभापति समेत रहेका बानियाँले आफु अघिल्लो कार्यकालमा पनि दलको नेता रहिसकेको र अहिले प्रदेश सभापति रहेकोले स्वभाविक दलको नेताको हकदार भएको दावी गरेका छन् । यस्तै अर्का आकांक्षी लामाले पार्टीको केन्द्रीय सदस्य समेत रहेको र प्रतिनिधि सभाको सदस्य समेत भइसकेको आफु बागमती प्रदेशमा पार्टीको दलको नेता र मुख्यमन्त्री बन्नका लागी प्रदेशमा चुनाव लडेको दावी गर्छन ।
एमालेमा दलको नेता सहमतीमै
यता प्रदेशसभाको दोस्रो ठूलो दल एमालेले भने दलको नेता सर्वसम्मत रुपमा चयन गर्ने बताएको छ । दलको नेता सहमती मै चयन गर्ने भएपछि विशेष तयारी नगरिएको तर छिट्टै बैठक बोलाएर दलको नेता चयन गर्ने एमालेका प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए ।
उनले दलको नेता चयनको प्रकृया पौष १४ गते भित्र टुंग्याउने दावी गरे । एमालेमा अहिलेसम्म चितवनबाट निर्वाचित जगन्नाथ थपलिया, काठमाडौंबाट निर्वाचित केशब प्रसाद पोखरेल, अमन कुमार मास्के लगाएतको नाम दलको नेताको लागी चर्चामा छ ।
तर केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीका निकट रहेका जगन्नाथ थपलियाले दलको नेतामा दावी गर्दै आएका छन् । २७ जना प्रदेशसभा सदस्य रहेको एमालेमा थपलिया नै दलको नेता बन्ने श्रोतको दावी छ ।
माओवादीमा पनि दलको नेता सहमतीमै
यस्तै माओवादी केन्द्रले पनि दलको नेता चयनका लागि सहमतिमै प्रयास गर्ने भएको छ । दलको नेता चयनको लागी अहिलेसम्म मिति नतोकेको माओवादीले दलको नेता चयनको लागी अनौपचारिक छलफल भने भइरहेको जनाएको छ ।
माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले दलको नेता चयनका लागि पार्टीभित्र अनौपचारिक छलफल चलिरहेको बताए । उनले दलको नेता सहमती मै चयन हुने दावी गरे । उनले सकेसम्म प्रदेश सभा सदस्यहरुको शपथ अगावै सहमती मै दलको नेता टुंग्याउने जानकारी दिए । यदि सहमतीको प्रयासको लागी समय अपुग भए प्रदेश सभा सदस्यहरुको शपथपछि भएपनि दलको नेता चयन गरिने उनको भनाइ छ । सहमती हुन नसकेको अवस्थामा भने दलको नेता चयनका लागी निर्वाचन विधि अपनाउन सकिने उनले स्पष्ट पारे ।
माओवादीमा अहिलेसम्म संसदीय दलको नेतामा मुख्यरुपमा २ जनाको चर्चा छ । माओवादी केन्द्रबाट दलको नेताका लागि माओवादी केन्द्र प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र बागमती प्रदेश सरकारमा मन्त्रीसमेत रहेका नेता शालिकराम जम्कट्टेल प्रमुख दावेदार मानिएका छन् । जम्कट्टेलले यस अघि पनि माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा रहेर २ पटक मन्त्री बनिसकेका छन् ।
साना दलहरुमा नेता चयन सहमतीमै
बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलहरु राप्रपा, एकीकृत समाजवादी, मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले पनि दलको नेता सहमती मै चयन गर्ने बताएका छन् ।
बागमती प्रदेशमा १३ सदस्य रहेको राप्रपाले सहमती मै दलको नेता चयन गर्ने प्रयास भइरहेको जनाएको छ । राप्रपा बागमती प्रदेश समितिका सचिव गुञ्जबहादुर न्यौपानेले दलको नेता चयनको लागी छलफल चलिरहेको जानकारी दिए ।
उनले राप्रपामा दलको नेताको लागी उद्धव थापा र भुवन पाठक गरि दुईजना आकांक्षी रहेको बताउँदै सहमतीमै दलको नेता चयन हुने बताए । यद्यपी सहमती हुन नसके निर्वाचन प्रक्रियाबाटै भएपनि दलको नेता चयन गर्ने सचिव न्यौपानेले बताए ।
यता एकीकृत समाजवादीले पनि दलको नेता सहमती मै चयन गर्ने जनाएको छ । प्रदेश सभा सदस्यहरुको शपथ अगावै दलको नेता चयन गर्ने एकीकृत समाजवादीका केन्द्रीय पोलिट व्युरो सदस्य एवं बागमती प्रदेश सरकरका आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
बागमती प्रदेशमा एकीकृत समाजवादीका ७ जना प्रदेश सदस्य रहेका छन् । दलको नेताका लागी एकीकृत समाजवादीबाट अहिलेसम्म खनालको मात्र चर्चा रहको छ । उनी नै एसको बागमती प्रदेश संसदीय दलको नेता बन्ने पक्का देखिएको छ । यसैगरी ३ जना प्रदेश सदस्य रहेको मजदुर किसान पार्टी र २ जना सदस्य रहेको हाम्रो नेपाली पार्टीले पनि सहमती मै दलको नेता चयन गर्ने बताएका छन् ।
गठबन्धनको संभावना
बागमतीमा कूल ११० सदस्यीय प्रदेशसभामा कुनै पनि दलहरूले स्पष्ट बहुमत भने पाउन सकेका छैनन् । बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीको प्रतिनिधित्व रहेको छ । बागमती प्रदेशसभामा कांग्रेसले प्रत्यक्षमा २५ सिट जित्दा समानुपातिकबाट १२ सिट प्राप्त गर्दै ३७ जना सांसद पाएको छ भने एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट पाएको छ ।
त्यस्तै प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ७ सिट गरी २१ जना सांसद पाएको छ । एकीकृत समाजवादीले प्रत्यक्षबाट ५ र समानुपातिकबाट २ गरी ७ जना सांसद पाएको छ । भने राप्रपाले १३, नेमकिपाले ३ र हाम्रो नेपाली पार्टील २ जना सांसद पाएका छन् ।
यस्तो अवस्थाम सरकार गठनका लागी वर्तमान सत्तारुढ गठबन्धन नै बलियो देखिएको छ । यहाँ कुनै पनि दलहरूले बहुमत नपाएको अवस्थामा केन्द्रीय समिकरणकै प्रभाव पर्ने देखिएको छ । कूल ११० सदस्यीय संसदमा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक छ । वर्तमान अवस्थामा सत्ता गठबन्धनसँग पर्याप्त बहुमत रहेको छ । हालको अवस्थामा बागमती प्रदेशमा सत्ता गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने देखिन्छ ।
सत्ता गठबन्धन विभाजन भएको खण्डमा मात्रै सरकार गठनको अन्य विकल्प खोजिने छ । अन्यथा बागमती प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेकाले सत्ता गठबन्धन दलहरूले नै सरकार बनाउने पक्का छ । बागमती प्रदेशमा कांग्रेस ३७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादी ७ गरी ६५ जना सांसद रहेका छन् ।