
कुख्यात अपराधी चार्ल्स शोभराजलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। पर्यटन भिसामा नेपाल आई अपराधमा संलग्न भएर अध्यागमनसम्बन्धी कसुर गरेको आधारमा उनलाई यस्तो जरिवाना भएको छ।
यो कसुरमा अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ। गम्भीर किसिमको अपराधमा संलग्न भएकाले उनलाई जरिवाना गराइएको विभागका एक उच्च अधिकारीले बताए।
जरिवाना गराएपछि उनको निष्कासनसम्बन्धी निर्णय गर्न विभागले फाइल गृह मन्त्रालयमा पठाएको छ। १० वर्ष वा आजीवन नेपाल आउन नपाउने गरी निष्कासन गर्न लागिएको स्रोतले बतायो। निष्कासनसम्बन्धी निर्णय गृहसचिवले गर्न सक्ने अधिकार मन्त्रिपरिषद्ले प्रत्यायोजन गरेको छ।
शोभराजलाई आजै फ्रान्स निष्कासनको तयारी भइरहेको छ। ट्राभल डकुमेन्ट नहुँदा उनको निष्कासन प्रक्रिया लम्बिएको हो। फ्रान्स दूतावासले ट्राभल डकुमेन्ट उपब्लध गराएपछि निष्कासनको निर्णय गर्न लागिएको हो। केन्द्रीय कारागारबाट छुटेलगत्तै उनलाई कडा सुरक्षाबीच अध्यागमन विभागमा राखिएको छ।