१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल व्यवसाय शिखर सम्मेलन हुँदै

नेपाल सरकार, सिबिफिन र एनबिआईको संयुक्त आयोजनामा माघमा केन्द्रीय स्तरको र फागुनमा सातै प्रदेशमा व्यवसाय शिखर सम्मेलन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:२१:oo

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)को संयुक्त आयोजनामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ कार्यक्रम हुने भएको छ । विभिन्न संघीय मन्त्रालयहरूको समेत साझेदारीमा माघ मसान्तभित्र सातै प्रदेश र फागुन मसान्तभित्र संघीय स्तरको शिखर सम्मेलन गर्न लागिएको हो । 

यसका लागि बुधबार सिबिफिन र एनबिआईबीच सम्झौतासमेत भएको छ । सम्झौतामा सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह र एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका हुन् । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा बृहत् नीति संवाद तथा प्रदर्शनी गरिनेछ । साथै, संघीय स्तरमा अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित बृहत् नीति संवाद गरिने बताइएको छ । 

शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सोका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ । 

यस सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरूको सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रहरूको पहिचानसहित लगानी विस्तार हुने अपेक्षा गरिएको छ । साथै, युवा तथा महिला उद्यम–व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने अपेक्षासमेत गरिएको छ ।

प्रदेशस्तरीय बृहत् नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, प्रमुख राजनीतिक दलका नेता, व्यावसायिक संस्थाका नेता, सम्पूर्ण पालिकाका प्रमुख–उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता गराई बृहत् बहसको कार्यक्रम हुने र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको उपभोग र निर्यात प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी प्रदर्शनी राखिने जनाइएको छ । त्यसैगरी, समापन सत्रका रूपमा संघीयस्तरमा आयोजना हुने शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय दातृ संस्थाका उच्च अधिकारीहरूको व्यापक सहभागितामा बृहत् नीति संवाद आयोजना गरिनेछ ।

त्यसैगरी, शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरी ‘आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र’ विषयक राष्ट्रियस्तरको लेखन प्रतियोगितासमेत सञ्चालन गरिनेछ । त्यसमा उत्कृष्ट २५ वटा लेखलाई नगद पुरस्कार र प्रशंसापत्रबाट पुरस्कृत गरिनेछ । यस्तै, सफल उद्यमी–व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरूलाई समेत अवार्डमार्फत सम्मान गरिनेछ ।

नीति संवाद तथा शिखर सम्मेलन समापन भएको ४५ दिनभित्रै नीति संवाद कार्यक्रमहरूबाट प्राप्त निष्कर्षको संश्लेषण–विश्लेषण गरी कोभिड– १९ पछिको आर्थिक एवं बैंकिङ क्षेत्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे भिजन डकुमेन्ट तयार गरी समाधानका लागि नेपाल सरकार र मातहतका निकायसमक्ष पेस गर्ने र कार्यान्वयनका लागि संयुक्त पहल गरिनेछ । 

ad
ad