१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ पौष ७ बिहीबार o८:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भिड थेग्न नसक्दा विजय र्‍याली रद्द

च्याम्पियन लेखिएको बसमा समर्थक नै हामफालेपछि विश्व च्याम्पियन खेलाडीलाई सुरक्षित स्थान पुर्‍याउन हेलिकोप्टरको प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार o८:११:oo

ब्युनर्स आयर्स/२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताका च्याम्पियन अर्जेन्टिनी खेलाडी विजयोत्सव र्‍यालीको भिड थेग्न नसक्दा बीचबाटोबाटै हेलिकोप्टरबाट गन्तव्यमा लागेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । कतारको दोहाबाट २१ घन्टा लामो हवाईजहाज यात्रापछि अर्जेन्टिनी खेलाडी सीधै विजयोत्सवमा सहभागी भएका थिए । अर्जेन्टिना फुटबल महासंघ र राष्ट्रपति कार्यालयले संयुक्त रूपमा आयोजना गरेको विजय र्‍यालीमा करिब ४० लाख समर्थक रहेको जनाइएको छ । 

विश्व च्याम्पियन खेलाडीहरूलाई फरक–फरक दुईवटा छत नभएको बसको व्यवस्था गरिएको थियो । भिडबाटै एकजना समर्थक खेलाडी बसेको बसमा हामफालेका थिए । समर्थक नै बसमाथि चढ्न थालेपछि सुरक्षाकर्मीले खेलाडीलाई सुरक्षा प्रदान गर्न हम्मेहम्मे परेको थियो । तत्काल खेलाडीको सुरक्षा गर्न हेलिकोप्टर व्यवस्था गरियो । त्यही हेलिकोप्टरमा सवार हुँदै खेलाडीले आफूलाई सुरक्षित अनुभव गरेको डेली मेलले जनाएको छ । 

‘ब्युनर्स आयर्समा भिड यति थियो, त्यसलाई नियन्त्रण गर्न कसैको हातमा थिएन, खेलाडी बसेको च्याम्पियन बसमा समर्थक नै उफ्रिए,’ अर्जेन्टिनी फुटबल महासंघले जनाएको छ, ‘खेलाडीहरूको सुरक्षाकै लागि हामीले हेलिकोप्टर तत्काल झिकायौँ, उनीहरूलाई सुरक्षित स्थानमा लग्यौँ ।’ विजयोत्सवमा लाखौँ समर्थकलाई आठ घन्टा विश्वकपको ट्रफी देखाउने कार्यक्रम तय भएको थियो । तर, अत्यधिक भिडका कारण सडकको अवस्था अस्तव्यस्त देखिएको थियो ।

आयोजकद्वारा र्‍याली रद्द
आयोजकले र्‍यालीको योजना परिवर्तन गर्दै र्‍याली नै रद्द भएको घोषणा गरेको थियो । ‘उत्सव मनाउनेहरूको खुसीको विस्फोटका कारण जमिनमा र्‍यालीलाई निरन्तरता दिनु असम्भवजस्तै थियो,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता गाब्रिएला केरुटीले बताएकी छिन्, ‘भिडियोहरूमा समर्थकहरू खेलाडी चढेको बसमा पुलबाट हामफाल्दै गरेको देख्न सकिन्छ, त्यसपछि खेलाडीको सुरक्षा नै पहिलो प्राथमिकतामा राख्यौँ, विजय र्‍याली नै रद्द गर्‍यौँ ।’ 

यद्यपि, विश्वकपको उत्सव र्‍याली बीचबाटोमै रोकिए पनि समर्थकको उपस्थिति इतिहासकै ठूलो भएको प्रवक्ता केरुटीले दाबी गरेकी छिन् । ‘हामी मंगलबार एउटा ऐतिहासिक दिनको साक्षी बन्यौँ, यो अर्जेन्टिनी इतिहासकै सबैभन्दा ठूलो र असाधारणमध्येको एक उत्सव थियो, जहाँ लाखौँ समर्थकको महासागर थियो,’ उनले भनिन् । ब्युनर्स आयर्सको मध्यभागसम्म करिब २० माइलका लागि विजयोत्सव सुरु भएको थियो । यसैबीच, महासंघका अध्यक्ष किकुईले समर्थक तथा खेलाडीसँग माफी मागेका छन् । ‘हामीले बीचमै उत्सव रोक्यौँ, यसबाट खेलाडी र समर्थक निराश छन्, तर खेलाडीको सुरक्षा दिनु हाम्रो दायित्व हो,’ किकुईले भने ।