Skip This
बाक्सिला बजारका आगलागीपीडितका लागि राहत संकलन सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ पौष ६ बुधबार २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाक्सिला बजारका आगलागीपीडितका लागि राहत संकलन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार २o:o८:oo

खोटाङकाे केपिलासगढी गाउँपालिका– ४ बाक्सिला बजारका आगलागीपीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ। 

गत सोमबार साँझ भएको आगलागीबाट धनसम्पत्ति गुमाएर विस्थापित भएका आगलागीपीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य संघ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम संकलन अभियान सुरु गरिएको हो। 

बाक्सिला बजारमा मंगलबार सञ्चालन गरिएको घरदैलो अभियानबाट चार लाख ५५ हजार ९५ सहयोग रकम संकलन गरिएको उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताए। 

उता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले पनि अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ। यस्तै, रेडक्रस उपशाखा बाक्सिलाले अग्निपीडित परिवारलाई एक-एक थान सिरक प्रदान गरेको छ। 

बाक्सिला बजारका आगलागीपीडितको सहयोगार्थ एकद्वार प्रणालीमार्फत सहयोग संकलन अभियान सुरु गरिएको छ। आगोले व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ। अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभी र एक्स्काभेटर लगाएर भत्काइएको थियो।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा भएको आगलागीमा रु. चार करोड ९९ लाख ३३ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

ढुंगामाटोले बनेको परम्परागत घर रहेको बाक्सिला बजारमा विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने स्थानीय बासिन्दाको अनुमान छ। आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार अहिले आफन्तकामा आश्रय लिएर बसिरहेका छन्। यसैबीच, प्रदेश १ सरकारले बाक्सिला बजारका अग्निपीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।