१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Friday, 08 November, 2024
दीपक अधिकारी काठमाडौं
२o७९ पौष ६ बुधबार १७:२५:oo
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

देउवालाई शक्तिमा फर्काएका ओली-प्रचण्ड-खनाल के सोच्दै होलान् ?

नेकपा विभाजनको २२ महिनापछि देखिए एउटै लहरमा 

Read Time : > 3 मिनेट
दीपक अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार १७:२५:oo

डेढ वर्षअघिसम्म एउटै पार्टीमा रहेका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता अहिले भिन्नभिन्न पार्टीमा छन् । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच ३ जेठ २०७५ मा एकीकरण घोषण भएको थियो । ओली र प्रचण्ड नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष थिए । नेपाल, खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल रहेको सचिवालय गठन भएको थियो । 

पार्टी गठनपछिका वैचारिक राजनीतिक तथा सांगठनिक एकीकरणसम्बन्धी काममा पर्ने गाँठो त्यही सचिवालयले फुकाउने गरेको थियो । तर, पार्टी एकताको एकाध वर्षमै नेकपाभित्र ठूलै गाँठो पर्न थाल्यो । एकीकृत पार्टीभित्रको शक्ति सन्तुलनमा फेरबदल देखापर्‍याे र, अन्ततः सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज हुन पुग्यो । 

एमाले र माओवादी एकतापूर्वको साबिक अवस्थामा फर्किए । साढे ३२ महिना एउटै पार्टीमा बिताएका नेताहरूबीचको हार्दिकता कटुता मात्र होइन, शत्रुताकै स्तरमा देखा पर्न थाल्यो । केहीअघिसम्म सम्मानपूर्वक एक–अर्कालाई कमरेड भनेर सम्बोधन गर्नेहरू अपराधीको संज्ञा दिन थाले । कटुता यतिमै रोकिएन । एमाले विभाजित हुन पुग्यो। एमालेभित्र पाखा लगाइएका नेपाल, खनाललगायतका नेताले नेकपा (एकीकृत समाजवादी) नामको पार्टी गठन गरे । वर्षौँ एमालेमा सँगै रहेका नेताहरूबीच पानी बाराबारको अवस्था बन्यो । 

नेताहरूबीच बोलचाल बन्द भयो । सार्वजनिक मञ्चहरूमा सँगै देखा पर्न छाडे । चितवनमा भएको दशाैँ महाधिवेशनको उद्घाटन समारोहमा एमालेले आमन्त्रण गरे पनि प्रचण्ड सहभागी भएनन् । एमालेले एकीकृत समाजवादीलाई निमन्त्रणासम्म पठाएन । काठमाडौंमा भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी भएनन् । यसरी एउटै मञ्चमा सँगै देखा पर्न छाडेका नेताहरू बुधबार भने राष्ट्रपति कार्यालय शीतलनिवासमा एउटै लहरमा थिए । 

तस्बिर ः ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

राष्ट्रपति कार्यालयले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणालाई जेष्ठ सदस्यको शपथ ग्रहणका लागि समारोहको आयोजना गरेको थियो । समारोहमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईलाई पूर्वप्रधानमन्त्रीका रूपमा निम्त्याइएको थियो । नेपाल अस्वस्थ भएकाले समारोहमा सहभागी थिएनन् । ओली, प्रचण्ड र खनाल भने एउटै लहरमा देखा परे । ओली, प्रचण्ड र खनालले केहीबेर संवादसमेत गरे । यो त्यतिवेला भएको छ, जतिबेला यी तीनवटै दलले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नमीठो पराजय व्यहोरेका छन् । 

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीले गठबन्धन बनाएर भाग लिएका थिए । जनता उनीहरूको पक्षमा उर्लिए । पहिलो दल कांग्रेस प्रत्यक्षमा २३ सिटमा खुम्चिएर तेस्रो भयो । धन्न समानुपातिक मतबाट ४० सिट थप भएपछि कांग्रेस ६३ सिटसहित दोस्रो दल बन्यो । यता, एमाले र माओवादीले प्रचण्ड बहुमत हासिल गरे । एमाले एक्लैले प्रत्यक्षमा ४० र समानुपातिकमा ४१ गरी १२१ सिट आर्जन गर्यो । प्रत्यक्षमा ३३ र समानुपातिकमा २० गरी ५३ सांसदसहित माओवादी बलियो तेस्रो दल बन्यो । 

३ फागुन ०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को समर्थनमा प्रधानमन्त्री नियुक्त हुँदा ओलीलाई एमालेका १२१ र माओवादीका ५३ गरी १७४ सांसदको समर्थन थियो ।३ जेठ ०७५ मा एमाले र माओवादीबीच एकता भएपछि मुलुकले पहिलोपटक बहुमत प्राप्त कम्युनिष्ट पार्टीको सरकार प्राप्त गर्यो । १४ जेठ ०७५ मा दुईबुँदे सहमति गरेर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि २७५ सदस्यीय प्रतिनिधिसभामा ओली सरकारलाई स्पष्ट दुईतिहाइको समर्थन प्राप्त भयो ।

तर, ओली, प्रचण्ड, नेपाल, खनालहरूका स्वार्थको टकरावमा परेर नेकपा थिलथिलो मात्र भएन, अस्तित्व नै विलिन हुन पुग्यो । कुनै समय दुईतिहाइको नेतृत्व गरेका ओलीले २७ वैशाख ०७८ मा प्रतिनिधिसभामा विश्वासको मत लिँदा ९३ मत मात्र प्राप्त गरे । सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीको मात्रै होइन, एमालेको पनि सबै मत ओलीले पाउन सकेनन् । अन्ततः एमालेसमेत विभाजित हुन पुग्यो । 

एकले अर्कोलाई सिध्याउने खेलमा लागेका नेताहरू विभाजित अवस्थामै गत ४ मंसिरमा निर्वाचनमा गए । ओली राजतन्त्र र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजीजस्ता राजनीतिक मुद्दा बोकेको राप्रपासँग गठजोडतिर लागे । प्रचण्ड र नेपाल अस्तित्व रक्षाको लागि कांग्रेसको फेरो समात्न बाध्य भए । परिणामले पनि त्यही देखायो । ०७४ मा प्रत्यक्षमा ८० सिट जितेको एमाले प्रत्यक्षमा झन्डै आधा घटेर ४४ मा सीमित भयो । समानुपातिकमा ४१ बाट ३४ मा झर्यो । 

३३ सिट जितेको माओवादी पनि आधा खुम्चिएर प्रत्यक्षमा १८ र समानुपातिकमा १४ मा सीमित भयो । एकीकृत समाजवादीले प्रत्यक्षमा दश सिट जिते पनि राष्ट्रिय पार्टीसमेत बन्न सकेन । उता, प्रत्यक्षमा २३ सिटबाट कांग्रेस ५७ मा उक्लियो । समानुपातिकमा ३२ सहित ८९ सिट जितेर प्रतिनिधिसभामा पहिलो पार्टी बन्यो । ओली–प्रचण्ड–नेपाल–खनाल वामपन्थी विचारमा आस्था राख्ने, मुलुकमा कम्युनिष्ट पार्टीको सरकार चाहनेहरूका लागि यदुवंशी सावित भए । प्रचण्ड बहुमत आर्जन गरेका वामपन्थी शक्ति पाँच वर्षभित्रै शक्तिहीन बन्न पुगे । 

अहिले संघ र प्रदेशमा नयाँ सरकार गठनको कसरत चलिरहेको छ । कुनै एक दलले स्पष्ट बहुमत नल्याएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री चयनका लागि आह्वान गरिसकेकी छिन् । सरकार कसको बन्ने भन्ने अझै अन्योलमै छ । सत्ता साझेदार दलहरूले निर्वाचनमा गठबन्धन बनाएरै भाग लिएको भए पनि सोचेजस्तो परिणाम नआउँदा त्यसभित्र केही असन्तोष देखिन्छ । कांग्रेसले सरकारको नेतृत्व पहिले गर्ने दावी गरिरहेको छ भने माओवादीले पनि त्यो दावी छाडेको छैन । प्रधानमन्त्रीसँगै राष्ट्रपति पद कसले पाउने भन्नेमा पनि सत्तागठबन्धनमा बार्गेनिङ चलिरहेको छ । 

ताजा जनादेशले दोस्रो दलमा खुम्चिनु परे पनि एमाले संसद्भित्र बलियो शक्ति बनेको छ । कांग्रेस, माओवादी र समाजवादीलाई बाहिरै राखेर बाँकी जम्मा गर्न सके एमालेले पनि सरकार बनाउन सक्ने अंकगणित प्रतिनिधिसभामा छ । पछिल्ला दिन एमाले र माओवादीका दोस्रो तहका नेताहरूबीच छलफल चलिरहेका छन् । दुवै पार्टीका दोस्रो तहका नेताहरू पुनः वामपन्थी एकताको विकल्प नरहेको बताउन थालेका छन् । निर्वाचनको परिणामले पनि त्यसलाई सिद्ध गरेको उनीहरूको भनाइ रहने गरेको छ । 

नेकपा विभाजनपछि राष्ट्रपति कार्यालयमा यसअघि भएका औपचारिक समारोहमा यी नेताहरू एकसाथ उपस्थिति देखिएको थिएन । यस्तोमा ताजाजनादेशपछि बदलिएको शक्ति सन्तुलनको पृष्ठभूमिमा बुधबार यी तीन नेता एउटै लहरमा देखिए । नेकपा विभाजन नहुँदो हो त मुलुकमा पाँचै वर्ष कम्युनिष्ट पार्टीको सरकार हुने थियो । देउवा पाँचौँपटक प्रधानमन्त्री बनेका हुने थिएनन् । न, प्रचण्ड–नेपाल देउवासँग काँध मिलाएर निर्वाचनमा सहभागी हुन्थे । न संसदमा वामपन्थी शक्तिको बहुमत गुम्थ्यो । राष्ट्रपतिले पशुपतिशमशेर राणालाई जेष्ठ सदस्यको शपथ गराइरहँदा राष्ट्रपतिको छेउमा देउवा होइनन्, ओली, प्रचण्ड वा नेपाल प्रधानमन्त्रीका हैसियतमा उभिएका हुन्थे । अहिले राष्ट्रपतिसँग उभिएका देउवा तल्लो लहरबाट साक्षी बनिरहेका हुन्थे । 

ओली–प्रचण्ड–खनाल सार्वजनिक कार्यक्रममा एकसाथ देखिन छाडेको धेरै भएको थियो । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनीहरू एउटै लहरमा थिए । केहीबेर अापसमा भलाकुसारी पनि गरे । २२ महिनाअघिसम्म संघीय संसद्मा  दुईतिहाइ शक्ति भएका यी नेताकाे मनमा बुधबारको समारोहमा राष्ट्रपतिको छेउमा उभिएका शेरबहादुर देउवालाई देखेर  कस्ताे भाव पैदा भयाे हाेला ? यो परिस्थिति आउनुमा उनीहरूले देउवाको ग्रहलाई बलियो ठाने होलान् कि अस्तित्व स्वीकार्न नसक्ने आफूहरूभित्र रहेको असहिष्णुपनलाई दोषी देखे होलान् ?