१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले सरकार गठनको अनुचित र फोहोरी खेलमा लाग्दैन : ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५१:oo

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सरकार गठनको अपवित्र र अनुचित खेलमा सहभागी नहुने घोषणा गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले सरकार गठनका लागि ९ मंसिरसम्म दिएको समयसीमा चार दिन बाँकी छँदा मंगलबार ओलीले एमालेको औपचारिक धारणा सार्वजनिक गरेका हुन् । 

ओलीले एमाले सिद्धान्त, एजेन्डा, उद्देश्य र लक्ष्यविहीन सरकार गठनको खेलबाहिर रहेको भन्दै प्रतिपक्षमा बसेर पनि देश र जनताको हितलाई सर्वोपरीमा राख्दै अगाडि बढ्न सकिने मान्यतामा रहेको बताए । ‘आमचुनावपछि नयाँ सरकार बन्नु अपरिहार्य छ, तर सरकार किन बनाउने ? केका लागि बनाउने ? यी चिजहरूको उत्तरपछि सरकार कसको बन्ने कुरा आउँछ । सरकार देश र जनताका लागि, सुशासन र विकासका लागि, भ्रष्टाचार नियन्त्रण र लोकतन्त्र सुदृढीकरणका लागि बन्नुपर्छ,’ नवनिर्वाचित सांसदका लागि आयोजित बधाई कार्यक्रममा ओलीले भने, ‘तर, सरकार गठन स्वार्थ, सेटिङ, गठबन्धन, वैयक्तिक स्वार्थ, कसले कुन पद पाउने, कुन पद पाउनका लागि, लोकतन्त्र कमजोर बनाउने भन्ने दिशामा केन्द्रित छ । यो दुःखद मात्र होइन, डरलाग्दो खेल हो । सरकार गठनको यस्तो अपवित्र, अनुचित र फोहोरी उद्देश्यका निम्ति एमाले पूर्ण असहमत छ । हामी यस्ता क्रियाकलापप्रति असहमत छौँ र यस्तो कुरामा हाम्रो सहभागी हुने छैनौँ ।’

ओलीले आफ्नो दल लोकतन्त्रलाई कमजोर बनाउने गरी उद्देश्य र गन्तव्यहीन अनुचित स्वार्थमा बन्ने सरकार गठन प्रक्रियाभन्दा बाहिरै रहने पनि प्रस्ट्याए । ‘हामी सत्ता या प्रतिपक्षमा बस्न तयार छौँ । जहाँ भए पनि राष्ट्रियता, लोकतन्त्र, सुशासन, विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्थामा दृढतापूर्वक अडिन्छौँ,’ उनले भने, ‘हामी के प्राप्त गर्छौँ, कुन पद पाउँछौँ भन्ने कुरालाई केन्द्र भागमा राख्दैनौँ, देश, जनताको हितलाई सर्वोपरी राखेर हाम्रो भूमिका जहाँ भए पनि खेल्छौँ । सडक, संसद्, सरकारमा जहाँ उपस्थित हुन्छौँ । देश र जनताको हितमा आवाज उठाउँछौँ, उभिन्छौँ । अरू पार्टी र हाम्रो पार्टीबीच त्यही फरक छ ।’

एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन गरेर चुनाव लड्नेहरू बहुमत नपुगेर सरकार बनाउनका लागि अरूकै सहयोग र सेटिङका लागि प्रयासरत रहेको भन्दै ओलीले त्यसले मुलुकको राजनीतिलाई अन्योलको अवस्थामा पु¥याएको दाबी गरे । ‘आज धेरै कुराहरू फेरि लेनदेन, सेटिङतर्फ जाँदै छ । हिजो चार राष्ट्रिय पार्टी थिए, आज सात पार्टी छन् । परिणाम सरकार गठनबारेमा बोल्न पनि सक्दैनन्, कसको सरकार, कसको नेतृत्वमा बन्छ कसैले भन्दैन । लोकतन्त्रमा यस्तो अन्योल हुनुपर्ने होइन । लोकतन्त्रलाई कमजोर बनाएपछि अन्योल सुरु भएको छ,’ ओलीले भने ।

ओलीले जनादेशको उल्लंघन गरेर देशलाई अस्थिरता, कुशासन र अन्योलतर्फ धकेल्दै सेटिङमा देश चलाउन खोज्ने षड्यन्त्र चिर्न ताजा जनादेशका लागि चुनावको मिति घोषणा गरेर प्रतिनिधिसभा भंग गरेको तर्क दोहो¥याए । तर, सर्वोच्च अदालतको दुरुपयोग गरेर परमादेशबाट बनेको सरकारका कारण बितेको १६ महिनामा देश असाधारण ढंगले अस्थिरता, सामाजिक र सांस्कृतिक विचलन तथा चरम अराजकतातर्फ धकेलिएको दाबी पनि गरे ।

ओली सर्वसम्मत  संसदीय दलको नेता चयन
एमाले अध्यक्ष केपी ओली सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । ओलीलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरेका थिए । प्रस्तावलाई सांसदहरूले सर्वसम्मत पारित गर्दै ओलीलाई दलको नेता चयन गरेका हुन् । दलको बैठकअघि ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ शीर्षक दिइएको कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित सांसदहरूलाई बधाई दिएका थिए ।

ad
ad