१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ५ मंगलबार ०६:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस संस्थापनबाट देउवा एक्ला दाबेदार : पछि हटे रामचन्द्र, शशांक र प्रकाशमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ५ मंगलबार ०६:२६:००

दलको नेतामा आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह पछाडि हटेपछि संस्थापनमा देउवा एक्ला दाबेदार

कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक्ला दाबेदार भएका छन् । आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह उम्मेदवारीबाट लगभग पछि हटेका छन् ।

घोषित रूपमा अरू नेताको आकांक्षा छैन  िएनपी साउद, संस्थापन समूहका नेता

पार्टी सभापति संसदीय दलको नेतामा लड्नुहुन्छ, संस्थापनबाट अरू कुनै नेताले घोषित रूपमा आकांक्षा राख्नुभएको छैन । सबैको चाहना सभापति सर्वसम्मत हुँदा पार्टीलाई फाइदा हुन्छ भन्ने नै छ ।

देउवानिकट नेता एनपी साउदले संस्थापनबाट सभापति देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयासमा प्रगति भएको बताए । ‘सभापति संसदीय दलको नेतामा लड्नुहुन्छ, संस्थापनबाट अरू कुनै नेताले घोषित रूपमा आकांक्षा राख्नुभएको छैन,’ उनले भने, ‘सबैको चाहना सभापति सर्वसम्मत हुँदा पार्टीलाई फाइदा हुन्छ भन्ने नै छ ।’

संस्थापनबाट आकांक्षा राखेकामध्ये वरिष्ठ नेता पौेडेलले पनि आफू उम्मेदवार बन्ने–नबन्ने टुंगो लागिनसकेको बताए । ‘अहिलेसम्म टुंगो लागिसकेको छैन । साथीहरूसँग छलफल गरिरहेको छु,’ उनले सोमबार साँझ नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै भने ।

शशांक कोइरालाले पनि सभापति देउवा नै संसदीय दलको नेतामा उपयुक्त हुने अभिव्यक्ति दिँदै आएका छन् । नेता प्रकाशमान सिंह सभापति देउवासँग निरन्तर छलफलमा छन् । सिंहनिकट स्रोत भन्छ, ‘उहाँले कुनै तयारी गर्नुभएको छैन । उहाँ सभापतिज्यूसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । सभापतिज्यू लड्ने अवस्थामा उहाँलाई नै सघाउने मनस्थितिमा हुनुहुन्छ ।’

सभापति देउवा तीनैजना नेतासँग उनीहरूको व्यवस्थापनलाई लिएर संवादमा छन् । सभापति देउवा आकांक्षी नेता र सांसदसँग छलफल गरिरहेका छन् । ‘महत्वपूर्ण नेता र सबै सांसदसँग भेटघाट र सम्पर्कमा हुनुहुन्छ,’ साउदले भने । 

यसरी चुनिन्छ कांग्रेसमा संसदीय दलको नेता

कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था छ । संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ । 

दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । 

पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ । 

निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न केन्द्रीय समितिले निर्वाचन समिति बनाउने व्यवस्था छ । शनिबार कांग्रेस कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ । परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् भने संस्थापन इतर समूहमा २४ प्रत्यक्ष (महामन्त्री विश्वप्रकाश शर्मासमेत गरी । शर्माले महामन्त्री थापालाई सघाउने बताउँदै आएका छन् ।) र, १० समानुपातिक गरी ३४ जना सांसद देखिन्छन् ।