Skip This
कैलाली १ : पाँच वर्षसम्म जनप्रतिनिधिविहीन, अहिले तीन सांसद
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली १ : पाँच वर्षसम्म जनप्रतिनिधिविहीन, अहिले तीन सांसद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

विगत पाँच वर्षसम्म प्रतिनिधिसभामा प्रतिनिधिविहीनताको अवस्थामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर १ ले यसपालि भने तीनजना महिला प्रतिनिधि पाएको छ। एकजना प्रत्यक्ष र दुईजना समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका हुन्।

प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ तथा समानुपातिकबाट नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र नेकपा माओवादी केन्द्रका रूपा सोसी चौधरी सांसद बनेका छन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रहेकी रञ्जिता आजीवन कारावासको सजाय भोगिरहेका निवर्तमान सांसद रेशम चौधरीकी पत्नी हुन्। ०७४ को निर्वाचनमा यो क्षेत्रबाट रेशम चौधरी भारी मतसहित विजयी भएका थिए। तर, संसदमा उनले पाइला राख्न पाएनन्।

त्यसवेला टीकापुर घटनाका मुख्य अभियुक्त रही फरार अवस्थामै चुनाव जितेका रेशमले पछि अदालतमा आत्मसमर्पण गरेका थिए । साउन ०७२ मा थरुहट आन्दोलनका क्रममा आठ प्रहरीसहित नौजनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भएका उनी आजीवन कारावासको सजाय भोगिरहेका छन्। 

रेशम जेलमा परेपछि विगत पाँच वर्ष यो क्षेत्र प्रतिनिधिसभातर्फ प्रतिनिधित्वविहीनताको अवस्थामा रह्यो । क्षेत्र नम्बर १ ले यसपटक तीनजना सशक्त महिला सांसद पाएको हो। अध्यक्ष श्रेष्ठ प्रदेशभरि प्रत्यक्षमा चुनाव जित्ने एक्ली महिला हुन्। ईश्वरी र रूपा दुवैजना आ–आफ्नो पार्टीको केन्द्रीय सदस्य छन्। 

उनीहरू दुवैजना संविधानसभा सदस्य पनि हुन्। रूपा ०६४ को निर्वाचनमा कैलाली १ बाट प्रत्यक्षमा निर्वाचित भएकी थिइन्। समानुपातिकबाट संविधानसभामा सदस्य बनेकी उनी कांग्रेस संसदीय दलको सचेतकसमेत भइन् । ०७४ को निर्वाचनमा भने न्यौपाने यही क्षेत्रबाट पराजित भएकी थिइन् ।

विकासमा टेवा पुग्ने स्थानीयको अपेक्षा

आ–आफ्नो पार्टीमा बलियो प्रभाव राख्ने तीनजना सशक्त महिलाको प्रतिनिधित्वले यस क्षेत्रका मुद्दाहरू संसदमा उठ्ने र विकास निर्माणका कामले गति लिने स्थानीयले अपेक्षा गरेका छन्। 

भजनीका स्थानीय जयबहादुर बुढाले तीन-तीनजनाको प्रतिनिधित्व हुँदा समग्र विकास निर्माणमा टेवा पुग्ने आशा गरे । यस क्षेत्रका बासिन्दाले भोग्दै आएको बाढी, डुबान, कटानजस्ता समस्या समाधानका लागि सांसदले संसदमा आवाज उठाउने उनको विश्वास छ।

‘उहाँहरू आ–आफ्नो पार्टीमा प्रभाव राख्ने नेतृ हुनुहुन्छ । पाँच वर्षको अवधिमा तीनैजना एकपटक मन्त्री बन्ने प्रबल सम्भावना पनि देखिन्छ,’ बुढाले भने, ‘विगत पाँच वर्ष प्रतिनिधिविहीन बन्दा यहाँका आवाज संसदमा बुलन्द रूपमा उठ्न सकेनन् । अब केही परिवर्तन होला भन्ने आशा छ।’

क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका तथा जानकी गाउँपालिकाका सात र भजनी नगरपालिकाका दुई वडा पर्छन् । बर्खायाममा हुने बाढी, डुबान र कटान यस क्षेत्रका अधिकांश बस्तीको प्रमुख समस्याका रूपमा रहेको छ । 

टीकापुर– ९ का सुरेन्द्र देउकर विकास निर्माणसँगै टीकापुर घटनाका कारण बिग्रिएको सामाजिक सदभाव फर्काउन पनि तीनैजना सांसदले भूमिका खेल्ने आशा व्यक्त गरे । ‘यहाँ बाढी, डुबानको अत्यधिक समस्या छ। विकास निर्माणका कामहरूमा अवरुद्धताको अवस्था छ । उहाँहरूले यसमा ध्यान दिनुहुनेछ भन्ने आशा गरेका छौँ,’ उनले भने, ‘सामाजिक सदभाव फर्काउन पनि सांसदहरूले भूमिका खेल्नुपर्छ ।’ विगत पाँच वर्ष प्रतिनिधिविहीन बन्दा यहाँका जनताको आवाज संसदमा उठ्न नपाएको उनले बताए। ‘पाँच वर्षसम्म जनप्रतिनिधिविहीन बनेको यो क्षेत्रले त्यसको क्षतिपूर्तिका रूपमा अहिले तीनजना सांसद पाएको मान्नु पर्‍याे,’ उनले भने।

१६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा समानुपातिकबाट चारजना सांसद चुनिएका छन्। कांग्रेस नेतृ आरजु राणा देउवा डडेल्धुराबाट र नेकपा एमालेका दयालबहादुर शाही बाजुराबाट सांसद बनेका हुन्।