मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २९ बिहीबार १४:२१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम प्रतिवेदन पेस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २९ बिहीबार १४:२१:००

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन– २०७९ को परिणाम बुझाएको छ। 

बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले राष्ट्रपति भण्डारीसमक्ष मंसिर ४ गते सम्पन्न सो निर्वाचनको मत परिणामको विवरण बुझाएका हुन्।

निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ। निर्वाचन आयोगले बुधबार (हिजो) निर्वाचनको सबै परिणाम परिणाम घोषणा गरेको थियो।

निर्वाचनको मत परिणामअनुसार कांग्रेसले ८९ सिट प्राप्त गरेको छ। त्यसैगरी एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याउन सफल भएको थियो। 

दुई सय ७५ सिट रहेको प्रतिनिधिसभामा कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रूपमा उदाएको छ भने नयाँ शक्तिको रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ।

निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने चार हजार दुई सय ८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ। प्रतिनिधिसभातर्फ पुरुष एक हजार सात सय ७२ र महिला एक सय ८९ गरी जम्मा एक हजार नाै सय ६१ जनाको धराैटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष दुई हजार ८६, महिला दुई सय ३७ र अन्य एक गरी जम्मा दुई हजार तीन सय २४ जनाको धरौटी रकम जफत भएको छ। 

त्यस्तै, प्रतिनिधिसभामा प्रत्यक्षतर्फको निर्वाचनमा एक सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ। 

समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा एक सिट प्राप्त गरी सातवटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ एक करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये एक करोड चार लाख ८७ हजार नाै सय ५८ मत सदर भएको छ । ५ दशमलव शून्य ६ प्रतिशत मत भने बदर भएको उनको भनाइ छ। 

त्यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा एक करोड ५ लाख ६० हजार ८२ मत सदर भएको  र ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको बताए। 

प्रदेशतर्फ भने प्रत्यक्षतर्फ एक करोड १० लाख ३४ हजार पाँच सय (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा एक करोड पाँच लाख ८५ हजार तीन सय मत सदर भएको र ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको बताइएको छ। 

प्रदेश सभाको समानुपातिकतर्फ एक करोड १० लाख २८ हजार तीन सय ७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा एक करोड तीन लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ पुरुष एक सय ८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ। त्यस्तै प्रदेश सभातर्फ पुरुष तीन सय ५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला दुई सयजना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ।