१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ ७ सोमबार ११:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सन्दर्भ ब्याजदर परिमार्जनमा जुट्यो सहकारी विभाग, १९ प्रतिशत तोक्न महासंघको दबाब

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:५२:oo

सहकारी विभाग सन्दर्भ ब्याजदर परिमार्जनमा जुटेको छ । राष्ट्रिय सहकारी महासंघको दबाबपछि विभागले सन्दर्भ ब्याजदर वृद्धि गर्ने आन्तरिक तयारी सुरु गरेको हो । विभागअन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण समितिको प्राविधिक उपसमितिको बैठकले आइतबार ब्याजदर निर्धारणका लागि थप कार्य अगाडि बढाएको छ । 

बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर वृद्धि गरेपछि सहकारीमा संकटमा पर्न थालेको छ । उच्च ब्याजदरका कारण सहकारी संस्थाबाट धमाधाम निक्षेप बैंक तथा वित्तीय संस्थामा सर्न थालेको छ । फलस्वरूप सहकारी संस्थामा निक्षेपको अभाव बढ्न थालेको हो । यस्तै अवस्था रहेमा सहकारी संस्थाहरू टाट पल्टने भन्दै राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसमेतले सहकारी विभागलाई सन्दर्भ ब्याजर वृद्धि गर्न आग्रह गरेको थियो । हाल सहकारी संस्थाको सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम गरिएको छ । 

 १९ प्रतिशत सन्दर्भ ब्याजदर तोक्न विभागलाई सुझाव 
राष्ट्रिय सहकारी महासंघलगायतले सहकारी संस्थाको सन्दर्भ ब्याजदर १९ प्रतिशत तोक्न सहकारी विभागलाई सुझाव दिएका छन् । वर्तमान परिप्रेक्ष्यअनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई मध्यनजर गर्दै सहकारीको ब्याजदर पनि १९ प्रतिशत तोक्नुपर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । 

अहिले बै‌ंक तथा वित्तीय संस्थाले कर्जामा १८ प्रतिशतसम्म ब्याजदर तोक्दै आएका छन् । तर, सहकारी संस्थाले भने कर्जामा अधिकतम १६ प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले निक्षेपमा नै औसत ११ प्रतिशतसम्म ब्याज दिएका छन् । बजारको अवस्थाअनुसार सहकारीको सन्दर्भ ब्याजदर १८ प्रतिशत तोकिनुपर्ने उनले बताए । 

तर, सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले भने सन्दर्भ ब्याजदर निर्धारण समितिअन्तर्गतको प्राविधिक उपसमितिले गरेको अध्ययनले सन्दर्भ ब्याजदर १९ प्रतिशत तोकिनुपर्ने पर्याप्त आधार नदेखाएको बताए । तर, सहकारी नियमावली, २०७४ बमोजिम सन्दर्भ ब्याजदर तोक्दा राष्ट्रिय सहकारी महासंघको सुझावलाई पनि आधार मान्नुपर्ने व्यवस्था छ । ‘प्राविधिक उपसमितिले अध्ययन गर्दै छ, सन्दर्भ ब्याजदर घट्न पनि सक्छ, बढ्न पनि सक्छ,’ उनले भने । 

सहकारी संस्थाले सदस्यबाट चर्को ब्याज असुलेपछि सहकारी ऐन, २०७४ मा नै सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था गरेको थियो । ऐनबमोजिम नै विभागले ०७५ सालमा पहिलोपटक १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । गत फागुनमा विभागले सन्दर्भ ब्याजदर बढाएर १६ प्रतिशत कायम गरेको थियो । सहकारी नियमावली, २०७५ अनुसार बजारको आवश्यकताअनुसार सन्दर्भ ब्याजदर परिमार्जन गर्न सकिने व्यवस्था छ । 

 सहकारीको ५० प्रतिशत निक्षेप बैंक तथा वित्तिय संस्थामा गयो
सहकारी संस्थामा रहेको निक्षेपको ५० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थामा गएको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताएका छन् । बैंक तथा वित्तीय संस्थाले सहकारीको भन्दा बढी ब्याज दिन थालेपछि सदस्यले रकम सार्न थालेको उनको भनाइ छ । 

बैंक तथा वित्तीय संस्थाले कर्जामा औसतमा १८ प्रतिशत लिएका छन् भने सहकारी ब्याजदर १६ प्रतिशत तोकिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा अनुपात चार प्रतिशत छ भने सहकारीको ६ प्रतिशत कायम छ । सहकारीले ब्याज बैंक तथा वित्तीय संस्थाको भन्दा बढी हुनुपर्ने उनको धारणा छ । 

सहकारी नियमावली, २०७५ बमोजिम बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था र संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनबमोजिम ‘क’ वर्गको इजाजतपत्र बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा नेपाल सरकार मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनहरू, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय संघहरूबाट प्राप्त सुझाव, सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरूमा सन्दर्भ ब्याजदर निर्धारण गरिनेछ । 

बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी, बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी हुनुपर्ने सिद्धान्त अवलम्बन गर्नुपर्ने नियमावलीमा व्यवस्था छ । 

 

ad
ad