१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २७ मंगलबार
  • Saturday, 21 September, 2024
२o७९ मङ्सिर २७ मंगलबार १५:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक विद्यालयमा शिक्षक छन्, विद्यार्थी छैनन्

शिक्षक दरबन्दी मिलान गर्दै गाउँपालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २७ मंगलबार १५:५१:oo

बोर्डिङ स्कुलको प्रभावका कारण सामुदायिक विद्यालयमा विद्यार्थी थाम्नै मुस्किल छ। सामुदायिक विद्यालयमा पढाइ गुणस्तरीय नहुने भन्ने छापका कारण अभिभावक ज्याला–मजदुरी गरेरै भए पनि आफ्ना बालबालिकालाई बोर्डिङ स्कुल पढाउन चाहन्छन्।

बोर्डिङ स्कुलको पहुँच नभएका र धेरै विपन्न अभिभावकका बालबच्चा मात्रै सामुदायिक विद्यालयमा देखिने गरेका छन्। राज्यले नै गुणस्तरीय रूपमा सञ्चालन गर्नुपर्ने शैक्षिक संस्थाहरू नै निजीकरण हुन थालेपछि सामुदायिक विद्यालयमा यस्ताे समस्या बढेको अभिभावकको बुझाइ छ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुन थालेपछि जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्ने तयारी गरेको छ। शैक्षिक गुणस्तर वृद्धि गरी विद्यालयमा हुने अनियमितता रोक्न गाउँपालिकाले दरबन्दी मिलानका लागि विद्यार्थीको संख्या गणना गरेको छ।

हिमाली जिल्ला जुम्लामा फागुनदेखि मंसिरसम्म वार्षिक शैक्षिक क्यालेन्डर हुन्छ। अहिले मंसिरको अन्तिम साता सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालनमा छन्। वार्षिक परीक्षामै विद्यार्थीको संख्या यकिन गर्न गणना सुरु गरिएको छ। अर्काेतर्फ विद्यालयहरूले नक्कली विद्यार्थी देखाएर खाजा रकम र छात्रवृत्ति अनियमितता गरेको गुनासो बढेकाले पनि गाउँपालिकाले प्रत्येक विद्यालयमै पुगेर विद्यार्थीका टाउका गनेको हो।

अनुगमनका क्रममा वडा नम्बर ५ श्रीनगरको आधारभूत विद्यालयमा कक्षा ४ मा आठजना छात्रा मात्रै अध्ययनरत पाइए। वडा ६ रावतवडास्थित वसन्त आधारभूत विद्यालयको कक्षा १ मा आठजना भर्ना भएको हाजिरी रजिस्टरमा देखिन्छ। तर, वार्षिक परीक्षामा भने पाँचजना मात्रै उपस्थित देखिए। इसिडी कक्षामा १९ जना भर्ना भएका देखिए पनि परीक्षामा भने १० जना मात्रै उपस्थित रहेका प्रधानाध्यापक हरिप्रसाद चौगालाईंले बताए। उनले भने, ‘यो टोलमा ३६ घरधुरी छन्। दरबन्दी शिक्षक एकजना, इसिडी शिक्षक एकजना र निजी शिक्षक एकजना गरी तीन शिक्षक र एक सहयोगी छन्।’
 
गाउँपालिकाको वडा नम्बर ४ नियापानीस्थित कक्षा ५ सम्म अध्ययन हुने विद्यालयमा पनि विद्यार्थीको उपस्थिति निकै कम देखियो। एक सय ३५ घरधुरी रहेको नियापानीको विद्यालयमा कुल ५० विद्यार्थीको समेत उपस्थिति देखिएन। तातोपानीको १, २, ३, ४, ५ र ६ नम्बर वडामा रहेको आधारभूत विद्यालयमा विद्यार्थीको संख्या ज्यादै न्यून छ। एउटा कक्षामा औषत चार–पाँचजना विद्यार्थीको मात्रै उपस्थिति देखिन्छ।

तातोपानी गाउँपालिकामा वार्षिक परीक्षा चलिरहेको वेला अहिले विभिन्न समूह बनाएर विद्यार्थी गणना भइरहेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। ‘गाउँपालिकाले तयार गरेको टिमले विद्यालयमै पुगेर परीक्षामा सामेल विद्यार्थी र हाजिरी रजिस्टरमा उल्लेखित विद्यार्थी संख्या गणना गरेको छ। परीक्षाको वेला भएकाले विद्यार्थी अपवादबाहेक अनुपस्थित हुँदैनन्, कति विद्यार्थी नक्कली हुन् भन्ने पत्ता लगाउन सजिलो हुन्छ,’ अध्यक्ष चौलागाईंले भने।

गाउँपालिकाका आठै वडामा जम्मा २८ वटा सामुदायिक विद्यालय छन्। हप्ता दिनभन्दा बढीको समय खर्चेर सबै विद्यालयको अनुगमन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत शाहीले बताए। विद्यार्थी गणनाका अलावा विद्यालयको समस्या पहिचानसमेत गरिएको उनको भनाइ छ। ‘विद्यालयको अवस्था, खानेपानी, शौचालय, फर्निचरको उपलब्धता र शिक्षक शिक्षिकाको संख्याका विषयमा पनि अनुगमन भइरहेको छ। विशुद्ध सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मजबुत बनाउन र विद्यालयमा हुने अनियमितता रोक्न यो अभियान सार्थक हुने विश्वास गरिएको छ,’ उनले भने।

सबै विद्यालय अनुगमन गरिसकेको र दुई–चार दिनभित्रै प्रतिवेदन सार्वजनिक गरिने शिक्षा शाखा प्रमुख शाहीले बताए। ‘कुनै विद्यालयमा शौचालय र खानेपानीसमेत उपलब्ध छैन,’ प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले भने, ‘कम विद्यार्थी र शिक्षक धेरै भएका विद्यालय पनि भेटिएका छन्। अब दरबन्दी मिलान गर्ने विषयमा पनि छलफल हुन्छ।’