
चिसो बढेसँगै भारतको राजधानी सहर दिल्लीको वायुको गुणस्तर अति खराब तहमा पुगेको छ । दिल्लीको वायुको गुणस्तर सूचकांक एक्युआई ३१४ पुगेको छ । त्यसैगरी, नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ । गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार नभएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयनको निर्णय गरेको थियो ।
केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमानदारीका साथ अवलम्बन गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको थियो । वायु प्रदूषण हुन नदिन प्रतिकार्य योजनाअन्तर्गत मंसिर १८ गतेबाट अस्थायी रूपमा भवन निर्माणलगायतमा प्रतिबन्ध घोषणा गरेको छ । यद्यपि, राष्ट्रिय प्रतिरक्षा, मेट्रो रेल, विमानस्थल, अस्पताल, विद्युत् प्रसारणका निर्माण कार्यलाई भने रोक लगाइएको छैन ।
एक सयदेखि दुई सयसम्म मध्यम, दुई सयदेखि तीन सयसम्मलाई खराब, तीन सयदेखि चार सयसम्मलाई अति खराब तथा चार सयदेखि पाँच सयसम्म वा त्यसभन्दा माथिको स्थितिलाई गम्भीर मानिन्छ ।