Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर २६ सोमबार ०९:५९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत् उत्पादन सुरु

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २६ सोमबार ०९:५९:००

लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । गत महिना विद्युत् परीक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ मंसिरदेखि  व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनाले भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपको समस्या झेल्दै विद्युत् उत्पादन सुरु गरेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।

आयोजनाबाट ०७६  चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । प्रसारणलाइनको समस्या, कोरोना महामारी र बाढीपहिरोको कारण उत्पादन तालिका धकेलिँदै आएको हो । यसअघि आयोजना सम्पन्न गर्न चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान गरे पनि बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्दा लागत बढेको आयोजनाले जनाएको छ । 

आयोजनामा बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइप छ । रन अफ द रिभरमा आधारित उक्त आयोजनाले ०७१ वैशाख १५ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख  ८४ हजार आठ सय ६९ युनिट बिजुली उत्पादन हुनेछ ।

नदीको बहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ । दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको आयोजनाले तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युतगृहमा लगेर पानी खसाल्नेछ ।  हाल आयोजनाबाट १५ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको हो ।

आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारणलाइनबाट मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारणलाइनमा जोडिएको छ। दोर्दी करिडोरमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी– १ लगायत आयोजना निर्माणाधीन छन् । २७ मेगावाटको दोर्दी खोलाबाट भने यसअघि नै व्यावसायिक विद्युत् उत्पादन सुरु भइसकेको छ ।