१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर २५ आइतबार १८:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महिनौँ निर्माणकार्य अलपत्र पार्नेविरुद्ध स्थानीयले गरे सडक अवरुद्ध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार १८:o९:oo

इटहरी ८ स्थित सतनमार्गमा सडक निर्माण सुरु भएको महिनौँ बित्दासमेत कालोपत्रे नबनेपछि स्थानीयले बाटो अवरुद्ध गरेका छन्। २७ कात्तिक ०७८ मा निर्माण सुरु भए पनि हालसम्म पूरा नभएपछि आइतबार स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

बर्खायाममा हिलो र अन्य समयमा समेत धुलोले समस्या गरिरहेपछि पटक-पटक सडक निर्माण सक्न अनुरोध गर्दासमेत ढिलो भइरहेको खगेन्द्र परियारले बताए।

‘धेरैपटक वडा कार्यालयमार्फत नगरमा समेत ध्यानाकर्षण गराइसकेका छौँ,’ उनले भने, ‘ड्रेनसहित ४० फिट भए पनि करिब २२ फिट कालोपत्रे हुनुपर्ने हो, तर १३ महिना सकिँदा पनि काम भएन।’ उनले सो सडक निर्माण योजनाको सूचना पार्टीसमेत नराखेको बताए। 

मुख्य राजमार्गपछि सबैभन्दा बढी व्यस्त हुने सडक भए पनि काम सम्पन्न गर्न ढिलाइ भएको स्थानीय भीम बस्नेत बताउँछन्। सोही सडक अनुगमन समितिका संयोजकसमेत रहेका उनले स्थानीयहरूकै न्यायका लागि सबै मिलेर बाटो अवरुद्ध गरेको बताए।
उनका अनुसार सो सडक निर्माणको जिम्मा गिरी कन्ट्रक्सनले पाएको थियो। इटहरी ८ स्थित विद्युत् प्राधिकरणको कार्यालयदेखि दक्षिण करिब ८ सय मिटर सडक कालोपत्रे बन्नुपर्ने हो। 

कुनै पनि निकायले चासो नदेखाएले दबाब दिनका लागि बाटोमा बाँस र स्याउला लगाएर अवरुद्ध गर्न बाध्य भएको बस्नेतको भनाइ छ। 

सोही सडकको बीच र आसपासमा इटहरी ८ को कार्यालय, यातायात व्यवस्था विभागको कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय छ। यस कारणसमेत सो सडक व्यस्त हुने गरेको स्थानीयको भनाइ छ। 

सडक अवरुद्ध गरेपछि यो ठाउँबाट दैनिक आवत-जावत गर्ने सवारीसाधनका यात्रुले सास्ती खेपेका छन्। अन्य समयमा समेत सो सडकमा मोटरसाइकल र विशेषगरी विद्यालयका बसहरू चल्ने गर्दछन्। 

ठेकेदार कम्पनीले फोनसमेत नउठाएपछि पटक-पटक नगरपालिकालाई जानकारी गराए पनि कुनै अग्रसरता नलिएको इटहरी वडा नम्बर ८ का वडाध्यक्ष रोहितकुमार चौधरीले बताए।

कम्पनीले म्याद अवधिमा काम सकेन भने रिटेन्डर हुनुपर्नेमा त्यस्तो नभएको उनको भनाइ छ। उनका अनुसार करिब ८६ लाखमा टेन्डर स्वीकृत भएको थियो। यस विषयमा प्रतिक्रिया लिन ठेकेदार कम्पनीका आधिकारिक व्यक्तिलाई सम्पर्क गर्दा फोन उठेन।