
आँबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङ्दी जलविद्युत् आयोजनाले हिउँदको सुक्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको छ । गत असोजमा भएको अत्यधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको हो ।
विगतका वर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुंगानाको भनाइ छ । यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन गरी वितरण हुँदै आएको उनले बताए । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ ।
सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरे पनि हिउँद महिनामा कम विद्युत् उत्पादन हुने गरेको थियो ।