१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी इजरायल
Invalid date format o८:१o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सिरिन अबुको मुद्दा आइसिसीमा पेस गर्दै अल जजिरा

Read Time : > 1 मिनेट
एजेन्सी, इजरायल
नयाँ पत्रिका
Invalid date format o८:१o:oo

यही वर्ष मे महिनामा नियन्त्रित वेस्ट बैंकको जेनिनमा इजरायली सुरक्षा बलले सशस्त्र प्यालेस्टाइनी फौजविरुद्ध छापा मारेको थियो । त्यो रेडको समाचार प्रसारण गर्न अल जजिरा टेलिभिजनकी चर्चित पत्रकार सिरिन अबु अक्लेह सोही स्थाननजिकै थिइन् । तर, रिपोर्टिङका क्रममा उनको टाउकोमा गोली लागेपछि त्यो उनको अन्तिम रिपोर्टिङ साबित भयो । 

अबु अक्लेहको हत्याको मुद्दालाई उनी संलग्न टेलिभिजन च्यालन अल जजिराले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा पेस गर्ने भएको छ । ‘अल जजिराको कानुनी टोलीले यस मुद्दामा पूर्ण र विस्तृत अनुसन्धान गर्‍यो । कैयौँ प्रत्यक्षदर्शी व्यक्तिको भनाइ, भिडियो फुटेजका विभिन्न सामग्रीहरूको परीक्षण र मुद्दासँग सम्बन्धित फोरेन्सिक प्रमाणको आधारमा नयाँ प्रमाण पत्ता लागेको छ,’ अल जजिराले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ । 

अल जजिरा नेटवर्कले नयाँ प्रमाण तथा भिडियोलाई उल्लेख गर्दै प्यालेस्टिनी मूलकी अमेरिकी पत्रकार अबु अक्लेह र उनका सहकर्मीलाई ‘जानाजान हत्या’ गर्ने मनसायले गोली हानिएको बताएको छ । अल जजिराले हत्यामा इजरायली सेनालाई जिम्मेवार भनेको छ, जसलाई इजरायलले बारम्बार अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले मंगलबार बाहिरी निकायले देशको रक्षा बलमाथि अनुसन्धान गर्न नदिने कुरा पुनः दोहो¥याएका छन् । ‘कसैले इजरायली डिफेन्स फोर्सका सिपाहीहरूको छानबिन गर्ने छैन । कसैले हामीलाई युद्धको नैतिकताबारे प्रवचन दिन पर्दैन, झन् अल जजिराले त दिने नै होइन,’ ल्यापिडले भने ।

प्यालेस्टिनी मूलकी अमेरिकी पत्रकार अबु अक्लेह र उनका सहकर्मीलाई ‘जानाजान हत्या’ गर्ने मनसायले इजरायली सेनाले गोली हानेको अल जजिराको भनाइ

सेप्टेम्बरमा इजरायली सुरक्षा बलले अबु अक्लेहलाई ‘दुर्घटनावश’ इजरायली गोली लागेको हुन सक्ने सम्भावना ‘अत्यन्त उच्च’ रहेको स्विकारेको थियो । सुरक्षा बलले ती गोली खासमा ‘सशस्त्र प्यालेस्टाइनी बन्दुकधारीमाथि संदिग्धबीच भएको गोलीबारी’मा प्रहार भएको दाबी गरेको छ । इजरायली डिफेन्स फोर्सले यस घटनामा कुनै पनि सैनिकविरुद्ध आपराधिक मुद्दा चलाउने उद्देश्य नभएको बताएको थियो । अबु अक्लेह मारिएको दुई हप्तापछि प्रकाशित सिएनएन अनुसन्धानले उनलाई लागेको गोली आइडिएफ तैथान भएको स्थानबाट आएको संकेत गरेको थियो ।  

सिएनएन अनुसन्धानले गोली हानिएको क्षणको दुई भिडियोसहित विभिन्न प्रमाण भेटेको थियो । ती प्रमाणमा अबु अक्लेहलाई गोली लाग्दा उनीनजिक कुनै सक्रिय लडाइँ नभएको वा प्यालेस्टिनी लडाकु पनि नभएको संकेत देखिएको थियो । गोली लाग्दा अबु अक्लेहले प्रस्ट रूपमा प्रेस चिनाउने फ्ल्याक ज्याकेट लगाएकी थिइन् ।

अबु अक्लेहसँगै दोस्रो पत्रकार अली अल–समुदीलाई पनि गोली लागेको थियो, तर पछि उनको स्वास्थ्यस्थिति सुधार भयो । अल जजिराले मंगलबार आइसिसीमा जाने निर्णयबारे व्याख्या गर्दै भनेको छ, ‘इजरायली अधिकारीले गोलीबारीमा गल्तीले अबु अक्लेह मारिएको दाबी गरेको छ, जुन पूर्ण रूपमा निराधार छ । अफिस अफ प्रोसिक्युटर (ओटिपी)लाई पेस गरिएका प्रमाणले सिरिन रहेको ठाँउमा आइओएफ (इजरायली अकुपेसन फोर्स)ले उनैलाई ताकेर हानेकोबाहेक कुनै पनि गोलीबारी भएको थिएन ।’

अल जजिराले अगाडि लेखेको छ, ‘आइओएफले गरेको अनुसन्धानले आफ्ना सुरक्षा बलले अपराध गरेको नदेखिएको बताएको छ, तर हाल अफिस अफ प्रोसेक्युटर(ओटिपी)लाई उपलब्ध गराइएको प्रमाणले उक्त दाबी पूर्ण रूपमा कमजोर देखिन्छ । ती प्रमाणले यी नियतवश गरिएका हत्या अल जजिरालाई लक्षित गरी मौन बनाउने बृहत्तर अभियानकै एक हिस्सा भएको देखाउँछ ।’