मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ मङ्सिर २१ बुधबार ०६:११:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समानुपातिकसहितको अन्तिम मतपरिणाम : संघ र चार प्रदेशमा कांग्रेस पहिलो दल, तीनमा एमाले 

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ मङ्सिर २१ बुधबार ०६:११:००

आज दलहरूलाई चिठी लेख्दै निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समानुपातिकसहितको अन्तिम मतपरिणाम आएको छ । निर्वाचन आयोगले मंगलबार राति सार्वजनिक गरेको अन्तिम परिणाममा कांग्रेस ८९ सिटसहित प्रतिनिधिसभाको पहिलो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेको छ । 

एमाले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट ल्याएर दोस्रो बनेको छ । त्यस्तै, प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिटसहित माओवादी तेस्रो बनेको छ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा १३ गरी २० सिटसहित प्रतिनिधिसभाको चौथो ठूलो दल बनेको छ । 

प्रत्यक्ष र समानुपातिकमा समान सात–सात सिट जितेको राप्रपा १४ सिटसहित पाँचौँ, प्रत्यक्षमा सात र समानुपातिकमा पाँच सिट पाएको जसपा १२ सिटसहित छैटौँ तथा थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिकका सिट गुमाएको एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट पाएको छ । त्यस्तै, जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ पाँच गरी ६, थ्रेसहोल्ड कटाउन नसकेका दलहरू लोसपाले प्रत्यक्षमा चार, नागरिक उन्मुक्ति पार्टीले तीन तथा जनमोर्चा र नेमकिपाले एक–एक सिट जितेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका पाँचजना प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

दुई सय ७५ सिट रहेको प्रतिनिधिसभामा बहुमत अर्थात् एक सय ३८ सिट जुटाउने दलले सरकार बनाउन सक्छ । सत्तागठबन्धनका पाँच दललाई प्राप्त सिट जोड्दा एक सय ३६ मात्र पुग्छ । सरकार बनाउन गठबन्धनले साना दल वा स्वतन्त्र सांसदलाई साथमा लिनुपर्ने हुन्छ ।

प्रदेश १

९३ सिट रहेको प्रदेश १ सभामा एमाले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेर पहिलो दल बनेको छ । प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सिट जितेर कांग्रेस दोस्रो तथा प्रत्यक्षमा नौ र समानुपातिकमा चारसहित १३ सिट जितेर माओवादी तेस्रो दल बनेको छ । त्यस्तै, एकीकृत समाजवादीले प्रत्यक्षमा तीन र समानुपातिकमा एकसहित चार सिट जितेको छ । राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिकमा चार गरी र ६ सिट जितेको छ । प्रत्यक्षमा कुनै जित ननिकालेको जसपाले समानुपातिकमा एक सिट पाएको छ । 

मधेस प्रदेश

एक सय सात सिट रहेको मधेस प्रदेश सभामा प्रत्यक्षमा १५ र समानुपातिकमा आठ गरी २३ सिट प्राप्त गर्दै एमाले पहिलो दल बनेको छ । दोस्रो दल बनेको कांग्रेसलाई प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरी २२ सिट प्राप्त भएको छ । त्यस्तै, प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सिट जितेको जसपा तेस्रो दल बनेको छ । लोसपाले प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएको छ भने प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा सात सिट हासिल गरी १३ सिटसहित प्रदेश सरकार निर्माणमा निर्णायक बनेको छ । मधेसमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार–चार सिट जितेको छ भने एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट पाएको छ । प्रत्यक्षमा ६ सांसद स्वतन्त्र उम्मेदवारीबाट आएका छन् । राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक–एक सिट जितेका छन् । 

बागमती : ११० सिटमा कांग्रेसलाई ३७, एमालेलाई २७, माओवादीलाई २१
एक सय १० सिट रहेको बागमती प्रदेश सभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । दोस्रो स्थान सुरक्षित गरेको एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट पाएको छ । त्यस्तै, प्रत्यक्षमा १४ र समानुपातिकमा सात गरी २१ सिटसहित माओवादी तेस्रो दल बनेको छ । प्रत्यक्षमा सात सिट जितेको राप्रपाले समानुपातिकमा ६ सिट थपेको छ । एकीकृत समाजवादीले भने प्रत्यक्षमा पाँच र समानुपातिकमा दुई सिट जितेको छ । नेमकिपाले प्रत्यक्षमा एक र समानुपातिकमा दुई तथा हाम्रो नेपाली पार्टीले प्रत्यक्ष र समानुपातिकमा एक–एक सिट जितेको छ । 

गण्डकी : ६० सिटमा कांग्रेसलाई २७, एमालेलाई २२ र माओवादीलाई ७
६० सिट रहेको गण्डकी प्रदेश सभामा २७ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ नौ सिट थपेको हो । त्यस्तै, १२ सिट जितेको एमालेले समानुपातिकमा १० थप्दै २२ पुर्‍याएर दोस्रो दलको स्थान बनाएको छ । तेस्रो स्थान सुरक्षित गरेको माओवादीले प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीन गरी सात सिट जितेको छ । प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले एक र एकजना स्वतन्त्र निर्वाचित भएका छन् भने समानुपातिकमा राप्रपाले दुई सिट पाएको छ । 

लुम्बिनी : ८७ सिटमा एमालेलाई २९, कांग्रेसलाई २७ र माओवादीलाई ९
८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । प्रत्यक्षमा १८ सिट जितेको एमालेले समानुपातिकमा ११ सिट थपेको छ । प्रत्यक्षमा १७ र समानुपातिकमा १० सहित २७ सिट जितेको कांग्रेस दोस्रो दल बनेको छ । प्रत्यक्षमा पाँच सिट जितेको माओवादी समानुपातिकमा चार सिट हासिल गरी नौ सिटसहित तेस्रो दल बनेको छ । त्यस्तै, जसपाले प्रत्यक्षमा दुई र समानुपातिकमा एक सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टी र राप्रपाले प्रत्यक्ष र समानुपातिकमा दुई–दुई सिट जितेका छन् । लोसपाले प्रत्यक्षमा दुई र समानुपातिकमा एक तथा जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकमा गरी दुई सिट जितेका छन् । राष्ट्रिय जनमोर्चाले समानुपातिकमा एक मात्र सिट पाउँदा प्रत्यक्षतर्फ तीन स्वतन्त्र निर्वाचित भएका छन् ।

कर्णाली : ४० सिटमा कांग्रेसलाई १४, माओवादीलाई १३ र एमालेलाई १० 
४० सिट रहेको कर्णाली प्रदेश सभामा १४ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षमा नौ सिट जितेको कांग्रेसले समानुपातिकमा पाँच सिट जोडेको छ । प्रत्यक्षमा नौ र समानुपातिकमा चार गरेर १३ सिट जोडेको माओवादी दोस्रो दल बनेको छ । एमाले प्रत्यक्षमा पाँच र समानुपातिकमा पाँच गरेर १० सिटसहित तेस्रो दल बनेको छ । एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ एक–एक सिट प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ एक सिट स्वतन्त्रले जितेका छन् । 

सुदूरपश्चिम : ५३ सिटमा कांग्रेसलाई १९, माओवादीलाई ११ र एमालेलाई ८
५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । उसको प्रत्यक्षमा १२ र समानुपातिकमा सात सिट छ । ११ सिटसहित दोस्रो बनेको माओवादीले प्रत्यक्षमा आठ र समानुपातिकमा तीन सिट जितेको छ । त्यस्तै, प्रत्यक्षमा तीन र समानुपातिकमा पाँच गरेर आठ सिटसहित एमाले तेस्रो दल बनेको छ । प्रत्यक्षमा पाँच र समानुपातिकमा दुईसहित नागरिक उन्मुक्ति पार्टीले सात सिट जितेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा तीन र समानुपातिकमा एक सिट जितेको छ । राप्रपाले समानुपातिकमा एक सिट जितेको छ । प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित भएका छन् । 

दलहरूसँग सिट र क्लस्टरअनुसार समानुपातिक सांसदको नाम माग्दै आयोग 
प्रतिनिधिसभाको दुई सय ७५ र प्रदेश सभाको पाँच सय ५० सिटको नतिजा आएसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड गरेर दलहरूलाई चिठी लेख्ने तयारी गरेको छ । बुधबार दिउँसो १२ बजेसम्म चिठी पठाएर दलहरूले पाएको मतका आधारमा सिट र क्लस्टर छुट्याएर दलहरूबाट बन्दसूचीमा उल्लेखित नाम माग गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । 

नाम पठाउन आयोगले दलहरूलाई तीन दिनको समय दिनेछ । नाम प्राप्त भएपछि अन्तिम परिणामसहितको प्रतिवेदन तयार पारेर राष्ट्रपतिलाई बुझाइने थपलियाले बताए । ‘दलहरूबाट छिटो नाम प्राप्त भयो भने २५ मंसिरभित्र प्रतिवेदन बुझाउँछौँ । अब ढिलो भयो भने २६ वा २७ गतेभित्र अन्तिम परिणाम दिन्छौँ,’ उनले भने ।

थपलियाले समानुपातिकबाट ३३ प्रतिशत महिला सुनिश्चित गर्नैपर्ने, अपांग, पिछडिएको र अल्पसंख्यकलाई जुनसुकै क्लस्टरबाट अधिकतम प्राथमिकता दिन दलहरूलाई आग्रह गरिएको बताए । ‘क्लस्टरमा दायाँबायाँ गर्न मिल्दैन,’ उनले भने, ‘हामी बुधबार क्लस्टर तोकेरै दलहरूलाई चिठी लेख्छौँ ।’