१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ १ मंगलबार o८:o९:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जलनको उपचार हुने चार अस्पताल काठमाडौंमा मात्रै

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o९:oo

- देशभर बर्सेनि ७५ हजार आगो र एसिड जलनका घटना

- अस्पताल अभावका कारण वार्षिक १५ सय प्रभावितले मात्रै उपचार गराउँछन्

नेपालमा वर्षेनी ७५ हजार आगो र एसिड जलनका घटना हुने गरेका छन् । तर जलनको उपचार हुने चारवटा अस्पताल काठमाडौंमा मात्रै छ । जसकारण वर्षेनी १५ सयभन्दा कम मात्र जलनबाट घाइते भएका विरामी अस्पताल जाने गरेका छन् । काठमाडौंमा मात्र जलनको उपचार हुने अस्पताल भएकाले आउन जान, खाना बस्न र उपचारमा धेरै खर्च हुने भएकाले सर्वसाधारण मारमा परेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो र एसिड जलनका घटना हुने गरेका छन् । जसमध्ये दुर्घटनामा अधिकांशको मृत्यु हुने, बाँचेकामध्ये आधाभन्दा बढीमा अपांगता र एकदमै न्यून प्रतिशत मात्रै अस्पताल पुग्ने गरेका छन् । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार पछिल्लो वर्ष देशभर ७६ हजारभन्दा बढी  मानिस जलनबाट प्रभावित भएका छन् । डब्लुएचओको समेत बर्सेनि सामान्य र गम्भीर गरी ७५ हजारको हाराहारीमा प्रभावित भइरहेको आकलन छ । तर, बर्सेनि १५ सयभन्दा कम जलन प्रभावित बिरामी मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । आगो वा एसिडले पोलेर घाइते भएका बिरामी महिनौँसम्म अस्पताल बस्नुपर्ने अवस्था छ । 

सरकारले आगो र एसिडबाट जलनको उपचारका लागि पाँचवटा अस्पताल छुट्याएको छ, जसमध्ये तीनवटा अस्पतालले मात्रै सेवा दिइरहेका छन् । हाल नेपाल सरकारले जलनको उपचारका लागि छुट्याएका त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर अस्पताल, पाटन अस्पताल र गैरसरकारी सुष्मा कोइराला मेमोरियल अस्पतालमा मात्रै जलनको उपचार भइरहेको छ । पाटन अस्पतालले यही वर्षदेखि जलन वार्ड सञ्चालनमा ल्याएको छ । वीरमा भने जलन वार्ड नै छैन । नियमित उपचार भइरहेका टिचिङ, कीर्तिपुर र सुष्मा मेमोरियल अस्पतालमा वार्षिक १५ सयभन्दा कम बिरामी पुग्ने गरेको तथ्यांक छ । जलनको सबैभन्दा बढी उपचार भइरहेको कीर्तिपुर अस्पतालमा बर्सेनि ६ सयको संख्यामा बिरामी अस्पताल पुग्छन् । यसबाहेक टिचिङमा दुईदेखि तीन सय र सुष्मा मेमोरियलमा बढीमा तीन सय बिरामी मात्रै अस्पताल पुग्ने गरेका छन् । 

पाटन अस्पतालमा हालै मात्र जलन वार्ड सुचारु गरिएकाले बिरामी रिफर गर्नुनपरेको अस्पतालका निर्देशक डा. रवि शाक्य बताउँछन् । ‘बाहिरबाट बिरामी आएका छैनन । तर, यहाँबाट बिरामी अन्यन्त्र रिफर गर्नुनपर्ने गरी सात महिनादेखि सेवा दिइरहेका छौँ,’ उनले भने । जलनको उपचार सेवा दिँदै आएका अस्पतालसमेत काठमाडौंमा मात्रै सीमित हुँदा बिरामीले दुर्घटनामा ज्यान गुमाउने र समयमा उपचार नपाउँदा अपागंतासमेत बढिरहेको जलन प्रभावितको उद्धारमा काम गरिरहेका समाजसेवी उज्ज्वलविक्रम थापा बताउँछन् । ‘सुदूरपश्चिम, कर्णाली र सुदूरपूर्वका जिल्लाबाट काठमाडौं पुग्दा कम्तीमा तीन दिन बितिसकेको हुन्छ । प्राथमिक उपचारसमेत नपाएका बिरामी कति त बाटोमै मर्छन्, अस्पताल पुगेकाहरूमा समेत ढिलाइ हुँदा थप बिरामी गम्भीर भइसकेका हुन्छन्,’ उनले भने । दीर्घरोगहरूको तुलनामा बर्सेनि निम्न आय भएका हजारौँको संख्यामा जलनबाट मृत्यु र अपांगता भोगिरहे पनि सरकारले यसबारे चासो नदिएको उनको भनाइ छ । 

जलनबारे जनचेतना नहुँदा बढी जोखिम 

उज्ज्वलविक्रम थापा उज्ज्वलविक्रम थापा सामाजिक अभियन्ता

जाडो मौसम सुरु भएसँगै न्यानोका लागि खुला आगोको प्रयोग र सुक्खापनका कारण जलनका घटना बढेका छन् । सुष्मा कोइराला मेमोरियल अस्पतालमा मात्रै पछिल्लो दुई महिनामा ३० वटा गम्भीर जलनका बिरामी अस्पताल पुगेका छन् । अघिल्लो वर्ष दुई सय पाँच र २०२० मा दुई सय ४६ गम्भीर जलनका बिरामी अस्पताल पुगेकोमा यो वर्ष पनि जाडोको सुरुवातसँगै संख्या बढ्न थालेको चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार एउटै बिरामी ६ देखि सात महिनासम्म अस्पतालमा बस्नुपर्ने, दर्जनौँ शल्यक्रिया गर्नुपर्ने र नियमित फ्लोअपमा बस्नुपर्ने भएकाले आर्थिक भारसँगै मानसिक रोगको समेत सिकार हुने गरेका छन् ।

जलनबारे प्राथमिक उपचारको समेत जनचेतना नहुँदा प्रभावितहरू अपांगता हुने जोखिम बढी देखिने गरेको चिकित्सकहरू बताउँछन् । आगो वा एसिडले पोलेको घाउलाई बाहिरी तापक्रमअनुसारको बग्ने पानीको धारामा केही समय राख्दा घाउको असर कम हुँदै जाने प्लास्टिक सर्जन डा. सन्तोषविक्रम भण्डारीले बताए । ‘जलनका अधिकांश बिरामी डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमीका कारणले मर्ने गर्छन् । जलनको पीडाभन्दा पानीको कमी भएर अन्य अंगले काम गर्न छोड्दा बिरामीको मृत्यु हुन्छ । घाउलाई पानीले पखाल्नुका साथै बिरामीलाई पानी खुवाउनुपर्छ । प्राथमिक उपचारको समेत ज्ञान नहुँदा अस्पतालसम्म पुगेका बिरामीलाई अन्य उपचार गर्नुपर्ने भार थपिन्छ,’ उनले भने । जलनको प्राथमिक उपचारको आममानिसलाई मात्रै नभई स्वास्थ्यकर्मीलाई समेत ज्ञान नहुँदा मृत्यु बढी हुने गरेको डा. भण्डारी बताउँछन् । यसबाहेक जाडो छल्न आगोलाई खुला छाड्ने, जाडोमा ढाड सेकाउने, खाटमुनि आगो राखेर सुत्नेजस्ता क्रियाकलापले जलनका घटना उल्लेख्य हुने गरेको चिकित्सकहरू बताउँछन् । यसबाहेक घरेलु हिंसामा विशेष गरी महिलामाथि आगो र एसिडको प्रयोग हुने, डढेलोमा परेर घाइते हुनेजस्ता घटनाले समेत जलनका घटना हुने गरेका छन् । सरकारले एसिड प्रभावितका उपचारका लागि काठमाडौंका चारवटा अस्पतालमा निःशुल्क उपचार दिए पनि आगो र मट्टीतेल प्रयोग गरेर गराइएका घटनामा पीडितहरू उपचारबाट समेत वञ्चित हुने गरेका छन् ।  

दुई महिनामा आठ शल्यक्रिया

शंखरापुरस्थित सुष्मा मेमोरियल अस्पतालमा दुई महिनादेखि छोरीको उपचार गराउँदै कालिकोटकी दर्पना बुढा

गत सोमबार सुष्मा मेमोरियल अस्पतालको पेडियाट्रिक वार्डको बेड नम्बर ४५ मा दर्पना बुढा काखमा रोइरहेको बच्चासँगै आफू पनि रुँदै थिइन् । खुट्टामा आगोले पोलेर आठौँपटक शल्यक्रिया गरेको घाउको पीडा सहन नसकेर रोइरहेको बच्चालाई फकाउन आमालाई धौधौ परिरहेको थियो । असोजदेखि बच्चाको उपचारका लागि एक्लै अस्पतालमा कुरिरहेकी उनलाई बारम्बार शल्यक्रियाले दिने पीडासँगै औषधि उपचारको खर्च, खान–बस्न लाग्ने खर्चले ज्यादा पिरोलेको छ । 

बेमौसमी वर्षाका कारण गत १५ असोजमा कालिकोटको पाचाँलझर्नामा पहिरोले घर पुरिँदा आगोले पोलेर घाइते भएकी दुई वर्षीया निक्की बोहराको ६० दिनदेखि उपचार भइरहेको छ । काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको उनको हालसम्म आठवटा शल्यक्रिया भइसकेका छन् । आगोले पोलेर हड्डीमा समेत समस्या देखिएकाले चिकित्सकले अझै बारम्बार शल्यक्रिया गर्नुपर्ने र कम्तीमा दुईदेखि तीन महिना अस्पताल बस्नुपर्ने बताएका छन् । 

पहिरोमा पुरिँदा चुलोमा बालेको आगोले पोलेर दुवै खुट्टामा गहिरो चोट लागेको उनलाई घटना भएको तीन दिनपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उपचारका लागि कोहलपुर हुँदै काठमाडौं पुर्‍याइएको उनको उपचारमा ढिलाइ हुँदा घाउमा झन् समस्या देखियो । आमा दर्पना बुढाका अनुसार निक्कीको उपचारका लागि हालसम्म तीन लाखभन्दा बढी खर्च भइसकेको छ । घाउको पीडा सहन नसकेर छटपटिइरहेकी छोरीसँगै रुँदै उनले सुनाइन्, ‘भएभरको सम्पत्ति, अन्नपात, जमिन सबै पहिरोले लग्यो । श्रीमान् गाउँलेको सहारामा पहिरोमा पुरिएर थलिएकी आमाको स्याहारमा छन् । म छोरीसँग अस्पतालमा । अस्पतालले खर्च बढाउँदै लगेको छ, आफन्तले ऋण दिन छाडिसके । अब छोरीलाई खाना खुवाउने खर्च पनि छैन, औषधि खर्चको त हिसाबै छैन ।’

तीन महिनामै सकियो १२ लाख
सुष्मा मेमोरियल अस्पतालमै तीन महिनाभन्दा बढी समयदेखि उपचार गराउँदै बुटवलकी स्नेहा थारू

घरनजिकै रहेको विद्युतीय लाइन सर्ट हुँदा टाउकोदेखि कम्मरमुनिसम्म पोलेर घाइते भएकी बुटवलकी १६ वर्षीया स्नेहा थारू तीन महिनाभन्दा बढी समयदेखि उपचार गराइरहेकी छिन् । सुष्मा कोइराला मेमोरियल अस्पतालमै उपचार गराइरहेकी उनको हालसम्म ११ पटक शल्यक्रिया भइसकेको छ । छातीको पूरै भाग, हात, पेट, कम्मरसम्म गम्भीर घाउ भएकाले निको हुन अझै दुईदेखि तीनवटासम्म शल्यक्रिया र कम्तीमा ६ वर्षसम्म नियमित फ्लोअपमा बस्नुपर्ने चिकित्सकले बताएका छन् । 

तर, छोरीको उपचारका लागि जग्गा बेचेर अस्पतालमा बसिरहेकी आमा पार्वती थारूसँग थप उपचारका लागि पैसाको अभाव देखिएको छ । अस्पतालको खर्च र खान–बस्नमै १२ लाख रुपैयाँ सकिएको उल्लेख गर्दै पार्वतीले विद्युत् प्राधिकरणले उपचार खर्च व्यहोर्न आनाकानी गरिरहेकाले समस्या भइरहेको बताइन् । ‘विद्युत् प्राधिकरणको लापरबाहीले छोरीको झन्डै ज्यान गएन । अहिले उपचारका लागि खर्च व्यहोर्न पनि मान्दैन । अस्पतालमा अझै चार लाख ४२ हजारभन्दा बढी बिल पुगेको छ, क्यान्टिनमा ७० हजार र बाहिरको मेडिकलमा ३६ हजार तिर्नु छ । डाक्टरले डिस्चार्ज गरे पनि बिल तिर्ने पैसा छैन । प्राधिकरणलाई पटक–पटक आग्रह गरिसक्यौँ, कर्मचारीले उल्टै घुस माग्छन्,’ उनले भनिन् । स्नेहा घरको छतमा बसिरहेको समयमा घरनजिकै रहेको विद्युत्को हाइटेन्सन लाइनबाट आएको आगोले पोलेर घाइते भएकी थिइन् । लामो उपचारपछि उनको स्वास्थ्यमा सुधार आइरहेको छ । 
 

ad
ad