Skip This
पार्टी फुट्दा एमालेलाई २८ सिटको क्षति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
शुरोजंग पाण्डे काठमाडाैं
प्रेम गौतम काठमाडाैं
Invalid date format o६:२८:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पार्टी फुट्दा एमालेलाई २८ सिटको क्षति

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२८:oo

हार व्यहोरेका १७ र एकीकृत समाजवादीले जितेका १० मध्ये सात क्षेत्र पनि एमालेले जित्थ्यो, ओली–माधव नफुटेका भए समानुपातिकतर्फ पनि चार सिट थपिन्थे

मतपरिणाम भन्छ– सग्लो एमाले चुनावमा गएको भए पराजय भोगेका यी क्षेत्र पनि जित्थ्यो

पार्टी विभाजन भएर बनेको एकीकृत समाजवादीका कारण प्रतिनिधिसभामा मात्रै एमालेलाई कम्तीमा २८ सिटको क्षति भएको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा सग्लो पार्टी चुनावमा गएको भए प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित थियो ।

दुवै दल र उम्मेदवारले पाएको मत केलाउँदा पार्टी विभाजन नभएको अवस्थामा एमालेले प्रत्यक्षतर्फ थप १७ सिट जित्ने तथा समानुपातिकतर्फ चार सिट बढाउँथ्यो । त्यस्तै, पाँचदलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले जितेका दशमध्ये सात क्षेत्रमा पनि एमालेका उम्मेदवार विजयी हुन्थे ।

प्रत्यक्षतर्फका एक सय ६५ मध्ये एक सय ६२ क्षेत्रको नतिजा आउँदा एमाले ४४ सिटसहित दोस्रो स्थानमा छ । बाजुरा, स्याङ्जा र दोलखामा मतगणना जारी छ । त्यस्तै, बिहीबार रातिसम्मको मतपरिणामअनुसार एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने देखिन्छ । दुवैतर्फ गरी एमालेले ७८ सिट जित्ने आकलन छ । 

प्रत्यक्षतर्फ कांग्रेसले ५५ सिट जितिसकेको छ भने बाजुरा र स्याङ्जामा अग्रता लिइरहेको छ । समानुपातिकतर्फ एमालेको भन्दा करिब एक लाख ३० हजार मत कम रहेको कांग्रेसले ३२ सिट पाउने आकलन छ । दुवैतर्फ गरेर कांग्रेस पहिलो दल बन्ने निश्चितजस्तै छ । 

पार्टी विभाजन भएर माधव नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादीले मत काट्दा एमालेले सयदेखि तीन हजारसम्मको मतान्तरमा ती सिट गुमाएको हो । समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ । मतगणना अन्तिमतर्फ पुग्दा समानुपातिकमा भने थ्रेसहोल्ड कटाउन संघर्षरत छ । 

यसरी बन्थ्यो एमाले पहिलो दल 
फुटका कारण क्षति व्यहोरेको एमालेले प्रतिद्वन्द्वी बनेर गुमाएको १७ निर्वाचन क्षेत्र, एकीकृत समाजवादीले जितेका १० मध्ये सात सिटसहित २४ सिट जित्दा सग्लो अवस्थामा ६८ सिट जित्ने मतको आँकडाले देखाउँछ । एमालेले अहिलेसम्म प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको छ । 

त्यस्तै, एकीकृत समाजवादीले समानुपातिकतर्फ पाएको करिब तीन लाख मतसमेत जोड्दा एमालेले समानुपातिकतर्फ थप चार सिट बढाउन सक्ने देखिन्छ । अहिलेसम्मको मतपरिणामअनुसार एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने अनुमान छ । यसरी प्रत्यक्ष र समानुपातिकतर्फ गरी एमाले करिब एक सय ६ सिट जितेर पहिलो दल हुने मतपरिणामबाट अनुमान गर्न सकिन्छ । त्यस्तो अवस्थामा एमालेलाई सरकार निर्माणका लागि बहुमत पुर्‍याउन ३२ सिट मात्रै अपुग हुन्थ्यो । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जितेको रौतहट १, राजेन्द्रप्रसाद पाण्डेले जितेको धादिङ १, प्रेम आलेले जित निकालेको डोटी, भानुभक्त जोशीले जितेको बझाङ, मेटमणि चौधरी विजयी भएको दाङ १, अम्बरबहादुर थापा जितेको दैलेख र शेरबहादुर कुँवर जितेको अछाम १ एमालेले विगतमा जित्दै आएका क्षेत्र हुन् । यी क्षेत्र पनि पार्टी विभाजन नभएको भए एमालेले नै जित्ने दुई पार्टीको मतको आँकडाले देखाएको छ । 

त्यस्तै, एकीकृत समाजवादी एक्लै लडेको धनुषा २ मा पनि एमालेले जित्ने देखिन्छ । यो क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका रामकृष्ण यादवले २० हजार ११२ मत पाउँदा एमालेका उमाशंकर अरगरिया १९ हजार ९५५ मत ल्याएर दोस्रो भएका थिए । यहाँ समाजवादीका उम्मेदवार रहेका रामचन्द्र झाले प्रत्यक्षतर्फ १३ हजार ६०५ मत पाएका छन् भने समानुपातिकतर्फ आठ हजार ८२ मत आएको छ । पार्टी विभाजन नभएको भए यो क्षेत्र पनि एमालेले जित्ने मतपरिणामले देखाउँछ । 

दुई दलको मत जोड्दा समाजवादीका किसान श्रेष्ठ जितेको बारा ४ मा मात्र झिनो मतले ‘सग्लो एमाले’ पछाडि पर्ने देखिन्छ । सल्यान र डोल्पामा भने धेरै मतले पछाडि देखिन्छ । 

विभाजनबाट एमालेले कुन प्रदेशमा कति सिट गुमायो ?
एमालेले पार्टी विभाजनबाट प्रदेश १ मा मोरङ १, सुनसरी ४, भोजपुर, तेह्रथुम, खोटाङ र उदयपुर २ सहित ६ सिट गुमाएको छ । त्यस्तै, मधेसमा धनुषा २ र रौतहट ४ गरी दुई सिट गुमाएको मतपरिणामले देखाएको छ । 

बागमतीमा भक्तपुर २, काठमाडौं ७ र १० गरी तीन सिट गुमाएको छ । गण्डकीमा नवलपरासी पूर्व २ मात्र गुमाएको छ । लुम्बिनीमा दाङ २, कर्णालीमा दैलेख २ र मुगु गुमाएको छ । त्यस्तै सुदूरपश्चिममा कैलाली ४ र ५ गुमाएको मतपरिणामबाट देखिन्छ । 

महासचिव पोखरेल, बस्नेत र भट्टराईलाई विभाजनले क्षति 
पार्टी विभाजनका कारण महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेत र एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक विशाल भट्टराई पराजित भएको मतपरिणामबाट देखिएको छ । अध्यक्ष केपी ओलीका मुख्य सारथि पोखरेल र विश्वासपात्र नेताहरू बस्नेत र भट्टराई एकीकृत समाजवादीले मत काटेकै कारण पराजित भएका हुन् । 

महासचिव शंकर पोखरेल दाङ २ मा गठबन्धनबाट माओवादीकी रेखा शर्मासँग एक सय ९३ मतको झिनो मतान्तरले पराजित भए । जब कि यो क्षेत्रमा शर्माले २६ हजार ८८० मत ल्याएकी थिइन् भने पोखरेल २६ हजार ६८७ मत प्राप्त गरेर पराजित भएका थिए । यो क्षेत्रमा एकीकृत समाजवादीले समानुपातिकतर्फ ७८२ मत पाएको छ । शर्माको मतमा एकीकृत समाजवादीको मत घटाउने हो भने २६ हजार ९८ हुन्छ । पोखरेलले प्राप्त गरेको मतमा समाजवादीले पाएको सात सय ८२ मत जोड्दा २७ हजार ४६९ मत पुग्छ । त्यस्तो अवस्थामा शर्मा एक हजार ३७१ मतले पराजित हुने मतपरिणामले देखाउँछ । 

त्यस्तै, भक्तपुर २ बाट बस्नेत एक हजार ६७९ मतान्तरमा विजयी बन्थे । उता, एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले खोटाङबाट चार हजार ५७ मतान्तरले जित हासिल गर्थे । जब कि भट्टराई अहिले दुई हजार ६६९ मतान्तरमा पराजित भएका छन् ।

एमाले सग्लो भएको भए समाजवादीले जितेका यी सात क्षेत्र पनि जित्थ्यो
पार्टी सग्लो हुँदा अहिले एकीकृत समाजवादीले जितेका १० मध्ये सात क्षेत्र पनि एमालेले जित्थ्यो । एमालेका उम्मेदवारले पाएको मत र एकीकृत समाजवादीले समानुपातिकतर्फ पाएको मत केलाउँदा माधव नेपालले जितेको रौतहट १, राजेन्द्र पाण्डेले जितेको धादिङ १, मेटमणि चौधरीले जितेको दाङ १, प्रेम आलेले जितेको डोटी, भानुभक्त जोशीले जितेको बझाङ, शेरबहादुर कुँवरले जितेको अछाम २, अम्मरबहादुर थापाले जितेको दैलेख १ मा पनि एमालेले जित्न सक्थ्यो । 

कमजोरी महसुस गर्दै एकाकार भएर अगाडि बढ्नुको विकल्प छैन : केशव बडाल, नेता, एमाले

टुक्रिने, फुट्ने, भाँचिने कुराले क्षति हुँदैन, भएको छैन भन्ने त प्रश्नै रहेन । पार्टी नफुटेको भए राम्रो हुन्थ्यो भन्नेमा विवादै छैन । तर, पाँचदलीय सत्तागठबन्धनको घेराबन्दी तोडेर समानुपातिकतर्फ पहिलो लोकप्रिय मत एमालेले पाउने कुरा पनि धेरै राम्रो उपलब्धि हो ।

उहाँहरू (माधव नेपाल–झलनाथ खनाल) अध्यक्ष र प्रधानमन्त्रीबाट आजै हटिहाल्नुपर्छ, सबै हातहाती गर्नुपर्छ भनेर विभाजनतिर लाग्नुभो । खासगरी जम्माजम्मी एक कार्यकाल केपी ओली कमरेडलाई नेतृत्व दिने कुरामा उहाँहरूले धैर्यता मात्रै गरेको भए अरू सबै गए पनि, अर्कातिर मिले पनि कसैको केही लाग्दैनथ्यो ।

एमालेले विभाजनबाट जानुभएका सबै साथीहरूलाई मूल घर फर्किन आह्वान गर्दै आएको छ । उहाँहरू सबै आह्वान स्वीकार गरेर आउनुपर्छ, एमालेले ढोका बन्द गरेको छैन । एमाले निर्माणको योगदान गर्ने कुरामा सबैको भूमिका छ । त्यो योगदान सम्झिएर पार्टीमा समाहित हुने, सबैले कमजोरी महसुस गर्दै एकाकार भएर अगाडि बढ्नुको विकल्प छैन । 

दुवै पार्टी र कम्युनिस्ट आन्दोलनलाई क्षति भयो, आत्मसमीक्षा गर्नुपर्छ : मुकुन्द न्यौपाने, नेता, ए. समाजवादी 

अहिले एमाले र एकीकृत समाजवादीको मत हेर्दा प्रत्यक्ष र समानुपातिक दुवैतिरको सिटमा क्षति पुग्यो । एमालेले जित्ने सिट घटेकै छ । पार्टी सग्लो हुन्थ्यो भने धेरै सिट जितका लागि प्रभावित पार्ने सामर्थ्य राख्थ्यो ।

सम्भवतः एमालेको बहुमत नै आउँथ्यो भन्ने मलाई लागिरहेको छ । त्यसैले एमालेलाई कति, एकीकृत समाजवादीलाई कति क्षति पुग्यो भन्ने हिसाबले मैले मूल्यांकन गरेको छैन । समग्रमा दुवै पार्टीलाई, नेपालको कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको छ । धेरै ठूलो धक्का लागिसक्यो, योभन्दा बढी कति धक्का खाने ? त्यसैले शीर्ष नेताहरूले गम्भीर आत्मसमीक्षा गर्न अब ढिलाइ गर्नुहुँदैन ।

तुरुन्त पार्टी एकताको पहल गर्नुपर्छ । एमाले र एकीकृत समाजवादीले एकता गरेर माओवादीलाई पनि एकतामा ल्याउनुपर्छ र एमालेले कम्युनिस्ट आन्दोलनलाई एकीकृत ढंगले अगाडि बढाउने अभियान सुरु गर्नुपर्छ ।